सैनामैनाको जनचेतना माविमा कम्प्युटर ल्याब सञ्चालन

–रोटरी क्लब अफ सैनामैनाद्वारा २१ थान कम्प्युटर हस्तान्तरण

मेचीकाली संवाददाता

३ मंसिर २०८२, मंगलवार
18 shares

बुटवल। सैनामैना नगरपालिका–८ बाँसगढीस्थित जनचेतना माध्यमिक विद्यालयमा रोटरी क्लब अफ सैनामैनाले आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा ल्याउँदै २१ थान कम्प्युटर र एक डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । विद्यालयमा सूचना–प्रविधि आधारित शिक्षालाई सुदृढ बनाउने लक्ष्यसहित आयोजित कार्यक्रममा रोटरी क्लबका अध्यक्ष भोजराज पौडेलको नेतृत्वमा ती कम्प्युटरहरु हस्तान्तरण गरिएको थियो । यो विद्यालय यसक्षेत्रको पिछडिएको मध्येमा पर्छ ।

रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाले प्रविधि अभावका कारण विद्यार्थीहरू पछि नपर्छन् भन्ने उद्देश्यसहित सामग्री प्रदान गरेर स्थानीय क्लबले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । ‘कम्प्युटर ल्याबले विद्यार्थीहरूको सिर्जनशीलता, आइटी सिकाइ क्षमता तथा शैक्षिक गुणस्तर बढाउन सहयोग पु¥याउनेछ,’गभर्नर कोइरालाले भने,‘समाजसेवाका अभियानलाई थप निरन्तरता दिनुहोला ।’ शिक्षकहरूका लागि पनि प्रविधि प्रभावकारी शिक्षण–शिकाइको माध्यम बन्ने उनको भनाइ थियो ।

रोटरी क्लबका अध्यक्ष पौडेलले विद्यालयको आवश्यकता र भविष्यका आवश्यकता लक्षित गर्दै सहयोग उपलब्ध गराइएको बताए । ‘हामी विद्यालयका यस्ता शैक्षिक परियोजनामा निरन्तर साझेदार बन्नेछौं,’ शैक्षिक गुणस्तर विकासका लागि आफूहरुले सक्दो सहयोग र सहकार्य गर्ने उनको प्रतिबद्धता थियो । सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले प्रविधिको सही उपयोग वर्तमान शिक्षा प्रणालीको अनिवार्य आवश्यकता बनेको उल्लेख गरे । उनले भने,‘विद्यार्थीले संसारसँग प्रतिस्पर्धा गर्न प्रविधि अनिवार्य छ तर एआई प्रयोग र सिर्जनशील क्षमताबीच भेद गर्न कठिन भइरहेको चुनौतीलाई पनि सम्बोधन गर्नुपर्छ र प्रविधिको उच्चतम सदुपयोगमा ध्यान दिनुपर्छ ।’ शाखा प्रमुख शर्माले विद्यार्थी, शिक्षक र विद्यालयले प्रविधिको सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

क्लबका चार्टर्ड प्रेसिडेन्ट मिनप्रसाद पौडेलले सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक कमल बेलबासेले रोटरी क्लबप्रति आभार व्यक्त गर्दै आधुनिक प्रविधि उपलब्ध भएपछि विद्यालयको शैक्षिक यात्रा थप प्रभावकारी हुने बताए । कार्यक्रममा पूर्वअध्यक्ष प्रेमकुमार शर्माको स्वागत, निर्वतमान अध्यक्ष धर्म न्यौपानेको संयोजन तथा पूर्वअध्यक्ष माधव खनालको सञ्चालन रहेको थियो ।

सैनामैनामा रोटरी क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आएके र आगामी दिनमा पनि त्यस्ता कामलाई निरन्तरता दिनेगरी क्यालेण्डर तयार पारिएको अध्यक्ष पौडेलले बताए ।