समृद्धिको आधार तयार पारेका छौं अब साकार पार्छौं

मेचीकाली संवाददाता

२७ बैशाख २०७९, मंगलवार
431 shares

साविकका सालझण्डी, दुधराक्ष र पर्रोहा गाविसलाई मिलाएर राज्य पुनर्संरचना आयोगले वनाएको यो नगरपालिका पवित्र वुद्धजन्म स्थल लुम्बिनीदेखि १५ किलोमिटर उत्तर मनोरम चुरे पहाडको काखमा रुपन्देही जिल्लाको उत्तर भागमा अवस्थित छ । १६२.१८ वर्ग मिटर क्षेत्रफल रहेको यस नगरपालिकाको हालको जनसंख्या ७८,६७७ रहेको छ । यस सैनामैना नगरपालिकाअन्तर्गत २०७४ सालको निर्वाचनबाट पहिलोे कार्यकालमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि प्राप्त कार्यभारलाई वहन गर्दै समग्र सैनामैना नगरको समृद्धिको आधारशिला खडा गरिएको एमालेको दाबी छ । “सैनामैना समृद्धिको आधार उद्योग, पर्यटन, र पूर्वाधार” भन्ने नारालाई साकार पार्न समृद्धिको आधार तयार पार्ने र तिनै आधारलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत तयार पारिएको एमालेको दाबी छ ।

स्वच्छ सदाचारयुक्त सुशासनको प्रत्याभूतिसहित स्वचालित कार्यप्रणालीको स्थापना र अभ्यासको माध्यमद्वारा स्थानीय तहमा प्रवाह गरिने सेवामा गुणस्तरीयता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता, जवाफदेहिता एवम् जिम्मेवार शासन प्रणालीको प्रतिवद्धतासँगै जनतामा सोको प्रत्याभूति दिन सफल भएको र अब बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार तयार पार्ने काममा केन्द्रित रहने एमालेका उम्मेदवारहरुको प्रतिबद्धता छ । पहिलो कार्यकालमा समृद्धिका आधार तयार पार्ने, समृद्ध र सुन्दर सैनामैनाको जग बसाल्ने काम भएको विवरणसहित प्रमुख कार्कीले अबको कार्यकालमा अधुरा योजना साकार पार्ने, बहुवर्षीय योजनाहरुलाई प्रभावकारी रुपमा सम्पन्न पार्ने र मुलुकको हरियाली सहरका रुपमा सैनामैनाको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तत्कालीन मेयर कार्कीको कार्यकालमा के–कति कामहरू भए ? कति वाचा पूरा भए, कति अधुरै रहे ? यही सेरोफेरोमा उहाँसंग अमृत गिरीले गरेको कुराकानीको सम्पादित अंश:

पहिलो कार्यकालमा सैनामैनाको अवस्था कस्तो थियो ?
विगतमा स्थानीय निकाय हुँदा लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्था र त्यसबाट सिर्जित समस्याहरु धेरै थिए । योबीचमा अधिकांश समस्याहरुको हामीले समाधान गरेका छौं । यद्यपी नागरिकका अपेक्षा बढ्दै जाँदा रहेछन् र ती अपेक्षा पूरा गर्न साधन स्रोत प्रयाप्त नभएकाले प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ । हामीले नगरको आन्तरिक स्रोतको खोजी गर्ने, संरक्षण गर्ने, विस्तार गर्ने र उचित रुपमा सदुपयोग गर्ने कामको सुरुआत गरेका छौं । नगरपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आउँदा नगरको आफ्नै प्रशासनिक भवन थिएन । घर भाडामा लिएर सेवा प्रवाह भइरहेको थियो, वडा कार्यालयहरुका भवन थिएनन् । अहिले नगरपालिकाको व्यवस्थित प्रमुख प्रशासनिक भवन निर्माण भएको छ । वडा कार्यालय भवन निर्माण भएका छन् र ती सबै सेवाकेन्द्रका रुपमा रहेका छन् ।

