एमालेसँग प्रतिस्पर्धा गर्ने सामथ्र्य कुनै पार्टीको छैनः उपाध्यक्ष पौडेल

मेचीकाली संवाददाता

२४ बैशाख २०७९, शनिबार
288 shares

बुटवल, बैशाख २४ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको बताएका छन् । ‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बाँकी हो’, उनले भने । ‘अब औसतढंगले चुनाव जित्ने होइन, अत्यधिक र ऐतिहासिक रुपमा विरासतलाई नयां ढंगले पुष्टि गर्ने गरी चुनाव जित्नु पर्छ’ उनले भने । बुटवलमा शनिवार भएको गठबन्धनको सभालाइ इङगीत गर्दै उनले एजेन्डा बिनाको सभाको कुनै अर्थ नरहेको बताए ।

प्ुरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको बताए । राष्ट्रिय योजनाका काम सम्पन्न हुंदा बुटवल एक नमुना शहर बन्ने पौडेलले दाबी गरे । एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउदै पौडेलले नत्र विरोधीहरुले विकासे आयोजनामा पनि राजनीति गरेर अबरुद्ध गर्न सक्ने आशंका गरे ।

नेकपा एमाले बुद्धिजीवी तथा पेशागत निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको बृहत बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले अहिले सम्मको अनुमानमा प्रदेशका धेरै पालिकामा एमालेको जित निश्चित भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले बालेका थिए ।

बुटवलका बुद्धिजिवीहरुले एमालेलाई मत दिने
बुटवलका बुद्धिजीविहरुले यहाँको विकास र सम्मृद्धिका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मत दिने प्रतिबद्धता जनाएका छन् । बुटवलमा सञ्चालित राष्ट्रिय र अन्तरराष्ट्रिय महत्वका पूर्वाधारहरु एमालेकै नेतृत्वमा अघि बढिरहेकाले ती आयोजनाहरु सम्पन्न गर्नका लागि पनि उपमहानगरपालिकामा एमालेकै नेतृत्व जरुरी रहेको उनीहरुको निश्कर्ष छ ।

शनिवार बुटवलमा आयोजित बृहत बुद्धिजिवी भेलाले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, अन्तरराष्ट्रिय प्रदर्शनी स्थल, खुला मञ्च,सिद्धबाबा सुरुङ्ग मार्ग, सिग्नेचर ब्रिज, बुटवल—भैरहवा— लुम्विनी ६ लेन सडक,बुटवल—नारायगढ तथा बुटवल—चन्द्रौटा ६ लेन सडक लगायतका ठूला पूर्वाधार निर्माणले बुटवललाई विकास र सम्मृद्धिको नमुना शहरको रुपमा स्थापित गरिरहेको निश्कर्ष निकालेको हो ।

बुद्धिजिवी आरसी आचार्यले विगत १० वर्ष यता बुटवल र आसपासमा भइरहेका पूर्वाधार निर्माणले यसलाई मुलुककै नमुना शहरको रुपमा विकास गरिरहेको प्रतिक्रिया दिए । नेकपा एमालेकै नेतृत्वमा बुटवलको विकास भइरहको कुरामा कुनै दुइमत नरहेकाले अहिले एमालेको विकल्प खोज्न नहुने निष्कर्ष रहेको बताए ।

बरिष्ठ बुद्धिजिवी तेजप्रसाद कंडेलले नेकपा एमालेले निर्माण गरेका गौरवका संचरनालाई अरु पार्टीहरुले अस्पताल वा अन्य संरचनामा परिणत गर्ने घोषणा गरेर आम नागरिकलाई चिन्तित तुल्याएकाले निर्माण सम्पन्न भएका र निर्माणाधिने संरचनाहरुको सही सदुपयोगका लागि बुटवलमा एमालेको विकल्प खोज्न नहुने बताए ।

कार्यक्रममा बोल्दै बुद्धिजिवी बसन्तराज खनालले बुटवलको शिक्षा र स्वास्थ्यको विकासका लागि नेकपा एमालेको योगदानलाई बुद्धिजिवीहरुले विर्सिन नहुने धारणा राखे । भेलामा बुटवल क्षेत्रमा कार्यरत एक हजार भन्दा बढी बुद्धिजिवीहरु सहभागी थिए ।