गठबन्धन सरकारलाई एमालेले उखेलेर फाल्छ : अध्यक्ष ओली

मेचीकाली संवाददाता

२५ बैशाख २०७९, आईतवार
541 shares

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेले दिग्विजय हासिल गर्ने बताएका छन् । उनले अहिलेको अलच्छिनी परमादेशी सरकारलाई वैशाख ३० गते एमालेले उखेलेर फाल्ने बताए ।

‘म देशका विभिन्न ठाउँका सभामा पुगेँ, जनतालाई गठबन्धनको कुनै मतलब छैन,’ बुटवलको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘चिन्ता नगरी सूर्य चिह्नमा मतदान गरी एमालेलाई विजयी गराउन जनता आतुर छन् ।’ उनले स्थानीय तहबाटै विजयी यात्रा सुरु गर्ने बताए ।
‘अहिले हामीले जितेनौँ भने प्रादेशिक र संघीय सरकारले पठाउने योजना पर्दैनन्, स्थानीयबाटै विजय यात्रा सुरु गर्नुपर्छ । अब कुनै अलमल पर्नुपर्दैन,’ उनले भने, ‘पाँच होइन, १० दलीय गठबन्धन छ भन्ने जनताले मतलब नै राखेको छैन ।’

अहिले पञ्चमुखी गठबन्धन जस्तो एमाले नभएको उनको भनाइ छ । उनले विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्न आग्रह गरेका छन् । ‘अहिलेको गठबन्धनले नेपाली जनतालाई झुक्याउन सक्दैन, १ शेर एकातिर १० वटा स्याल एकातिर हो एमाले । जस्तोसुकै गठबन्धनका लागि एमाले एक्लै काफी छ, यो जनताको पार्टी हो जनताले जिताउने हो कुनै गठबन्धनले होइन’, बुटवलमा आयोजित चुनावी सभामा ओलीले भने । जनताको काम गरेर मन जितेको एमालेलाई पदका लागि गरिएको गठबन्धनले केही क्षति नपु¥याउने ओलीको भनाइ थियो

नेता ओलीले निर्वाचन स्वतन्त्र र धाँधलीरहित बनाउन सबै चनाखो हुनुपर्ने भन्दै कसैले गृहमन्त्रीको जिल्ला हो भनेर धाक नलाउन चेतावनी दिए । ‘सबै राष्ट्रसेवकले यसमा ध्यान दिनुपर्नेछ यो जिल्ला गृहमन्त्रीको मात्रै होइन तपाईं सबैको हो’, उनले भने । अध्यक्ष ओलीले नेकपा एमालेले लिएको नीति, विकास र राष्ट्रिय एकताको नेतृत्व नै आफूहरूको जित्ने आधार भएको जिकिर गरे ।
‘देउवा आफैंले प्रधानमन्त्री हुन मन थिएन भनेर धेरै ठाउँमा भन्नुभएकै छ, मन नभई अदालत किन जानुभयो ? उहाँहरुको सत्ता स्वार्थ, नातागोता सेटिङ पहिलो हो तर एमालेलाई जनताको समृद्धि पहिलो हो’, ओलीले भने ।

ओलीले थपे, ‘चितवनको भरतपुरमा भोट माग्न गएका एक नेताले जनतालाई तर्साएछन्, जनता तर्साउने बानी अझै गएको रैनछ, मेरो छोरी नजिताए देश बिग्रने, छोरी जिताए २० वर्ष गठबन्धन टिकाउने घोषणा गरेछन्, गठबन्धन त्यो समयसम्म गए देशको अवस्था के होला ? हामीलाई देशको चिन्ता छ । नेपाली जनताले अब त्यो धम्की मान्नेवाला छैनन् ।’ जनतालाई खुलेआम धम्काउँदा निर्वाचन आयोग मुकदर्शक बनेको उनको टिप्पणी छ । ओलीले प्रश्न गरे, ‘गठबन्धनलाई जनताले चिन्दैनन्, त्यो लोभीपापीको बन्धन जहाँ गए जान्छ ? तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्नुछ, एमालेलाई पूर्ण बहुमत दिलाउनुस् । आयोगले अरुको झण्डा बोक्न पाइँदैन भनेको छ देउवा, आरजू, प्रचण्ड, माधव नेपालले कसको झण्डा बोकेका छन् ? कहिले आउने हो यसको जवाफ ?’

