बुटवल उपमहानगरः प्रमुखमा कांग्रेसका पाण्डे र उपप्रमुखमा एमालेकी अर्याल विजयी

मेचीकाली संवाददाता

७ जेष्ठ २०७९, शनिबार
477 shares

रमेश पराजुली
बुटवल । रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवलको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे ७ हजार ५ सय बढी मतान्तरले विजयी भएका हुन् ।

पाण्डेले ३० हजार १३० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । भने राप्रपाका मृगेन्द्र शेरचनले ४ हजार २९७ मत ल्याएका छन् । पाण्डे २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय मत अन्तरले पराजित भएका थिए ।

उपप्रमुखमा भने, एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । उपप्रमुखमा एमालेकी अर्यालले २४ हजार ९०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले १६ हजार ९८० मत पाएका छन् । भने राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ मत ल्याएकी छन् ।

१९ वडा रहेको बुटवलको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६, १७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भने, वडा नम्बर १०, ११, १४, १८ र १९ वडामा एमालेले जित हात पारेको छ ।

को हुन् खेलराज पाण्डे ?
वि.सं २०२६ फागुन ५ गते बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी–२) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका–६ का बासिन्दा हुन् ।

१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।
आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।
त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए ।
२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् । पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

कुन वडामा कसले जिते ?
वडा नम्बर १ मा नरेन्द्र बस्नेत (स्वतन्त्र)
वडा नम्बर २ मा सुनिल शाक्य (नेकपा एकिकृत समाजबादी)
वडा नम्बर ३ मा बिष्णु ढकाल (माओबादी केन्द्र)
वडा नम्बर ४ मा नरिश्वर पौडेल (नेपाली कांग्रेस)
वडा नम्बर ५ मा हरि प्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर ६ मा लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
वडा नम्बर ७ मा पदमराज गाहा (नेपाली कांग्रेस)
वडा नम्बर ८ मा यज्ञ पंगेनी (नेपाली कांग्रेस)
वडा नम्बर ९ मा प्रदिप कुमार श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर १० मा बलु पुन (नेकपा एमाले)
वडा नम्बर ११ मा रामचन्द्र क्षेत्री (नेकपा एमाले)
वडा नम्बर १२ मा डिल्लीप्रसाद शर्मा (नेपाली कांग्रेस)
वडा नम्बर १३ मा नारायण पुन (नेपाली कांग्रेस)
वडा नम्बर १४ मा दधिराम न्यौपाने (नेकपा एमाले)
वडा नम्बर १५ मा शिव राना (नेपाली कांग्रेस)
वडा नम्बर १६ मा कृष्ण पौडेल (नेपाली कांग्रेस)
वडा नम्बर १७ मा ज्ञान बहादुर रेश्मी (नेपाली कांग्रेस)
वडा नम्बर १८ मा गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले)
वडा नम्बर १९ चन्द्रसिंह थापा (नेकपा एमाले)