ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

मेचीकाली संवाददाता

२ असार २०७९, बिहीबार
570 shares
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै बैंकका अध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र प्रकाश श्रेष्ठ

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच बराबर हैसियतमा मर्जर सम्झौता भएको छ । बिहीबार विहान दुई बैंकबीच एक आपसमा गाभिने (मर्जर)सम्बन्धी सम्झौता भएको हो ।

मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके बैंक हुने भएको छ । नयाँ बन्ने बैंकको अध्यक्ष चन्द्र ढकाल नै रहने छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत भने रत्नराज बज्राचार्य हुने सहमति भएको छ ।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । पुँजीका हिसाबले मर्जरपछि यो बैंक इन्भेष्टमेन्ट कुमारीपछिको दोस्रो ठूलो बैंक हुने भएको छ । ग्लोबल आइएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड र बैंक अफ काठमाण्डूको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यस अघि मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको चुक्ता पुँजी अहिलेसम्मकै सबैभन्दै धेरै हुने छ । उक्त बैंकको चुक्ता पुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।
दुई बैंकहरूको ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ३७ लाख भन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

दुवै बैंकहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए । उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विस्वास प्रकट गरे ।