लुम्बिनीको नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ)

मेचीकाली संवाददाता

२६ जेष्ठ २०७९, बिहीबार
465 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको १० औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले केही पुराना र महत्वकांक्षी योजनाहरू ल्याएको छ । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

सिंगो लुम्बिनी प्रदेशलाई प्रविधिमैत्री बनाउने गरी ‘डिजिटल प्रदेशको आधार, हात हातमा प्रदेश सरकार’ भन्ने नारा अघि सारेको छ । कृषिमा स्मार्ट कृषि गाउँ कार्यक्रम, युवा किसानका लागि ब्याज अनुदान, प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना, कृषिमा उत्पादनमा आधारित अनुदान, पुष्पखेती प्रवद्र्धन ‘एक स्थानीय तह, एक उत्पादन’ लगायतका नारा अघि सारिएको छ ।
प्रदेश प्रमुख शेरचनले प्रस्तुत गरेको नीति कार्यक्रममा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी व्यवस्थापन र संरचना निर्माणको कामलाई गौरवको आयोजना घोषणा गरेका छन् । उनले राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी राजधानी निर्माण गरिने उल्लेख गरे ।

‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि संघ र स्थानीय सरकारसँग मिलेर काम गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ ।
योसँगै लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, लुम्बिनी प्राविधिक विश्वविद्यालय, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्ने प्रदेश प्रमुख शेरचनले बताए । नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्वपूर्ण योजनाको रुपमा अघि बढाइने प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी क्षेत्र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने सम्भावनालाई दृष्टिगत गरी पर्यटन पूर्वाधार विकासको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर बृहत् बुद्ध सर्किट तथा प्रदेशका सबै जिल्लाका पर्यटकीय गन्तव्य जोडिने गरी ऐतिहासिक बाईसे–चौबीसे पर्यटकीय सर्किट अघि बढाइने, गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन बिक्रीका लागि निजीक्षेत्रलाई कोशेली घर सञ्चालन गर्न दिने, प्रमुख शहरहरू जोड्ने रुटहरूमा विद्युतीय बस सञ्चालन गर्ने योजना प्रदेश सरकारले अघि सारेको छ ।

कृषि पूर्वाधार, बजार सूचना प्रणाली, उद्यमशीलता र गुणस्तर कायम गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरिनेछ । कृषि विकासमा महिला सहभागिता अभिवृद्धि गरी स्वरोजगार सिर्जना हुने वातावरण मिलाइने प्रमुख शेरचनले उल्लेख गरे । प्रदेशभित्र सम्भावना भएका च्याउ, मह, पुष्प, अदुवा, बेसार, रेशम, कफी, उखु, चिउरी, काफल, आँप, केरालगायत बाली तथा पशु वस्तुको उत्पादन, प्रशोधन, ढुवानी र बजारीकरण प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ भने एक स्थानीय तह, एक नमूना उत्पादन कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

रोल्पा र रुकुमपूर्वमा अल्लो र कम्बल, प्युठानमा अल्लो, दाङमा छालाजन्य वस्तु, गुल्मीमा कफी, पाल्पामा ढाका र करुवा, बर्दियामा बेतबाँस र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा उखु एवं केरा उत्पादन गर्दै लगिने प्रमुख शेरचनले घोषणा गरे । प्रदेशमा कागज उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ भने परम्परागत शिल्प व्यवसायको प्रवद्र्धन र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, एक स्थानीय तह एक नमुना कृषि वन, एक जिल्ला एक नमुना जडीबुटी उत्पादन, बेरोजगारलाई रोजगार साथमा छ प्रदेश सरकारअन्तर्गत गरिखाने कार्यक्रम, डिजिटल प्रदेशको आधार हात–हातमा प्रदेश सरकार, समृद्धिका लागि सञ्चार अभियान सञ्चालन, प्रदेश चलचित्र विकास बोर्ड गठन, एकीकृत भौगोलिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन, नागरिकका गुनासा सुन्न हेल्लो मुख्यमन्त्री कक्ष सञ्चालन, एक स्थानीय तह, एक वन नर्सरीलगायतका कार्यक्रम समेटिएका छन् ।

त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवका नमुना आयोजनाका रुपमा अघि बढाइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने साथै क्यान्सर तथा मुटुरोगीलाई २ लाख रुपैयाँ उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई मुलुककै नमुना अस्पताल बनाई नमुना मेडिकल कलेज सञ्चालन गरिनेछ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

https://drive.google.com/file/d/1wCfnWHpDtsvCSbO_r6Q3HEAppMmGZiFK/preview