विकेन्द्रीकृत रूपमा सेवाग्राहीलाई वडास्तरबाट सेवा प्रवाह गर्नुपर्ने पनि चुनौती थियो । त्यसका बाबजुत प्रत्येक वडाबाट पारदर्शी र प्रभावकारी ढंगले सहज पहुँच हुनेगरी सेवा प्रवाहलाई पहिलो प्रथामिकता दिएर काम थाल्यौं । जनप्रतिनिधि र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता तर्जुमा गरी अधिकार प्रत्यायोजनसहित कामको बाँडफाँड गरेर काम थाल्यौं । यस्तै कर्मचारीहरुको सांगठनिक संरचना तयार पारेर कार्यान्वयन ग¥यौँ । हाल भने नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । निकै चुनौतीका साथ आएका थियौँ, पार लगाउन सक्यौं र अझ महत्वपूर्ण कुरा त सैनामैनाका समृद्धिका आधार पहिल्याउने र तिनलाई साकार पार्ने उपयुक्त कार्यक्रम बनाउन सकेका छौं ।

सैनामैनामा पहिलो मेयरका रुपमा पहिलो कार्यकालको मुख्य उपलब्धि के हो ?
सैनामैनाको पहिचान विस्तार गर्ने, आन्तरिक स्रोतको संरक्षण र विस्तार गर्ने, नगरबासीको शिर उचो बनाउने कामको थालनी गर्ने, प्रदेश स्तरमै नेतृत्वदायी भूमिका स्थापित गर्ने, बुद्धकालीन सभ्यताको पहिचान दिलाउने र त्यसअनुरुपको संग्रहालय स्थापनाको थालनी गर्नेलगायतका कैयन् विषयहरु छन् जुन सैनामैनाका उपलब्धिहरु हुन् । पूर्वाधार विकासको क्षेत्रमा मेरुदण्ड मानिने सैनामैना चक्रपथ निर्माणले सैनामैनाको परिचय मुलुकभरकै लामो चक्रपथ बनाउने पालिकाका रुपमा थपिएको छ । यो एउटै पालिकाभित्र रहेको नेपालकै सबैभन्दा लामो चक्रपथ हो, ५३ किलोमिटर लामो छ । सैनामैनाका सबै वडाका साथै बुटवल तथा लुम्बिनीलाई सहायक मार्गबाट जोड्ने गरी यो चक्रपथ निर्माणको काम भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, कलौनी–लुम्बिनी सडक र मुर्गिया–लुम्बिनी सडक चक्रपथका अन्य सम्पर्क सडकहरू हुन् । यी सडकहरू लगभग कालोपत्रे भइसकेका छन् । यसको काम ८० प्रतिशत सकियो, बाँकी असारसम्म पूरा हुन्छ । यस्तै तिनाउ(दानव करिडोर, सैनामैना (ताली) लुम्बिनी–कक्रहवा सडक र सैनामैना मेजर रोडलगायतका सडकहरुको काम भइरहेको छ । सैनामैना वडा नं. १, २, ३,४, ५, ६, ८, ९ र १० लाई जोड्ने करिब १५ किमी लामो मेजर रोडको हाल कालोपत्रे भएको छ । त्यसैगरी आन्तरिक सडकहरू करबला–रामबस्ती–लेडुवा सडक, दुधराक्षचोक–मलमला सडक, मलमला मन्दिरमा सिंढी निर्माण, मर्मतसम्भार, खकनपुर–झारबैरा सडकलगायतका अन्य सडकको अधिकांश काम सकिएको छ । यसबीचमा पालिकालाई धेरै सडक सञ्जाल भएको नगरपालिका भनेरसमेत परिचित बनेको छ । यसका साथै नगरका विभिन्न भित्री सडकहरू स्तरोन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम भएको छ । भित्री सडकहरूलाई मापदण्ड तोकेर सडक पेटी, नालीसहित निर्माण गरिएको छ ।

नगरको अर्को मुख्य उपलब्धि लामिरह बहुउद्देश्यीय बाँध संघीय सरकार, लुम्बिनी प्रदेश र सैनामैना नगरपालिकाको लागत सहभागितामा बन्दैछ । यस्तै अर्को महत्वपूर्ण वहुवर्षीय आयोजनाका रूपमा रहेको नमुना ढल प्रशोधन केन्द्र वडा नं.३ र ४ मा बनेको छ । अन्तर स्थानीय तह फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र, सैनामैना संग्रहालय, सैनामैना वडा नं. १ मा कृषि उपज संकलन केन्द्र, वडा नं.७ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सैनामैना औद्योगिक ग्राम, सैनामैना नमुना बस्ती, सैनामैना सांस्कृतिक सहर र वडा नं. १ मा निर्माण हुने ज्येष्ठ नागरिक एवम् अपाङ्ग संरक्षण ग्रामलगायतका योजना बहुवर्षीय योजनाहरू थिए । यीमध्ये फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि सैनामैना, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिका समेतको सहकार्यमा प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढेको छ । यहाँ रूपन्देहीका सबै पालिका तथा कपिलवस्तु र नवलपरासीका पालिकाबाटसमेत फोहोर व्यवस्थापन हुने गरी योजना अघि बढेको छ । यो नेपालकै नमुना योजना हो ।

