सियारी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारीत ।

मेचीकाली संवाददाता

६ असार २०७९, सोमबार
399 shares

तुलसीराम पौडेल —

सियारी, आषाड ६ 

रुपन्देहीको सियारी गाउँपालिकाको ११ औ गाउँसभामा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ। गाउँ सभा अध्यक्ष थानेस्वर घिमिरेले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम  पारित गर्नको निर्णार्थ सभामा  प्रस्तुत गर्दा गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए । आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ ,कृषि पर्यटनलाई प्राथमिकता दिइएको छ।(१) आर्थिक विकास 

(क)  कृषि, पशुपन्छी  र मत्स्य विकास

१. कृषिलाईआर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ । व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको ब्यवस्था गरिनेछ ।

२. दुध उत्पादन , माछा तथा मकैखेतिमा उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन  गरिनेछ । 

३. गाउँपालिका क्षेत्रभित्र उत्पादन गर्न सकिने कृषिजन्य, तरकारीजन्य, फलफुल, मासुजन्य तथा दूग्धजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै व्यवसायिक कृषिको माध्यमवाट आर्थिक वृद्धि हासील गर्ने नीति लिइने छ ।

४. खुल्लारुपमा मासु बिक्रिवितरण गर्ने परिपाटिको अन्त्य गरी स्वस्थ मासु बिक्रि-वितरणको लागि आवश्यक व्यवस्था मिलार्इने छ ।

५. कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाइ कृषिमा आश्रित जनताको जीवनस्तर सुधार गर्न तथा युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचय पत्र वितरण गर्ने कार्यलाई पूर्णता  दिइनेछ । 

६. किसानको लागत मुल्य प्राप्तीको सुनिश्चताको साथै प्राकृतिक प्रकोप तथा जंगली जनावरबाट हुने क्षतिको असरबाट किसानलाई बचाउनका लागी कृषि तथा पशु बीमा कार्यक्रमलाई कृषकको खेत तथा गोठसम्म पुर्याउन गाउँपालिकाले आवस्यक सहयोग तथा सहजीकरण गर्ने छ।

७. एक गाउँ , एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कृषि गतिविधि सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ । 

८. संघीय सरकारको सहयोगमा आ.व. २०७८/७९ मा सञ्चालित साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमलाई निरन्तरता दिँदै आ.व. २०७९/८० मा मकैबालीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक वडामा सिड बैंक स्थापना गर्दै उत्पादकत्व तथा भूमिको प्रकारको आधारमा पकेट क्षेत्रहरु विस्तार गर्दै लगिने छ।

९. माटो र जमिनको रक्षाका लागि रासायनिक मलमा मात्र निर्भर नभै गोठे मल, प्राङ्गारिक मल तथा जैविक मल उत्पादन कार्यमा प्रोत्साहन गरिने छ । जैविक विषादीको प्रयोगलाई प्रोत्साहित गरिने छ।

१०.  आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदैं बजारीकरण गर्ने जसका लागि उपलब्ध हाटबजारहरुको संरचनात्मक सुधार गर्दै सहज रुपमा विनिमय गर्नसक्ने व्यवस्थित हाटबजारमा रुपान्तरण गरिने छ । 

११. दीर्घकालिन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्न वाली,नगदेवाली, तेलहनवाली, दलहनवाली, च्याउखेती, व्यवसायिक तरकारीखेती, माछापालन, कुखुरापालन कार्यक्रम सञ्चालन गर्न अभप्रेरित गरिनेछ साथै गाई , भैसी र बाख्रामा नश्न सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिनेछ ।

१२.  कृषकको सहभागितामा नेपाल सरकार, प्रदेश सरकारसमेतको सहयोग र समन्वयमा तरकारी तथा फलफुलको संरक्षणको लागि शितभण्डार (कोल्डस्टोर) निर्माणको लागि जग्गा व्यवस्थापन तथा डि.पि.आर. तयार गरी निर्माण कार्यको लागि आवश्यक कदम अगाडी बढाइनेछ । 

१२. . प्रदेश सरकारको सहयोगमा “एक स्थानीय तहःएक नमूना उत्पादन” कार्यक्रम कार्यान्वयन गरिनेछ ।

१३. वडा नं.२ च्याङ्गठामा नव निर्मित पशु हाटबजारलाई व्यवस्थित रुपमा    सञ्चालन गरी प्रदेशस्तरीय गाईभैंसीको हाटबजारका साथै पशु प्रदशनी स्थलका रुपमा समेत  विकास गरिनेछ । उत्कृष्ट उत्पादक/ कृषकलाई पुरस्कृत गरिने छ।

१५. कृषक तथा उद्धमी, आर्थिक विकासका सारथी भन्ने नारालाई साकार बनाउन उब्जाउ जमिन बाँझो नराख्ने नीति अवलम्वन गरिने छ ।

१६. फलफुल खेति कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने छ । ५ बर्षमा कम्तीमा ५० विघाहा जमिनमा फलफुल खेति बिस्तार गर्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिने छ।

१७. निर्यातमूलक कृषिजन्य उत्पादन तथा उत्पादन विविधीकरणमा प्राथमिकता दिइने छ ।

(ख) सिंचाई

१. भै.लु.भू.ज.अन्तर्गत सञ्चालनमा रहेका पम्मबाट सिचाई सुबिधा लिने कृषकहरुलाई रनिङ्ग चार्जमा ५०% अनुदान उपलब्ध गराईनेछ । 

२. सियारी खोलामा ड्याम बनाई लिफ्ट सिचाईको विकास र प्रवर्धन गरी उत्पादन बढाउन सम्भाव्यता अध्ययन गरिनेछ । 

३. वैदौली झरन छिरकहवा नालाको पानीलाई व्यवस्थित गरी बैदौली तथा जंगहत्थामा सिंचाइको व्यवस्था मिलाईने  छ । साथै वडा नं ४ पर्सौनीको जग्गा कटान झरन वाँधलाई व्यवस्थित गरिने छ ।

४. भूमिगत र लिफ्ट सिँचाई कार्यक्रमलाई उच्च प्राथमिकता दिइ कृषिको उत्पादनमा वृद्धी गर्न सघाउ पुर्‍याउने नीति लिइनेछ । जीर्ण अवस्थामा रहेका डिप वोरिङ्ग तथा नहरहरु मर्मत गरी संचालन गरिने छ।

(ग) पर्यटन प्रबर्द्धन

१. पाहुना घर (होमस्टे) को विकासमार्फत ग्रामीण पर्यटन प्रवद्धन गरिनेछ । पाहुनाघर (होमस्टे) लाई स्थानीय संस्कृति,भेष-भुषा मौलिकता र परम्परागत पेशा, अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरिनेछ । 