वृद्धवृद्धा, अपाङ्ग, अशक्तलाई भत्ता दिने, हुलाकी बाटो बनाउने, राजमार्ग विस्तार गर्ने, मदन भण्डारी राजमार्ग बनाउने, विमानस्थाल विस्तार गर्न एमाले चाहिने रहेछ भन्ने सबैलाई महसुस भएको ओलीको भनाइ थियो । उनले सुकुम्बासीको दीर्घकालीन समाधानका लागि विशेष योजना बनाएको बताए । ‘यति लामो समय सरकारमा बसेको कांग्रेसले उदाहरण दिएर भन्नसक्ने कुनै काम गरेको छैन । ४२ वटा उद्योग बेचेर खायो बनाउने त कुरै छैन । हामीले सुकुम्बासीलाई पूर्जा दिन तयार हुँदा जबर्जस्ती हटाइयो, गरिब र सुकुम्बासीको पार्टी होइन भनेर उनीहरु आफैंले भनेका छन्’, ओलीले भने । ‘हाम्रो विकासको अभियानबाट छटपटाएर सरकार ढाल्ने खेलो सुरू भएको, एमाले सरकारबाट बाहिर आएपछि अर्थव्यवस्था कस्तो भयो भन्ने प्रष्ट भएको छ, अब एमालेको विजयमात्र होइन दिगविजय हुनुपर्दछ, अहिलेबाट नै हाम्रो विजययात्रा सुरु गरौं’, उनले भने । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले कांग्रेस एजेण्डा हराएको पार्टी भएको बताएका छन् ।

‘यति लामो इतिहास भएको पार्टीसँग कुनै आफ्ना एजेण्डा छैनन्, आफ्ना दीर्घकालीन योजना छैनन् अनि गठबन्धनका साथ निर्वाचन जित्ने योजना लिएर मत माग्न जान बाध्य भएको छ,’ बुटवलमा आयोजना भएको जनसभामा बोल्दै उनले भने । नेता भुसालले नेपालमा समाजवाद ल्याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक रहेको बताए ।

‘नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य छ, अहिले एमालेविरुद्ध सबै शक्तिले मुठ्ठी कसेका छन्, त्यहीकारणले पनि एमालेका आस्थावानहरू एकजुट हुनुको विकल्प छैन,’ उनले भने, ‘संविधानको रक्षाका लागि, विकासको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।’
नेता भुसालले एमालेले जित्नुको मुख्य आधार कार्यकर्ताको एकता नै रहेको बताए । ‘देशका लागि एमालेबाहेक कसले के ग¥यो कसैलाई देखाउने आधार छ रु कांग्रेसले पञ्चायत ढाल्ने काममा हामीसँग सहकार्य गर्नेबाहेक के कामको नेतृत्व गरेको छ उसले रु पञ्चायत हटाउने कालमा उहाँहरुले बाहिर नेतृत्व गर्नुभएको हो हामी भूमिगत भएकाले, त्योबाहेकको समयमा कांग्रेसले उल्लेखनीय केही गर्न सकेको छैन,’ उनले भने । एमालेले पछिल्ला दशकमा जितेका क्षेत्र र पालिकामा विकासका नमुनायोग्य काम भएकाले त्यसको प्रमाण हेर्न सोही क्षेत्रमा जानुपर्ने उनको भनाइ छ ।

यस्तै बुटवलमा नेकपा एमालेद्वारा आयोजित चुनावी सभा सकिएपछि नेताहरू सभास्थल सफा गरेका छन् । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, मेयरपदका उम्मेदवार तथा एमाले नेताहरू सफाई गरेका हुन् । पानीका बोतल, प्लाष्टिकलगायत फोहोरहरु उनीहरुले बोरामा जम्मा पारेका थिए । सभा बुटवल–११ देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा आयोजना गरिएको थियो ।

आफूले गरेको फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने बताउँदै फोहोर व्यवस्थान गरिएको नेताहरु बताए । बिहान ११ बजेदेखि सुरु हुन भए पनि एमाले अध्यक्ष ओली आउन ढिलाई हुँदा ३ बजेबाट मात्र कार्यक्रम सुरु भएको थियो ।