त्यस्तै नगरको वडा नं. ७ देउवापारमा करिब ११ विगाह क्षेत्रफलमा रहेको क्रिकेट रंगशालामा कम्पाउन्ड वाल लगाउने र पिच निर्माण गर्ने काम भएको छ । करिब २२ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागेको औद्योगिक ग्राम क्षेत्रमा पनि कम्पाउन्डवाल, कटिङ–फिलिङ र ट्रयाक निर्माणको काम मात्र भएको सम्पन्न भएको छ । नगरमा सैनामैना नमुना बस्तीअन्तर्गत १० वटा नमुना घरको निर्माण कार्य पूरा भइसकेको छ । वडा नं.३ मा इन्डोरसहितको कभर्डहल निर्माण भएको छ । यसैगरि वडा नं. ६ मा पनि इन्डोरसहितको अर्को कभर्डहल निर्माण भएको छ ।

सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण हुने भएको छ । नगरपालिका र सुन्दर ट्रेडर्स प्रालि काठमाडौंबीच कम्पनी सञ्चालन गर्ने सम्झौता भएको छ । नगरको भँडसी, भँड्छा र शङ्करपुर गरी तीनवटा टोलको करिब ९ बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाल २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी सम्झौता गरिएको छ । पहिलो चरणमा सैनामैनामा करिब तीन अर्ब ६० करोडको लगानीमा कम्पनी संचालनमा आउने छ ।

त्यस्तै यातायात सेवालाई व्यवस्थित गर्न वडा नं. १० सालझण्डीमा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने सैनामैना–९ पिपलडाँडामा प्रदेशस्तरीय रिफ्रेस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो पनि देशकै नमुना योजना हो । राजमार्गमा संचालन हुने सवारी साधनका लागि ध्यानमा राखेर हामीले यो योजना प्रदेश सरकारको समन्वयमा अगाडि सारेका हौं । सैनामैनामा विद्युतको लो–भोल्टेजलाई दीर्घकालीन रुपमा समाधानका लागि नगरमै विद्युतको सबस्टेसन निर्माण गर्ने योजना अघि बढेको छ । सैनामैना–९ पिपलडाँडामा रहेको उपयुक्त जग्गामा करिब १९ करोड बराबरको लागतमा दुई चरणमा सवस्टेशन निर्माणको काम सुरु भएको छ ।

शैक्षिक क्षेत्रको विकासमा खुबै चर्चा छ सैनामैनाको । खास के काम गर्नुभयो ?
नगरपालिकाले सामाजिक क्षेत्रको शिक्षा क्षेत्रलाई पनि महत्वका साथ अगाडि बढाएको छ । सुरुमै विद्यालयको सिकाई उपलब्धि स्तर मापन ग¥यौँ । त्यतिबेलाको समयमा सामुदायिक विद्यालयको सिकाइस्तर ३० देखि ४० प्रतिशत र संस्थागत विद्यालयको ५० देखि ६० प्रतिशतसम्म थियो । त्यसले हामीलाई योजना बनाउन मद्दत ग¥यौँ । ४ वर्षपछि फेरि मापन गर्दा न्युनतम सिकाइस्तर सामुदायिकमा ६० प्रतिशत र संस्थागतमा ७० प्रतिशत देखिएको छ । यस्तै सुरुको अवस्थामा नगरमा २७ वटा सामुदायिक विद्यालय थिए । पछि नगरपालिकाले सञ्चालनामा कठिनाइ भएका र कम विद्यार्थी भएका १० वटा विद्यालयलाई समायोजन गरेको थियो । यसरी काम गर्दाे अभिभावक र विद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय पर्ने स्थिति सिर्जना भएको छ । प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षामा जोडबल गर्दै सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई आइटीसम्बन्धि आधारभूत तालिम र नैतिक शिक्षा तालिम पनि प्रदान गरेका थियौँ । यसपछि प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ गराउने कार्यको थालेका छौँ ।