२. स्थानीय लोक सँस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटनलाई आकर्षण गर्ने नीति अवलम्वन गरिनेछ । 

३. कृषि पर्यटनको गन्तब्य स्थलको रुपमा सियारीलाई विकास गरिने छ ।नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिने छ ।

४. मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु-ब्यवस्था मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गरिने छ । छपियाचोकमा छपियाको पहिचान झल्किने गरी माछाको प्रतिमा स्थापना गरिने छ।

५. स्थानीय पर्यटकहरुलाई आकर्षित गरी विदाका दिन तथा चाडपर्वहरुमा सियारी भित्रै रम्ने/रमाउने वातावरण सृजना गर्न सुविधा सम्पन्न सियारी फन पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ।

(घ) भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण एवं वित्तीय क्षेत्र

१. यस गाउँपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित वसोवासीहरुको लगत संकलन भै राष्ट्रिय भूमी आयोगको सफ्टवेयरमा प्रविष्टी भैसकेको छ । आयोगसँगको समन्वयमा जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउने कार्यको तत्कालै शुरुवात गरिने छ । घरवास (गाउँ ब्लक) जग्गाको जग्गा धनी प्रमाण पुर्जा यथाशिघ्र वितरण गरिनेछ ।

२. भू-उपयोग ऐन, नियमावली तथा  नेपाल सरकारको नीति अनुरुप भूमिको वर्गीकरण गरी भुमिको समूचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्नका लागी भूउपयोग योजना बनाई कार्यान्वयन गर्ने नीति लिइनेछ ।

३. गाउँपालिकाभित्र रहेका सहकारी संस्थाहरुको व्यवस्थित सञ्चालन गर्नका लागि  सहकारीका सात सिद्धान्तको अनुसरण गराउन सहजीकरण गर्दै सहकारीको माध्यमबाट स्व-रोजगारलाई प्रवर्द्धन गरी गरिवी निवारणमा जोड दिने नीति लिइनेछ । सहकारीहरुसँग साझेदारीमा कार्यक्रम संचालन गर्ने नीति लिइने छ। कृषि सहकारी मार्फत उन्नत बिउ बिजनको उत्पादन, प्रबर्द्धन र वितरणमा प्रोत्साहन गरिने छ।

४. भूमिहिन तथा घरबारविहिन नागरिकहरुको लागि एकल तथा सामुहिक आवासको व्यवस्था गरिने छ ।

५. कृषकहरुको वित्तीय प्रणालीमा पहुँच विस्तार गर्न तथा प्रत्येक किसानलाई बैंक खाता खोल्न सहजीकरण गरिने छ । महिला तथा लघु उद्यमीलाई सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग आवस्यक समन्वय गरिने छ।

(ङ) उद्योग, व्यापार तथा व्यवसाय 

१. स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवर्द्धन गर्न सीपमूलक तालिमको व्यवस्था गरी उत्पादित वस्तुहरुको बजारीकरण सुनिश्चित हुने व्यवस्था मिलाइनेछ । 

२. यस गाउँपालिका क्षेत्रमा उद्योग,व्यवसाय र व्यापार सञ्चालनमा गाउँपालिकाले सहयोगी र समन्वयकारी भूमिका निभाउने छ । 

३. स्थानीय तहमा सञ्चालन हुने उद्योगहरूमा निश्चित प्रतिशत स्थानीय नागरिकहरुलाई रोजगारी दिनुपर्ने व्यवस्थाको लागि उद्योगीहरुसँग समन्वयकारी भूमिका  निर्वाह गरिने छ। 

४.  नेपाल सरकार तथा प्रदेश  सरकार सँग समन्वय र सहकार्य गरी औद्यौगिक ग्राम स्थापना गर्न जग्गा व्यवस्थापन गरी प्रकृया अगाडी बढाइने छ ।

(च) श्रम तथा रोजगार प्रबर्द्धन

१. प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारिको अवसर प्रदान गरिनेछ ।

२. सुचिकृत रोजगारीको खोजीमा रहेका बेरोजगार जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग र कृषि लगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने व्यवस्था मिलाईनेछ ।

३. योजना तथा विकास कार्यक्रम तर्जुमा गर्दा स्थानीय कच्चा पदार्थ, सीप र प्रविधीको प्रयोग हुने तथा रोजगारी सिर्जना गर्ने आयोजना छनौटमा प्राथमिकता दिईनेछ । 

४. सार्वजनिक नीजि साझेदारीको माध्यमबाट युवा लक्षित उद्यम  व्यवसाय प्रवर्द्धन गर्ने नीति अवलम्वन गरिने छ ।

(२) सामाजिक विकास

(क) शिक्षा,संस्कृति,भाषा, कला तथा साहित्य

१. “गुणस्तरीय शिक्षा , सियारीको प्रतिबद्धता” भन्ने नीतिलाई अवलम्वन गरिनेछ ।

२. विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा वालविकास केन्द्रहरुलाई विकास गरि यसको अनुभवलाई अनिवार्य गरी  कक्षा १ मा भर्नादर बढाउने नीति लिइनेछ । 

३. समूदायमा र विद्यालयमा नमूनाको रुपमा वालविकास केन्द्रहरुको  विकास गर्ने नीति लिइनेछ । 

४. वालविकास केन्द्रहरुमा सूचना प्रविधिमा पहुँच वढाउने तथा वालविकास शिक्षकहरुको क्षमता विकास गर्ने नीति लिइनेछ ।

५. आधारभूत तहको शिक्षालाई बालमैत्री तथा गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री  वनाउदै लगिने छ ।

६. आधारभूत तहको शिक्षालाई व्यवहारिक, परियोजनामा आधारित बनाउनुका साथै रमाइलो वातावरणमा शिक्षण सिकाइको  नीति लिइनेछ । 

७. शैक्षिक क्षतिलाई न्यूनिकरण र गाउँपालिकाबाट गरेको शिक्षाको लगानीलाई मितव्ययी गर्ने नीति लिइनेछ । 

८. निर्धारित सिकाइ सक्षमता  हाँसिल गरेका बालबालिकाहरुलाई माध्यमिक शिक्षा प्रवेशको तयारी गराउने नीति लिइनेछ । 

९. कक्षा १ देखि ५ सम्मका विद्यालयहरुमा सूचना प्रविधि र नविनतम प्रविधिको विकासमा जोड दिइने छ। 

१०. शिक्षकहरुलाई नव-प्रर्वद्धन र अनुसन्धानात्मक कार्यमा प्रेरित गरिने छ । 

११. प्रयोगात्मक शिक्षा तथा नागरिक आरोग्य कार्यक्रमहरुमा जोड दिइनेछ । 

१२. गाउँपालिकाबाट प्रत्येक वर्ष जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई प्राविधिक      

