महिमा ज्योति चर्चद्वारा बुटवलका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

मेचीकाली संवाददाता

१२ जेष्ठ २०७९, बिहीबार
524 shares

बुटवल । महिमा ज्योति चर्च तल्लो देवीनगर बुटवल–११ रूपन्देहीले बुटवल उपमहानगरपालिका नवनिवाचित जनप्रतिनिधिहरुलाई बिहीबार बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चर्चले बुटवलका प्रमुख खेलराज पाण्डे उपप्रमुख सावित्रा अर्याल सहित १९ वटै वडा अध्यक्षहरू बधाई, स्वागत तथा शुभकामना कार्यक्रम राखेर सफल तथा सृजनशील कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले नगरका जात धर्म मान्न सबैलाई समान व्यवहार गर्दै कसैलाई उचोनिचोको व्यवहार नहुने बताए । उनले कसैलाई पनि पछाडि परेको महसुस हुने वातावरण आउँन नदिने प्रतिबद्धता समेत जनाए । त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले साबित्रा अर्यालले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राष्ट्र नेपाल भएकोले सबै धर्ममान्ने नागरिक समान रहेको बताइन् । उनले नगरका सबै समस्या सुनुवाई हुने समिति बनाएर अगाडि बढने योजनाका साथ आफू अगाडि बढेको बताइन् ।

संविधान सभा सदस्य विनोद पहाडीले क्रिश्चियन धर्मालम्बीहरुको लागि मृत्युपछिको दाहसंस्कार गर्ने ठाउँको समस्या रहेको भन्दै त्यसतर्फ नगरको ध्यान जानुपर्ने बताए । उनले नगरका चर्चहरुलाई पनि बजेटको व्यवस्था राज्यबाट हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा बुटवल वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले पनि बोलेका थिए ।

बेथानी चर्चका पास्टर चित्रबहादुर गुरुङ, ज्योति परिषदका अध्यक्ष मनोहर पाठकको स्वागत तथा ज्योति मण्डली चर्चका सचिव मिलन राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चर्च विभिन्न समयमा सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।