बुटवलमा बनिरहेका पूर्वाधारहरुको संरक्षणका लागि पनि हामीले जित्नैपर्छ: भट्टराई

मेचीकाली संवाददाता

२३ बैशाख २०७९, शुक्रबार
410 shares

विरोधीहरुले विकासका मुद्धामा पनि राजनीति गरेको देखेर मलाई दया लाग्छ । तिलोत्तमामा बनेको प्रशासनिक भवन पनि अस्पताल बनाउने भनेछन् । ‘हलो काटी मुङ्ग्रो’ भन्ने उखान छ नि । बनाउनेलाई पो त्यसको महत्व थाहा हुन्छ । नबनाउनेहरुलाई त्यसको महत्व के थाहा ?

‘हामी कर्ममा विश्वास गर्छौं । चर्को भाषण मात्र गरेर देश विकास हुंदैन भन्ने मलाई राम्रो संग थाहा छ । भाषण पनि गर्नुपर्छ तर आवश्यकता हेरेर । म स्वास्थ्य क्षेत्रमा काम गरेको मान्छे । धेरै कुरा सुन्ने र थोरै बोल्ने बानि छ । लुम्बिनी अञ्चल अस्पतालको अध्यक्ष छंदा मैले धेरैका कुरा सुनें । बुटवलका सवै प्रतिष्ठित उद्योगी, ब्यापारी, ब्यवसायी, शैक्षिक, राजनैतिक ब्यक्तित्व मात्र होइन, स्वास्थ्य सेवा लिन आएका आम नागरिकका कुरा पनि सुनें । त्यो जमाना अनुसार अस्पतालको विकासका लागि मैंले केही गरें भन्ने लाग्छ । सांच्चै भन्नुहुन्छ भने मलाई त धेरै गरेंजस्तो लागे होइन तर बुटवलबासीले धेरै राम्रो गरिस् भन्छन् । त्यत्ति गर्दा पनि राम्रो गरेको मानिदो रहेछ ।

सिंगो बुटवलका लागि त मैले धेरै गर्नुपर्नेछ । अघिल्लो पटकको निर्वाचनका लागि पनि म आकांक्षि थिए । त्यतिवेला देखि नै मैले यहां के गर्न सकिन्छ त भनेर धेरै छलफल चलाएको छु । खासगरी विदेशमा बस्ने विज्ञहरुसंग थुप्रै पटक छलफल गरेको छु । युरोप तिर घुम्दा हाम्रो नगरलाई पनि यस्तो कसरी बनाउन सकिएका भनेर घोत्लिएको छु । म अहिले एकाएक उम्मेदवार भएर आएको होइन । यो नगरको विकासका लागि बषौंअघिदेखि सोंच्दै आएको छु ।

खासगरी पूर्वाधारको विकासमा हाम्रो नगरले एउटा फड्को मारिसकेको छ । पूर्व अर्थमन्त्री तथा हाम्रा सांसद विष्णु पौडेलले यहांका लागि आवश्यक पूर्वाधारहरुको विकास गरिसक्नु भएको छ । केही पुरा गर्नुपर्नेछ केहीको फिनिसिङ् मात्र गर्न बांकी छ । अहिले चलिरहेका पूर्वाधारहरु सम्पन्न मात्र हुंदा पनि बुटवलमा थामि नसक्नु पर्यटक ओइरिनेछन् । कल्पना गर्नुस् संघीय सरकार र प्रदेश सरकारहरुले सञ्चालन गरिरहेका अन्तरराष्ट्रिय सभा गृह, प्रदर्शनी केन्द्र, सिद्धवावा सुरुङ् मार्ग, तिनाउमा सिग्नेचर व्रिज, बसन्तपुर नुवाकोट केवल कार, बुटवल भैरहवा ६ लेन सडक, बुटवल नारायणगढ ६ लेन सडक यि सवै पूर्वाधार सम्पन्न हुंदा बुटवल कस्तो बन्ला ?

हामीले त ति आयोजनालाई ब्यवस्थित ढंगले चलाउन सक्दा पनि हामीलाई पुग्ने अवस्था छ । त्यसवाहेक मैले बुटवलको तापक्रम समेतलाई घटाउने गरी तिनाउ नदीमा सुरक्षित ड्याम बनाउने,बजार क्षेत्रको सुन्दरीकरणमा विशेष ध्यान दिने,रात्रिकालिन बजार गुल्जार गर्ने,सेवा क्षेत्रलाई गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गर्ने कुरामा विशेष ध्यान पुर्याउनुछ । त्यसवाहेक प्रशासनिक सुधार गरेर सुशासनको अनुभूति दिनुपर्नेछ । मानिसको आधारतभूत आवश्यकता मूल विषय हो । गास,बास र कपासलाई विशेष महत्व दिने र अबका हरेक कार्यक्रमहरु उत्पादनसंग जोड्ने कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।

विरोधीहरुले विकासका मुद्धामा पनि राजनीति गरेको देखेर मलाई दया लाग्छ । तिलोत्तमामा बनेको प्रशासनिक भवन पनि अस्पताल बनाउने भनेछन् । ‘हलो काटी मुङ्ग्रो’ भन्ने उखान छ नि । बनाउनेलाई पो त्यसको महत्व थाहा हुन्छ । नबनाउनेहरुलाई त्यसको महत्व के थाहा ?
यो नेकपा एमालेका कार्यकर्ताहरुले योगदान गरेको र उनीहरुले बनाएको क्षेत्र हो । नेता विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । एमालेकै नेतृत्वमा आज यहांको विकासले कायापलट ल्याएको छ । यस्तो ठाउंमा एमालेले निर्वाचन नजित्ने भन्ने त कुरै आउंदैन । कति मतान्तरले जित्ने भन्ने कुरा मात्रै हो । हामीले निर्वाचन जितेनौं भने त यहांको विकास नै रोकिएला ! भोलि तिलोत्तमामा जस्तै बुटवलको प्रशासनिक भवन अस्पताल बनाउनु पर्छ भन्लान् । अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नेपाली कांग्रेसको कार्यालय बन्ला । प्रदर्शनी केन्द्रलाई हाटबजार बनाइदेलान् । देविनगरमा बन्न लागेको खुला मञ्चमा बस्ती बसाल्देलान् । बुटवलको ६ लेन सडक बन्न नदिन फेरि डोजर मुनि सुत्छु भन्लान् ।

वास्तवमा बुटवलमा शुरु भएका विकासे आयोजनाहरु सम्पन्न गरेर तिनको सुन्दरीकरण गर्न र संरक्षण गर्न पनि हामीले जित्नै पर्छ । नत्र विकासमा राजनीति देख्नेहरुले भोलि बनिसकेका हाम्रा पूर्वाधारहरुलाई पनि एमाले देख्लान् र नभत्काउलान् भन्न सकिन्न ।’ (नेकपा एमालेका तर्फबाट बुटवल उपमहानगरपालिकाका उम्मेदवार बावुराम भट्टराईसँग गरिएको कुराकानीमा आधारित)