१३. शिक्षा अध्ययनमा छात्रवृति प्रदान गर्ने नीति लिइनेछ । 

१४. आफ्नो पेशागत जिवनको लामो अवधि सियारी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अर्पण गर्ने शिक्षकहरुलाई दिर्घसेवा सम्मान प्रदान गरिने छ।

१५. विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ र प्र.अ.को क्षमता अभिवृद्धिका लागि आवस्यक कार्यक्रम संचालन गरिने छ । 

१६. प्र.अ. तथा शिक्षकहरुलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गरिनेछ । 

१७. शिक्षक तथा विद्यालय कर्मचारी कल्याण कोष कार्यविधि तयार गरि संचालन गर्ने नीति लिइने छ।

१८. विद्यालयहरुको समन्वयमा अध्यक्षसँग विद्यार्थी तथा उपाध्यक्षसँग किशोरी कार्यक्रम संचालन गरने छ।

१९. रेडक्रस, स्काउट, तेक्वान्दो, ट्राफिक सचेतना जस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइने  लिइनेछ । 

२०. माध्यामिक विद्यालयहरुमा डिजिटल ह्वाइटबोर्ड मार्फत पठनपाठनलाई डिजिटलाइज गर्दै लगिने छ । ५०% साझेदारीमा एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालन गरिने छ।

२१. सबै विद्यालयहरुमा एकै किसिमको रङ्गरोगन गरिने छ, साथै एक विद्यालयः एक उद्यान कार्यक्रम लाई जोड दिइनेछ ।

२२. स्थानिय कला , साहित्य ,  संस्कृति , एतिहासिक तथा धार्मिक धरोहरहरु, रहनसहन आदि समाविष्ट स्थानीय पाठ्यक्रम तयार गरी प्राथमिक तहमा लागु गरिने छ । 

२३. सियारी-४ धमसर कालिका मन्दिर र दुर्गा मन्दिर उत्खनन् तथा संरक्षण गर्न पुरातत्व विभागसँग समन्वय गरि कार्यक्रम अगाडी वढाइने छ।

२४. शिक्षकहरुको क्षमता विकास गर्नको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ । 

२५. विद्यालयमा कार्यरत जनशक्तिको मनोवल उच्च राख्ने कार्यलाई प्राथमिकता दिईनेछ । आवश्यकता अनुसार कार्य क्षेत्र र जिम्मेवारी समेत हेरफेर गरी कर्तब्य प्रति लगनशील हुन अभिप्रेरित गरिनेछ । विद्यालय जनशक्तिको कार्यसम्पादनलाई नतिजासँग आवद्ध गर्नका लागि कार्यसम्पादन करार गरिनेछ । 

२६. सियारी गाउँपालिकाको गौरवकोरुपमा रहेको एकमात्र उच्च शिक्षा प्रदान गर्दै आएको श्री लिलाधर घिमिरे छपिया जनता कलेज सञ्चालनका लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने नीति लिइनेछ । 

२७. आवश्यकता तथा औचित्यका आधारमा शैक्षिक क्रियाकलापहरुमा संस्थागत विद्यालयहरुसँग सहकार्य गर्ने नीति लिइने छ । गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि विज्ञ समुह गठन गरि आवस्यक राय परामर्श लिइने छ।

२८. छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण श्रृजना गरिने छ र संघीय सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई गुणस्तरीय सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट उपलब्ध गराइनेछ साथै वितरणमा सहजताका लागि भेण्डिङ्ग मशिनहरुको व्यवस्थापन गर्दै लगिने छ।  

२९. संघीय सरकार र प्रदेश सरकारको सहयोगमा क्रमशः सबै विद्यालयहरुमा विज्ञान प्रयोगशालाको उचित ब्यवस्था गरिने नीति  लिईनेछ । 

३०. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत  भौतिक पूर्वाधार विकासमा जोड दिइने छ ।  

३१. नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा  प्राविधिक धारको शिक्षालाई विकास र विस्तार गरिने नीति लिइने छ ।

३२. फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष  शिक्षा स्रोत कक्षाको स्तरोन्नतीमा जोड दिइने नीति लिइने छ । 

३३. विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी तथा कक्षाकोठाको व्यवस्थापन गर्ने नीति लिइने छ । 

३४. पढ्दै कमाउँदै कार्यक्रमलाई नमूनाको रुपमा एउटा विद्यालयवाट सुरुवात गरिने छ। राष्ट्रपति  शैक्षिक सुधार कार्यक्रम सँगको साझेदारीमा कार्यान्वयन प्रक्रिया अगाडि वढाइने छ।

३५. सरकारी विद्यालयमा कार्यरत शिक्षक , निजामति कर्मचारी तथा जन-प्रतिनिधिका छोराछोरीहरुलाई सरकारी विद्यालयमा अध्ययन गराउन अभिप्रेरित  गरिनेछ । 

(ख)  जनस्वास्थ्य तथा पोषण

१. नेपाल सरकारको नीति अनुसार अत्यावश्क स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क ‍ उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । 

२. औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यावस्थित र गुणस्तरीय बनाईनेछ । 

३. स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सबै स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित रुपले सञ्चालन गरिनेछ । नेपाल सरकार, प्रदेश सरकार र अन्य सहयोगी संस्थासमेतको सहयोगमा स्वास्थ्य संस्थाहरुका पुराना भवनहरुको स्थानमा क्रमश सुविधा सम्पन्न भवन निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने छ। 

४. सियारी गाउँपालिकाको वडा नं.४ छपियामा १५ शैयाको अस्पताल निर्माणका लागि निर्माण व्यवसायी छनौट भइसकेकोले उक्त अस्पतालको समयमै निर्माण सम्पन्न गर्न आवस्यक बजेट अभावहुन नदिन नेपाल सरकारसँग विशेष आग्रह गरिनेछ । 

५. गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । उचित मापदण्ड तथा कार्यविधि बनाई स्वास्थ्य कर्मीको सिफारिसका आधारमा गर्भवती महिला, असाध्य रोग लागेका विरामी,७० बर्षमाथिका  ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख”वर्गको परिचय पत्र भएका अपाङ्ग लगायतलाई  रुपन्देही जिल्लाभरी  निशुल्क र अन्य विरामीहरुलाई न्यूनतम शुल्कमा एम्बुलेन्स सेवा उपलबध गराइने छ ।

६. खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभुत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गरी उचितरुपमा परिचालन गरिनेछ । 

७. आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गरीनेछ ।  बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका सियारी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई कार्यविधि बनाई श्रावण १ गते देखि नै कार्यान्वयन गर्ने गरी उपाध्यक्ष सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम संचालन गरी सुत्केरी पोषण खर्च उपलब्ध गराइने छ । 

८. गाउँपालिकाका सबै वडा तथा टोलहरुलाई नियमित खोप सुनिश्चितताका लागि जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा स्थानीय सामुदायिक संस्था, स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकालाई अझ बढी क्रियाशिल बनाईदै लागिनेछ । 

९. महिला स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्य कर्मीहरुलाई उच्च मनोवलका साथ सेवाप्रवाहमा लगाउन आमा स्वास्थ्य सुरक्षा र बाल स्वास्थ्य सुधार कार्यक्रमका लागि विशेष प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । 

१०. .जग्गा ब्यवस्थापन भएका स्थानहरुमा खोप केन्द्र भवनहरुको निर्माण गर्दै लगिने छ ।

११. संघीय सरकारसँगको समन्वयमा स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र

१२. बनाइनेछ । बहुक्षेत्रीय पोषण कार्यक्रमलाई अन्तरनिकाय समन्वय गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

१३.  संघ तथा प्रदेश सरकारको समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई  सहज र सरल बनाइनेछ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्घको खोपको व्यवस्था गरिने छ ।

१४. ७० बर्षमाथिका  ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख”वर्गको परिचय पत्र भएका अशक्त लगाएतलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिक एवं अशक्तहरुलाई सम्मानित जिवनको अनुभुति गराउने नीति अवलम्वन गरिनेछ । 

१५. सियारी गाउँपालिका भित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले निःशुल्करुपमा ब्लड-बैंकबाट उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

१६. नागरिक आरोग्य केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन  गरि  आयुर्वेद पद्धती र योग अभ्यासको माध्यमबाट शारिरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ । 

१७. स्वस्थ नागरिकको आधार , घरघरमा नियमित महिला स्वास्थ्य स्वयम सेवीकाको भेटघाट भन्ने मान्यताका साथ महिला स्वास्थ्य स्वयम सेवीकालाई थप प्रोत्साहन उपलब्ध गराई  सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति लिइनेछ । 

१८. प्रत्येक स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य उपकरण तथा सामग्रीको व्यवस्थापन गरिदैं लगिने नीति अवलम्वन गरिनेछ । 

१९.  सिकलसेल एनेमिया रोगका विरामिहरुलाई निशुल्क उपचार गरिने छ साथै सुगर र ब्लड प्रेसरको औषधि निशुल्क वितरणको व्यवस्था गरिने छ।

२०. प्रयोगशाला तथा वर्थिङ्ग सेन्टरको सेवालाई थप व्यवस्थित र भरपर्दो वनाइने छ 

२१. नेपाल सरकारको सहयोगमा क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगबाट पिडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य उपचार भत्ताको व्यवस्था गरिने छ । गाउँपालिका तहमा न्युनतम एक सुलभ औषधी पसलको व्यवस्था गरिने छ ।   

(ग) खानेपानी तथा सरसफाई

१. सवैका लागि स्वच्छ खानेपानी सुविधा पुर्‍याउनका लागि‍ ओभरहेड ट्याङकी भएका ठाउँमा तिव्रताका साथ पाइपलाइन विस्तार गर्ने तथा‍ ओभरहेड ट्याङकी नभएका ठाउँहरुमा ट्याङकी निर्माणका लागि जोड दिंदै  स्वच्छ खानेपानी ब्यवस्थापन गर्ने तथा ह्याण्डपाइपको पानीलाई विस्थापन गर्दै जाने नीति लिइने छ। 

२. एक घर, एक धारा जडान गर्न विशेष व्यवस्था गरिने छ । गाउँपालिकाभित्र वसोबास गर्ने नागरिकहरुका लागी मासिक ५००० लिटरसम्म स्वच्छ खानेपानी निशुल्क वितरण गर्ने व्यवस्था मिलाइनेछ । 

३. गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा तयार गरिएको रणनीतिक योजनाले मार्गदर्शन गरे बमोजिमका कार्यक्रमहरु कार्वान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ । 

४. नेपाल सरकार , प्रदेश सरकार र गाउँपालिकाको “ एक घर , एक धारो” को संकल्पलाई पूरा गर्न प्रत्येक वडामा खानेपानी , सरसफाइ  तथा स्वच्छता योजना ( वास प्लान ) कार्यान्वयन गरिने छ।

५. सफा र सुन्दर सियारी अभियान अन्तर्गत ०७९ श्रावण महिनादेखि प्रत्येक महिनाको पहिलो शनिवार जन-प्रतिनिधि , संघ संस्था , शिक्षक , कर्मचारी , आम नागरिक लगायतको सहभागितामा प्रत्येक टोल तथा वस्तिमा सरसफाइ अभियान संचालन गरिने छ।  मेरो गोजि ,मेरो पहिलो डस्टविन अभियान संचालन गरिने छ।

(घ)  महिला, वालबालिका र सामाजिक समावेशीकरण

१. आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडी परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग,अपांङ्गता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सीपमूलक ,आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ । 

२. महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रमहरुमा शैक्षिक संस्थाहरुलाई समेत आवद्ध गरिने छ।

३. अपाङ्गताको प्रकृति अनुरुप आय आर्जनको लागि तालिम तथा सुविधाजनक सामग्री वितरणको ब्यवस्था मिलाईनेछ ।

४. सवै टोल, वडा हुँदै गाउँपालिकालाई ३ वर्षभित्र बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु प्रारम्भ गरिनेछ  ।

५. जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुको लागि सम्मानजनक तथा सन्तुष्टिपूर्वक जीवनयापनका आवश्यक कार्यक्रम कार्यान्वयन गर्ने तर्फ जोड दिइने छ ।

६. घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई क्रमैसँग नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति लिईने छ । सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गरिनेछ ।

७. आदिवासी जनजातीको भाषा,कला तथा संस्कृति संरक्षण र सम्वर्द्धन गरिनेछ ।

८. दलित वर्गको उत्थान,विकास, संरक्षण, सम्वर्द्धन, सशक्तीकरण  र आयआर्जनका लागि विशेष जोड दिईनेछ । 

९. मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१०. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सैकिसिमका अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ । 

११. सबै जात,जाति वर्ग समुदायको धर्म, संस्कृतिको सम्मान र संरक्षण गरिनेछ  

१२. अति विपन्न तथा गरिव परिवारको विवाहका लागि आर्थिक सहायताका साथै सामुहिक विवाह कार्यक्रमको आयोजना गरिने छ।

