रेसुङ्गाका कर्मठ उम्मेदवार राजेन्द्र पाण्डे

मेचीकाली संवाददाता

२४ बैशाख २०७९, शनिबार
441 shares

केआर दाहाल
देशकै मुहार फेर्न नेतृत्वको पनि मुहार फेरिनु पर्छ । कपडा पनि सधैं एउटै क्वालीटीको लगाउँदा व्यक्तिको शरीर भद्धा लाग्छ र सोभायमान हुन सक्दैन । त्यसैले नै हो निकट भविष्यमा हुन लागेको स्थानीय निर्वाचनमा पनि नेतृत्व तहमा उम्मेदवारी दिएका मेयर, उपमेयर, गाउपालिकाका अध्यक्ष, उपाध्यक्षलगायतका अनुहारहरु फरक देख्न पाइएको छ । देशभरमा स्थानीय तहमा नेतृत्व गर्नका लागि तयार भएका यस्ता धेरै फरक अनुहारहरु यतिखेर सक्रिय भएका छन् ।

तीनै नयाँ अनुहारहरुमध्येको एउटा नयाँ अनुहार हो ई.राजेन्द्रप्रसाद पाण्डेय । राजेन्द्र पाण्डेय यतिखेर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाबाट मेयरको लागि चुनाव लड्दै गरेका कर्मठ उम्मेदवारको नाम हो । वि.स. २०२२ साल फागुन २ गते गुल्मीमा जन्मिएका राजेन्द्रप्रसाद पाण्डेले सिभिल इन्जिनियरिङ्गको कन्सट्रक्सन म्यानेजमेन्ट तथा अर्वन प्लानिङमा एमएस्सी. गरेका छन् । वि.सं. २०४४ सालमा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा पास गर्ने बित्तिकै उनले नेपालका विभिन्न जिल्लामा ओभरसियरबाट आफ्नो सेवा सुरुगरी नेपाल सरकारको उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) भएर काम गरी सकेका छन् ।

यतिखेर उनि आफ्नै गृह नगरपालिका रेसुङ्गाको मेयरका लागि उम्मेदवार बनेका छन् । हुन त उनको प्रतिस्पर्धामा आउने अरु पनि उम्मेदवारहरुले आफूलार्ई कर्मठ नै ठान्दा हुन् तर राजेन्दको उम्मेदवारीले भने साच्चै विकासवादी सोचलाई अघि सारेको देखिन्छ ।
मेयरका लागि उमेदवार बनेका राजेन्द्र पाण्डेय भन्छन्,‘मैले देशको मेची–महाकाली मात्र हैन हिमाल पहाडको यात्रा गरी सकेँ । सरकारको विभिन्न ओहदामा रहेर विकास निर्माणका कामहरुमा सरिक भएँ ।

ओंठमा जुँगाको रेखी बस्न सुरु भएदेखि विकास निर्माणको काममा खटिएको मेरो ज्यानमा अझै शक्ति छ र ममा काम गर्ने नयाँ सोच रहेको छ ।’ हो पक्कै पनि एउटा अनुभवि र दक्ष इन्जिनियरले नगरपालिकाको नेतृत्व तहमा रहेर काम गर्न पाएको खण्डमा पक्कै पनि नगरपालिकाको मुहार फेरीने कुरामा सहमत हुन सकिन्छ । उनी अगाडि भन्छन्,‘पहिले पहिलेका चुनावहरु अधिकारका लागि भए । तर अहिलेको चूनाव भने विकास निर्माणको लागि हो ।म आफ्नो गृह नगर रेसुङ्गालाई स्वर्ग बनाउने कल्पना व्यवहारमा उतार्न चाहान्छु । विकास निर्माणका काम गर्दा अहिले ख्याल गर्नुपर्ने विषय पर्यावरण पनि हो । दिगो विकास गर्नका लागि पर्यावरणको संरक्षण जरुरी छ । म नगरपालिकामा विजयी भएँ भने रेसुङ्गालाई देशकै नमूना नगरपालिकामा बदल्ने छु र त्यतिखेर साच्चै नै यहाँका बासीन्दाले मलाई चिन्ने मौका पाउने छन् ।’

राजेन्द्र प्रसाद पाण्डेय साच्चै नै एउटा होनाहार दक्ष प्राविधिक तथा अनुभवी इन्जिनियरको नाम हो । रेसुङ्गा नगरपालिकामा मात्र होइन, देशका धेरै नगरपालिकामा यस्त्तै इन्जिनियरहरुले नेतृत्व गर्ने मौका पाए भने पक्कै पनि त्यस ठाउँको मुहार बदलिने छ । विद्वान् मित्र राजेन्द्रप्रसाद पाण्डेयको आफ्नो गृहनगरीमा सेवा गर्ने उत्कट इच्छालाई रुरुक्षेत्रका देवी देवताले आशिर्वाद प्रदान गरुन् । जनताहरु पार्टी पोलिटिक्सबाट वाक्क भए पनि विद्वान् दक्ष तथा अनुभवी व्यक्तित्ववाट भने कहिल्यै अघाएका छैनन् ।

सायद त्यस्ता व्यक्तिहरुले स्थानीय तहमा नेतृत्वनै गर्न पाएका छैनन् । ‘म विज्ञ हँु । म नयाँ भिजन दिन सक्छु ।’ भन्ने सोचका साथ स्थानीय तहमा उम्मेदवारी परेको उदाहरण कमै पाइन्छ । यही कममध्येका उदारणीय व्यक्तित्वको नाम हो राजेन्द्रप्रसाद पाण्डेय । त्यसैले प्रस्तुत पंक्तिकार उनको विजयको लागि अग्रिम शुभकामना दिन चाहन्छ । अस्तु ।