

बुटवल । यू–१९ महिला क्रिकेट टिमको कप्तानमा बुटवलकी कृतिका मरासिनी छनोट भएकी छिन् । अर्घाखाँची मालारानी गाउँपालिका–७, बामरुकमा स्थायी घर भई बुटवलमा बस्दै आएकी १७ वर्षीया मरासिनी यू–१९ महिला क्रिकेट टिमको कप्तानमा चयन भएकी हुन् ।
उनी बुटवलको लुम्बिनी बोर्डिङबाट एसईई पास गरी हाल बुटवलस्थित होराइजन स्कुलमा कक्षा १२ मा व्यवस्थापनको विषय पढ्दै छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो । लुम्बिनी प्रदेशबाट यू–१९ महिला क्रिकेट टिमको कप्तानमा चयन हुने मरासिनी पहिलो हुन् ।
मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो । आफ्ना लागि अवसर रहेको भन्दै मरासिनीले टिमका लागि मेहनतका साथ प्रशिक्षणमा खटिएको प्रतिक्रिया दिइन् । आगामी ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, यूएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।
मरासिनीका बुबा कमलले छोरीको सफलताले आफूहरुलाई खुशी लागेको बताए । छोरीलाई सानैदेखि क्रिकेटमा रुचि रहेको र आफूहरुले पनि सोही वातावरण बनाइदिएको बाबा कमलले बताए । यसअघि मरासिनीले धनगढी प्रीमियर लिग, मुख्यमन्त्री कप, प्रधानमन्त्री कप, मेयर कपलगायतका विभिन्न ठाउँमा भएका प्रतियोगितामा समेत भाग लिएर अब्बल खेल प्रस्तुत गरेकी थिइन् ।
उनी क्रिकेट खेल्नकै लागि केही वर्षअघि चाइनामा समेत पुगेकी र त्यहाँ पनि राम्रो प्रदर्शन गरेको बाबुले बताए । त्यहाँ विभिन्न छ देशका खेलाडीहरुको प्रतिस्पर्धा गरेका थिए । ती सबै खेलाडीलाई पछि पार्दै उनी उत्कृष्ट बलर बनेकी थिइन् । उनी अहिले काठमाण्डौमा अभ्यास खेलमा व्यस्त छिन् । छोरीले पाएको नेतृत्वको अवसरलाई जितमा बदल्न सक्ने साहस र ऊर्जा प्राप्त हुने बाबु कमलको विश्वास छ ।
न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले आफ्ना विद्यार्थीले प्राप्त गरेको अवसरलाई सफलतामा परिणत गर्न शुभकामना दिएका छन् । ‘न्यू होराइजन मावि बुटवल कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत छात्रा कृतिका मरासिनी नेपाल यू–१९ महिला क्रिकेट टिमको कप्तानमा नियुक्त भएको हार्दिक बधाई तथा उत्कृष्ट खेल प्रदर्शनसहित सफल नेतृत्वको शुभकामना’ विद्यालयका तर्फबाट जारी सार्वजनिक सूचनामा भनिएको छ ।