 (ङ)  युवा, खेलकुद तथा नव-प्रबर्द्धन

१. शैक्षिक,बौद्धिक, साहित्यिक कार्यक्रम तथा खेलकुदमार्फत बालबालिका तथा युवाहरुमा जागरण ल्याइने नीति लिइनेछ । 

२. कर्भडहल निर्माणमा जोड दिइनेछ । क्लव तथा संघ संस्थाहरुलाई खेलकुद सामाग्रीहरु वितरण गर्ने नीति लिइनेछ । 

३. फुटवल, कबर्डी, क्रिकेट, ब्याडमिन्टनजस्ता खेलप्रतियोगिता मार्फत सियारीको पहिचान उँचो वनाउन प्रयत्न गरिनेछ । 

४. आजका युवा नै भोलीका राष्ट्रका कर्णाधार हुने भएकाले विद्यालय शिक्षामा पनि खेलकुदलाई सिकाइको अभिन्न अंगको रुपमा विकास गरिनेछ । 

५. खेलकुद शिक्षकहरुको क्षमता विकास गरिनेछ । स्वास्थ्य का लागि खेलकुदमा जोड दिइनेछ । 

६. संघ र प्रदेश सरकारको समन्वयमा खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र  गतिविधि सञ्चालन गरिनेछ ।

७. युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाई युवाहरुको क्षमता विकास र युवा रोजगारीको लागि प्राविधिक सीपका तालिम कार्यक्रम  सञ्चालन गरिनेछ । प्राविधिक शिक्षालयहरुसँग सहकार्य गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । 

१०. विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।

८. युवाहरुमा उद्यमशीलता, सृजनशीलता एवम् सकारात्मक सोचको विकास गर्ने अभिप्रायका साथ सोही अनुरुपका सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ । 

९. सियारी -४ पण्डितपुरमा एक बहुउद्देशीय रंगशाला सहित एक वडा एक खेलमैदान निर्माणको नीति लिइने छ। खुला व्यामशाला निर्माणको थालनी  गरिने छ।

(३) पूर्वाधार विकास 

(क) भवन,वस्ती, आवास तथा शहरी विकास

१.  सबै प्रकारको ऐतिहासिक, पुरातात्विक र धार्मिक तथा पर्यटकीय क्षेत्र तथा संरचनाहरुको संरक्षण, प्रवर्द्धन गरिने   छ ।

२. गाउँपालिका भित्र छाडा चौपायको व्यवस्थापन गर्न र राष्ट्रिय जनावर गाईको उचित 

३. व्यवस्थापन गर्न गौशाला निर्माण गर्न सरोकारवालासँगको सहयोगमा आवश्यक जग्गा व्यवस्थापन गरी निर्माणकार्य अगाडी बढाउने नीति अवलम्वन गरिनेछ । ।

४. राष्ट्रिय भवन संहिता बमोजिम भूकम्पीय सुरक्षित घर निर्माण गर्न प्रोत्साहन गरीने छ ।       नक्सा पास गराई घर निर्माण गर्ने कार्यलाई  अनिवार्य गराइने  र नक्सापास दस्तुर न्यूनतम मात्रामा लगाउने तथा छिटो छरितो माध्यमवाट नक्सा तयार गरी उपलव्ध गराउने व्यवस्था मिलाइने छ। 

५.  सियारी गाउँपालिकाको भू उपयोग नीति बनाइ कृषि क्षेत्र, आवास क्षेत्र,ब्यापारिक एवं औद्योगिक क्षेत्र, होटल ब्यवसाय क्षेत्रको रूपमा वर्गीकरण गरी ब्यवस्थित र सुन्दर पालिका बनाइने छ ।

६. आफ्नै घर प्रयोजनका लागि माटो चाहिएमा निःशुल्क रुपमा आफ्नो खेतबाट लैजानका लागि अनुमति प्रदान गरिने व्यवस्था मिलाइनेछ ।

७. नया निर्माण गर्ने घर तथा भवनहरुले अनिवार्य रुपमा सडक मापदण्ड अनुसारको क्षेत्र छोडी निर्माण गर्नुपर्ने नीति लिइने छ।

८. शहरोन्मुख क्षेत्र तथा पानी निकासको समस्या भएका वस्तिहरुमा नाली तथा ढल निकासको व्यवस्था गर्दै जाने नीति लिइने छ।

(ख)  सडक, पुल तथा यातायात व्यवस्था

१. विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ । सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिनेछ । 

२. सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ ।सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ ।

३. सडकको क्षेत्राधिकार (चौडाई) पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुँदा सबै नागरिकहरुलाई सकारात्क सोँच, भावना र विचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिइएको छ। विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्वन गरिनेछ । 

४. गाउँपालिका क्षेत्रभित्र सडक सञ्जाल निर्माणका लागि सडक गूरुयोजना तयार गरी व्यवस्थित र योजनाबद्ध तरीकाले स्तरीय सडक सञ्जाल निमार्ण गरिने नीति अनुसरण गरिनेछ । 

५. शुद्धोधन गा.पा को सियाभार क्षेत्रवाट सुरुभइ लगभग सियारी गा.पा को मध्यभाग हुँदै दानव नदीमा मिसिने सियारी खोलाको गा.पा भित्रको खण्डको दुवैतर्फ २ लेन सडक , फुलवारी, जंगहत्था सामुदायिक वनक्षेत्र र गुम्वा सहितको संरचना तथा सोहि ठाउँको सिंचाइ ड्यामको प्रयोग गरि बोटिङ संचालन सहितको सियारी खोला पर्यटन कोरिडोरलाई सियारी गौरवको योजनाको रुपमा घोषणा गरी सकिएकोले सर्भे, डिजाइन तथा डि.पि.आर तयार गरि गा.पा , प्रदेश तथा संघिय सरकार समेतको सहयोगमा स्रोत सुनिश्चित गरि निर्माण प्रक्रिया अगाडी बढाइने छ।

६. कुट्टा, अमवा , बनघुसरी , छपिया हुँदै कुट्टासम्म डवल लेन तथा दुवैतर्फ नाली तथा ढल निकास सहित सियारी चक्रपथ विस्तार गरिने छ ।भविस्यमा वडा नं २ को मनोहरापुर , सोनारेत , मधुवन हुँदै अमवा पुल आउने सडकलाई समेत चक्रपथ बिस्तारमा समावेश गरी सियारी गाउँपालिकाका सातवटै वडाहरुलाई चक्रपथसँग जोड्ने कार्य गरिने छ।       

७. मर्मत सम्भार कोषको व्यवस्था गरी मौसम तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा ग्रामीण सडकहरुको तत्काल मर्मत सम्भारको व्यवस्था गरिनेछ । 