यस्तै यसवर्षदेखि ‘एक शिक्षक एक ल्यापटप योजना’ अघि सारेका छौँ । विद्यालयको भौतिक संरचना, छात्राहरुका लागि सेनिटरी प्याड, दिवा खाजा लगायत आधारभूत विद्यालयमा आवश्यक पर्ने सुविधाहरू उपलब्ध गराउने प्रबन्ध मिलाएका छौं । प्रत्येक सामुदायिक विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि उच्च स्तरको फिल्टर नगरपालिकाले उपलब्ध गराएको छ । नगरभित्रका बेरोजगार युवालाई स्वरोजागरमूलक कामका लागि दक्षता बढाउन कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजिमा मेकानिकल, इलेक्ट्रिक र अटो मोबाइल इन्जिनियरिङ्गतर्फ १८ महिने रोजागारमूलक तालिम दिइरहेका छौँ । नगरपालिकाबाटै पहिले पढाई छाडेका र अहिले चाहेका महिला लक्षित विद्यालय पनि संचालनमा ल्याएका छौं ।

स्वास्थ्य क्षेत्रमा के काम गर्नुभयो ?
सुरुवातमा नगरको स्वास्थ्य क्षेत्र कमजोर थियो । हिजोको तुलनामा धेरै सुधारोन्मुख छ । स्वास्थ्य चौकीहरूप्रति सेवाग्राहीको विश्वास बढेको छ । तर चेतनास्तर बढाउन भने अझै जरुरी छ । नगरमा हाल सैनामैना–१ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा छ । प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुन्छ । कोभिड–१९ संक्रमणका बेला त्यहाँ अस्थायी अस्पताल पनि सञ्चालनमा ल्याएका थियौं । त्यस्तै संघीय सरकारको योजनाअनुसार १५ शैयाको अस्पताल निर्माण कार्य चलिरहेको छ । यसलाई पछि ५० देखि एक सय बेड सम्मको अस्पतालका रुपमा विकास गर्ने लक्ष्य छ । अस्पताल २ वर्षभित्र सञ्चालनमा ल्याउने नगरको योजना छ । यसैगरी सैनामैना–१० सालझण्डीमा सर्पदंश प्राथमिक उपचार केन्द्र खोलेका छौँ र सय बेडको ट्रमा सेन्टर निर्माणको प्रक्रिया चलिरहेको छ । ११ वटै वडामा आधारभूत स्वास्थ्य चौकी पनि स्थापना भएका छन् । नगरमा २४ सै घण्टा बर्थिङ सेन्टर, १० वटा गाउँ घर क्लिनिक र १० वटा नै खोप केन्द्रबाट नियमित सेवा प्रवाह भइरहेको छ । त्यसैले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

लालपुर्जा वितरण गर्ने काम कहाँसम्म पुगेको छ ?
मैले चुनावी प्रतिबद्धतामा घोषणा गरेको लालपुर्जाविहीन रहेका यहाँका नागरिकलाई पुर्जा दिने कामको सुरुआत भएको थियो । भूमि आयोगको फरमेटमा लगत संकलन गर्ने, अनलाइमा प्रविष्ट गर्ने, जग्गा नापजाँचका लागि कन्ट्रोल प्वाइन्ट निर्माण गरेर व्यवस्थित कामको थालनी भएको थियो । तर, सुरुको आयोग नयाँ सरकार बनेपछि खारेज गरिदियो । लामो समयसम्म काम ठप्प पारियो । नापजाँच सुरु भइसकेका जग्गामा लालपुर्जा तयार पारेर वितरण गर्ने तयारी थियो जुन आयोगको विघटनले अबरुद्ध बन्यो । आयोग विघटन नगरिदिएका भए यतिबेला कैयौं लालपुर्जा वितरण भइसक्ने थिए । नगरभित्र नापी भइसकेका साविक पर्रोहा र सालझण्डीको गाउँब्लक जग्गाहरूको फिल्ड र श्रेस्ता जाँच गरी जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । जसमा ४ वर्षको अवधिमा करिब ८ सय जनाले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्, भने बाँकी नागरिक भने लालपुर्जा पाउन सकेनन् । नगरभित्रको ११ वटै वडामा लागत संकलन गरिसकिएको छ । लागत संकलनपश्चात जग्गा नापजाँचका लागि आवश्यक सबै वडामा करिब १ सय ३० वटा कन्ट्रोल पोइन्ट स्थापना गरी जग्गा नापजाँचको काम गरिसकिएको थियो ।