८. सबै वडालाई सडक संजालमा जोडी बाह्रै महिना चल्ने कालो पत्रे वा ग्रावेल सडक निर्माण गरिने नीति लिइने छ ।

९. संघीय सरकार र प्रदेशसरकारसँगको सहकार्यमा सञ्चालन हुने योजनाको लागि समपुरक कोषमा प्रर्याप्त रकमको ब्यवस्था गरिनेछ ।

१०. संघ, प्रदेशसँग समन्वयको आधारमा स्थानीय सरकार सञ्चालन हुनेछ । ठूला तथा मझौला योजनाहरु संघ र प्रदेश सरकारको सहयोगमा सञ्चालन गर्न विशेष पहल गरिनेछ ।

११. बजार उन्मुखचोकहरुमा शहरी पूर्वाधार निर्माण गरिनेछ । बजार क्षेत्रमा सडक बत्ति तथा सि.सि.टि.भि क्यामेरा जडान गरि नागरिकको सुरक्षालाई विशेष जोड दिइने छ ।

१२. भैरहवा लुम्विनी सडकको विश्वकर्मा मन्दिर हुँदै सियारी गा.पा. छपिया बजार, सुर्यपुरा हुँदै कपिलवस्तुको महाराजगंज शिवराज नगरपालिका हुँदै प्रदेश राजधानी भालुवाङ्ग जोड्ने २ लेनको छोटो तथा बैकल्पिक सडक निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग विशेष पहल गरिने छ ।

(ग)  जलस्रोत,विद्युत तथा स्वच्छ उर्जा

१. विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र वस्तीहरुमा विद्युतीय सेवा पुर्याउने नीति लिइनेछ । 

२. वैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो सियारी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

३. गुइठा तथा दाउरा विस्थापन गर्ने तथा विद्युत उर्जा खपत बढाउने नीति लिइने छ।

(घ)  सूचना तथा सञ्चार प्रविधि विकास

१. सूचना तथा सञ्चार प्रविधि विकासमा प्राथमिकता दिँदै सबै सेवाहरू सूचना प्रविधि मैत्री बनाउँदै लगिने नीति अवलम्वन गरिनेछ ।

२. गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा तथा इकाईहरू, स्वाथ्य संस्थाहरूको सेवा प्रवाहलाई सूचना-प्रविधिमैत्री बनाउदै लगिनेछ । सबै कर्मचारीहरुलाई कम्प्यूटरको आधारभूत ज्ञान र सीपको विकास गराईनेछ ।

३. गाउँपालिकाको हरेक वडाको कार्यसम्पादन लाई विद्युतीयमाध्यमबाट सञ्चालन गरिनेछ । प्रत्येक वडामा विद्युत र ईन्टरनेट सुविधालाई व्यवस्थित गरिनेछ । 

(४) वन, वातावरण तथा विपद् व्यवस्थापन 

  (क)  वन, हरियाली र जैविक विविधता

१. बेलबास-बेथरी सडक नहरको दायाँबाँया विभिन्न जातका बोटविरुवा वृक्षारोपण गरी सुन्दरीकरण गरीनेछ । 

२. नेपाल सरकार र प्रदेश सरकारसगँको सहयोगमा “एक स्थानीय तहःएक नमूना कृषि वन” कार्यक्रम सञ्चालन गरिनेछ । नदी उकास क्षेत्र, सार्वजनिक तथा निजी जमिन, खोलाकिनारा लगायत खाली क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिनेछ । 

३. हरियो सियारी कार्यक्रमलाई शुरुवात गर्न आधुनिक नर्सरी स्थापनामा जोड दिई सार्वजनिक जग्गा, ऐतिहासिक स्थलहरु,नदी किनार, नदी उकास, नहर तथा सडक किनारा तथा निजी जग्गामा वृक्षारोपण कार्यक्रम संचालन गर्न प्रोत्साहन गरिनेछ  यसबाट रोजगारीको सृजना हुनुका साथै वातावरण संरक्षणमा सघाउ पुग्नेछ। 

४. जलवायु परिवतर्नका असरहरुलाई न्युनिकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै वातावरण संरक्षण गर्ने नीति अवलम्वन गरिनेछ । 

५. गाउँपालिकाको प्रत्येक वडाहरुमा क्रमशः बाल उद्यान पार्क निर्माण गरिदैं लगिने छ । 

(ख) भू-संरक्षण र जलाधार व्यवस्थापन

१. भू–संरक्षण र जलाधार व्यवस्थापन गरी सार्वजनिक पोखरी, नदी किनाराको तटबन्ध तथा दानव र तिनाउ नदी साथै सियारी खोलामा भरपर्दो तटबन्धको लागि संघ र प्रदेशसंग समन्वय गरी व्यवस्थित बनाउँदै लगिने नीति अवलम्वन गरिनेछ ।

२. एक गाउँ , एक पोखरी नीति अनुरुपको कार्यक्रम लाई कार्यान्वयन गरिनेछ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुराना पोखरीहरुको संरक्षण, सम्वर्द्धन तथा सुन्दरीकरण गर्ने नीति अपनाइनेछ । ति पोखरी हरु मार्फत पोखरी सिंचाइ योजना संचालन गरिने छ।

३. गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको संरक्षण र सम्वर्द्धनका लागि योजना बनाई सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपणका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ । 

(ग)  वातावरण तथा फोहोरमैला व्यवस्थापन

१. वातावरण तथा फोहोरमैला ब्यबस्थापनको लागि टोल विकास संस्थाहरुसँग सहकार्य गर्ने नीति अवलम्वन गरिनेछ । 

२. ‘मेरो टोल मैले नै सफा राख्छु’भन्ने अभियानका साथ टोल विकास संस्थाको सकृयतामा सुन्दर सियारीको पहिचान दिने गरी फोहरमैला ब्यवस्थापन  गरिने छ ।

३. फोहरमैला व्यवस्थापनको लागि सम्भाव्यता अध्यनन गरी उपयुक्त स्थानको पहिचान गरी क्रमशः व्यवस्थित रुपमा कार्वान्वयन गर्दै लगिनेछ  ।

४. स्थानीयस्तरबाट उत्सर्जन हुने फोहोरमैला, प्रदुषण न्युनीकरण तथा ढल निकासको उचित व्यवस्थापन गरिने   छ ।

५. घरभित्रैबाट फोहरको वर्गिकरण गर्ने नीति अवलम्वन गरिने छ। छिमेकी स्थानीय तहसंगको सहकार्यमा फोहर विसर्जन गर्ने ठाउ व्यवस्थापन लगायतका कार्यका लागी पहल गरिने छ।

(घ)    विपद् व्यवस्थापन तथा जलबायु उत्थानशिलता

१. छिमेकी नगरपालिका/गाउँपालिकासँग साझेदारीमा वारुण यन्त्रको व्यवस्थापन तथा सञ्चालन गरिनेछ । 

२. संघ,प्रदेश,जिल्ला र अन्तर स्थानीय तह तथा सहयोगी संस्थाहरूको समन्वयमा विपद् जोखिम न्यूनीकरण तथा विपद प्रतिकार्य योजना परिमार्जन गरी विपद्को खोज उद्धार तथा राहतका लागी विपद् व्यवस्थापन सामग्रीको सुनिश्चित गरिनेछ । आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गरिने छ । 

३. विपदहरुको रोकथाम तथा न्यूननीकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद\व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्थापन गरी प्रभावकारी रुपमा विपदको व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ। रेडक्रस , विद्यालय , संघ-संस्था तथा नदिछेउँ बस्ने नागरिकका लागि विपद प्रतिकार्य तालिम प्रदान गरिने छ।

४. पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद\जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गर्ने व्यवस्था मिलाइनेछ । 

५. नदीजन्य पदार्थको उपभोग गर्दा आवश्यकता अनुसार EIAतथाIEEगराई मापदण्डको परिपालना गर्ने गराउने नीति लिईनेछ र नदी किनारामा वृक्षारोपण तथा तटबन्ध गरिनेछ।

६.  गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन रणनीतिक प्रतिकार्य योजना तर्जुमा गरि विपद् न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ । 

७. स्थानीय तथा पर्यावरण संरक्षण, जलवायु परिवर्तन न्युनीकरण तथा जलवायुजन्य जोखिम कम गर्न स्थानीय अनुकुलन कार्य योजना निर्माण तथा कार्यान्वयन गरिने छ ।

(५) सुशासन तथा संस्थागत विकास 

(क)    स्थानीय सेवा तथा जनशक्ति ब्यबस्थापन

१. गाउँपालिका, वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै मुस्कान सहितको सेवा प्रवाह गर्न अभिप्रेरित गरिनेछ ।‍औचित्य र आवश्यकता अनुसार जिम्मेवारीमा हेरफेर गरी सबैलाई सबै काम गर्न सक्ने गरी सक्षम बनाईनेछ । 

२. निर्वाचित जनप्रतिनिधि एवं कर्मचारीहरुको क्षमता विकासका लागि क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने नीति लिइनेछ । त्यसका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई  अनुरोध गरिनेछ । 

३. सबै कर्मचारीहरुको कार्य विवरण,काम,कर्तब्य र अधिकार तथा कार्य सम्पादन सम्झौता, जिम्मेवारीमा हेरफेर गर्ने  लगायतका विषयमा कार्यविधि बनाई कार्यान्वयन गरिने छ ।साविकको स्थानीय निकायमा स्थायी नियुक्ति पाई हाल यस गाउँपालिकामा समायोजन भएका कर्मचारीहरुको बृत्ति विकासको लागि आवश्यक कानून बनाई लागु गरिनेछ ।

४. कर्मचारी र राजनीति वीचको अन्तरसम्बन्धलाई सेवाप्रवाहसँग आवद्ध गरिनेछ। अन्तरसम्बन्धलाई  ब्यवस्थित गर्न जनप्रतिनिधीहरु र कर्मचारीहरूको काम कर्तब्य र अधिकारलाई अहस्तक्षेपकारी तरीकाले समन्वयात्मक ढङ्गबाट गर्ने नीति अबलम्वन गरिनेछ ।

५. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गरि व्यवस्थित र अद्यावधिक गरिने कार्यलाई निरन्तरता दिइनेछ । 

६. नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।

७. गाउँपालिका तथा वडामा सञ्चालन हुने सबै बैठक तथा कार्यक्रमहरु व्यवस्थित तथा मर्यादित रुपले सञ्चालन गरिनेछ । 

८. जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिनका लागि जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता जस्ता पञ्जिकरण तथा बैंकमा जान नसक्ने अति अशक्तको लागि बैंकसँगको सहयोगमा सामाजिक सुरक्षा भत्ताको घरमै सेवा पुर्याउने व्यवस्था मिलाइनेछ ।

९. गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र भित्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगर प्रहरीको व्यवस्था गर्ने नीति लिइनेछ ।

(ख)  सङ्गठन तथा क्षमता विकास

१. उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिनेछ । उपभोक्ता समिति तथा अन्य विभिन्न संघ संस्थाद्धारा सञ्चालन गरिने कार्यक्रमहरुमा स्वीकृत लागत अनुमान बमोजिम नगदमा आधारित जन-सहभागितालाई जोड दिदै लगिनेछ । खरिद विधिको पालना गर्न अभिप्रेरित गरिनेछ । 

२. स्थानीय तह संस्थागत क्षमता  स्वःमूल्याङ्कन (LISA) कार्यविधीले निर्दिष्ट गरेका बिषयक्षेत्रहरु, सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्वयन गरी सियारी गाउँपालिकालाई उत्कृष्ट तथा सवल गाउँपालिकाको रुपमा स्थापित गरिनेछ । 

३. कर्मचारीलाई उच्च मनोवलका साथ कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्न पुरस्कार र सम्मानको ब्यवस्था गरिनेछ । साथै कार्यबोझ तथा कार्यसम्पादन सुचकका आधारमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति लिइने छ।

४. गाउँपालिका र अन्तर्गतको वर्तमान संगठन संरचनालाई आवश्यकता र औचित्यको आधारमा परिमार्जन गरि नयाँ संगठन संरचना निर्माण गरि सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । 

५.  गाउँपालिकाको हित र विकासको लागि अहोरात्र खटिने कर्मचारीहकरुको वृत्ति र नविन सिकाइ अनुकरणका लागि आन्तरिक पर्यटन काजलाई निरन्तरता दिइनेछ ।                            

(ग)  राजस्व तथा श्रोत परिचालन

गाउँपालिकाले राजश्व परिचालन सम्वन्धमा निम्न निति अवलम्वन गर्नेछः-

१. करको दरभन्दा दायरा विस्तारलाई प्राथमिकता दिई करधारलाई थप फराकिलो बनाउदै लगिने छ। आ.व ०७९/८० लाई “कर सहभागिताको वर्ष” घोषणा गरि अधिकतम करदातालाई करको दायरामा ल्याइने छ ।

२. राजश्व संकलनका लागी आवश्यक जनशक्ती परिचालन गरी करदातालाई सहज रुपमा कर तिर्ने वातावरण निर्माण गरिने छ।

३.  करदाताको सुविधालाई मध्यनजर गरी अनलाईन माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरिने छ।

४. करदाताले तिरेको करको मुल्याङ्कन गरी नियमित कर तिर्ने करदातालाई प्रत्यक्ष रुपमा थप सेवा सुविधा संग जोड्दै जाने नीति लिइने छ। साथै असल तथा उत्कृष्ट करदातालाई सम्मान गर्ने नीति लिइने छ।

५. सार्वजनिक सेवा र राजश्वबीच तादाम्यता कायम गर्दै कर नतिर्ने संस्था वा व्यक्तीलाई कर तिर्ने वातावरणको श्रृजना गरिने छ। 

६. नदीजन्य पदार्थ चोरी निकासी पैठारी तथा अवैध उत्खनन रोकथामका लागि विशेष रणनीति अपानाइनेछ । 

७. मैले तिरेको कर मेरै सियारीको विकासका लागी हो भन्ने अनुभुति सहित करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।

८. कर संकलनका लागी गाउँपालिकाका विभिन्न ठाउँहरुमा घुम्ती शिविरहरु सञ्चालन गरिने छ।

९. प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापनगरी आन्तरिक राजस्व बढाउने तथा करका दायराहरुबढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिने छ।

१०. राजवश्व वृद्धिका लागि नदीजन्य पदार्थ उत्खनन विक्री तथा वितरण लगायतमा छिमेकी पालिककाहरूसँग समन्वय गरी ब्यवस्थित गरिनुको साथै मेसिनको प्रयोगलाई निरूत्साहित गरिने छ।

११. महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, कृषक, अपाङ्गता भएका व्यक्ति लगायतका नागरिकहरुलाई सम्मान गर्दै तोकिएका विषयमा सिफारिस दस्तुर छुट दिने नीति अवलम्वन गरिनेछ । 

(घ)  तथ्यांक प्रणाली तथा योजना र विकास व्यवस्थापन

१. गुरुयोजनाको बिस्तृत अध्ययन, छलफल र आवश्यक परिमार्जन गरी योजनाबद्धरुपमा अगाडी बढ्ने गरी कार्य अगाडी बढाउने नीति अवलम्वन गरिनेछ ।  । 

२. नेपाल सरकारको पन्ध्रौ योजना र प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको सोच, कार्यक्रम, लक्ष्य र उद्धेश्यसँग सामाञ्जस्यता कायमहुने गरी तयारीको क्रममा रहेको सियारी गाउँपालिकाको प्रथम पञ्चवर्षीय योजना तयार गरी योजनाबद्धरुपमा विकास प्रक्रियालाई अगाडी बढाउने नीति अवलम्वन गरिनेछ । योजना र वार्षिक कार्यक्रमलाई सामाञ्जस्यता कायम गर्न मध्यम कालिन खर्च संरचनाको प्रयोग गरिनेछ । 

३. विकास निर्माण तथा कार्यक्रममा साझेदार संस्थाहरु गैरसरकारी संस्थाहरुसँग  सहयोग समन्वय र सहजीकरण गरिनेछ । 

४. आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइनेछ । 

५. आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन जोड दिइनेछ ।अनुगमन प्रणालीलाई स्वचालित तथा प्रभावकारी वनाइने छ। असार महिनामा अत्यधिक पूँजिगत खर्च हुने परिपाटिको अन्त्य गर्न वार्षिक खरिद योजना तथा कार्य-योजना बनाई कार्यान्वयन गरिने छ।

६. दिगो विकासका लक्ष्यहरु, लैङ्गिक सवालहरु , वातावरणिय सवालहरु , वालवालिकाका सवालहरुलाई मध्यनजर गर्दै योजना तथा कार्यक्रम तर्जुमा गर्ने नीति अवलम्वन गरिनेछ । 

७. गाउँपालिकाको समग्र हित र विकास व्यवस्थापनका लागि समय समयमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका ज्येष्ठ नागरिक, सामाजिक, राजनीतिक व्याक्तित्व, समाजसेवी उद्योगी, शिक्षाप्रेमी लगायत महत्वपूर्ण व्यक्तित्वहरुलाई सम्मान गर्ने नीति अवलम्वन गरिनेछ । 

(ङ)    नीति, कानून, न्याय तथा सुशासन

१. गाउँपालिकामा हाल सम्म तर्जुमा भएका स्थानीयकानूनहरुको पालना गर्नु गराउनुका साथै ‍औचीत्यका आधारमा संशोधन तथा परिमार्जन गरिनेछ । संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार कार्यान्वयन गर्न आवश्यक पर्ने थप कानूनहरु ६ महिनाभित्र निर्माण गरिने छ । कानूनहरूको कार्यान्वयन गरी / गराई विधिको शासन अवलम्वन गरी सुशासन युक्त स्थानीय तहका रुपमा सियारी गाउँपालिकालाई स्थापित गरिने छ ।

२. सेवाग्राहीको सुविधाका लागि  सवै वडा कार्यालय तथा गाउँपालिकाभित्र हेल्प डेस्क   ( सहयोगी कक्ष) को व्यवस्था गरिने छ।

३. जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई निष्पक्ष, व्यवस्थित विश्वासयोग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ । सबै वडामा मेलमिलाप केन्द्रलाई क्रियाशिल बनाइनेछ । 

४. सियारी गाउँपालिकाद्वारा निर्मित मेलमिलाप सम्बन्धीकार्यविधीलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी न्याय सम्पादन कार्यलाई व्यवस्थित गरिनेछ । 

५. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि कार्य गरिनेछ।

६. सशस्त्र प्रहरीवल अमुवाको भवन तथा संरचना अत्यन्त साँघुरो तथा वस्तिभित्र रहेकाले उपयुक्त स्थान छनौट गरि स्थानान्तरण गर्न जिल्ला सुरक्षा परिषदलाई सिफरिस गरिने छ।

७. अनुत्पादक खर्चहरु कटौती गर्ने नीति अवलम्बन गरिनेछ। खरिद प्रकृयालाई पारदर्शी, प्रतिस्पर्धी एवं मितव्ययी बनाउनका  लागि सार्वजनिक खर्चमा मितव्ययीता सम्बन्धी निर्देशिका पालना गरिनेछ ।विद्युतीय बोलपत्रको अनुसरण गरिनेछ । 

८. भ्रष्टाचारमुक्त स्थानीय तहका रुपमा सियारी गाउँपालिकालाई स्थापित गरिने छ ।

९. सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ । 

१०. गुनासो सुनुवाई इकाईको व्यवस्था गरी जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ ।‌

११. सरकारी कार्य प्रणालीमा पार्दशिता र जवाफदेहिता अभिवृद्धि गरी सुशासन कायम गरिनेछ, वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु फछयौर्टलाई अभियानकोरुपमा सञ्चालन गरिनेछ ।