बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत् उद्योग

प्रशारण लाइन र बस्तीका तार सुरक्षित गर्न सकिने

मेचीकाली संवाददाता

१६ असार २०७९, बिहीबार
660 shares

अमृत गिरी
बुटवल । विद्युतका नाङ्गा (खुला) र गुणस्तरहीन तारबाट मानव बस्ती र वन्यजन्तुसमेत जोखिममा परेका तथा भवितब्यका कैयन् दुर्घटना हुँदै आएका छन् । विश्वका धेरैजसो मुलुकमा विद्युतीय सुरक्षालाई प्राथमिकतामा राखेर प्रशारण लाइन र संरचना निर्माण भएपनि तर, हामीकहाँ भने बल्ल आवाज उठ्ने र कतैकतै काम सुरु भएको अवस्था छ ।

‘श्रमतीसँगको झगडाले सनक चढेपछि विद्युत् प्रशारण लाइनमा चढेर तारैतार हिँड्दा प्राधिकरणलाई हालै करोडौँको नोक्सानी भयो । विद्युत्का खुला र कमसल तारले सिङ्गो बस्ती नै जोखिममा रहेका, कतैकतै तार झरेर जमिनमै करेन्ट प्रवाह हुँदा मानवीय क्षति भएका, छतमा कपडा सुकाउँदा विद्युतका खुला तारमा कपडा छोइँदा करेन्ट लागेर मानवीय क्षति भएका, वन्यजन्तु वारपार गर्दा तारमा छोइँदा जनावर मारिएका’ दुखद घटनाका समाचार मिडियामा प्राथिमकताका साथ आउने गरेका छन् ।

बस्तीमा तानिएका र प्रशारण लाइनमा तानिएका विद्युत्का खुला तारलाई सुरक्षित बनाउने उपाय अपनाउन थालिएको छ । विद्युत् प्राधिकरणले नयाँ प्रविधि जडित उद्योगसँगको सहकार्यमा यस्ता उपाय अपनाउन थालेको हो । विद्युतीय सुरक्षा उपाय अपनाउँदै जर्मन प्रविधिबाट एरीया बण्डल (एबी) केबल नामको सुरक्षित तारको उत्पादन बुटवलमै सुरु भएको छ ।

मुलुककै अग्रणी तथा ठूलो उद्योगका रुपमा बुटवल औद्योगिक क्षेत्रमा रहेको लुम्बिनी विद्युत् उद्योग प्रालिले जर्मन प्रविधिमा आधारित ‘एबी’ केबलको व्यवसायिक उत्पादन गरिरहेको छ । विद्युत्को तारलाई बाहिरबाट सुरक्षित तरिकाले कुचालकले कभर गरिएको छ । यसो भएपछि तार छोइँदा वा दुर्घटना हुँदा तारबाट बाहिर करेन्ट प्रवाह हुन पाउँदैन । उक्त उद्योगले हालै नयाँ संरचनाको विकास गरी सुरक्षित तारको व्यवसायिक उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ । सुरक्षित तथा गुणस्तरी तारको उत्पादनका लागि जर्मन प्रविधिका नयाँ र आधुनिक प्लान्ट जडान गरेको छ । जुन उद्योगमा वर्षेनी झण्डै ७२ हजार किलोमिटरको सुरक्षित र गुणस्तरीय तार उत्पादन गर्ने क्षमताका अत्याधुनिक जर्मन प्रविधिका प्लान्ट जडान भएका छन् ।

जर्मन प्रविधिको प्लान्टबाट विद्युत् ग्रीडबाट बस्तीमा वितरण हुने, सहरी क्षेत्रमा रहेका र ठूला भौतिक संरचना निर्माणका लागि प्रयोग हुने विद्युत्का सबै किसिमका सुरक्षित र गुणस्तरीय तारको उत्पादन गर्ने मुलुककै पहिलो र ठूलो उद्योग हो ।
वर्षेनी हजारौं किलोमिटरको एबी केबल तार उत्पादन भइरहेको छ । नेपालमा हाल प्रयोग हुने विद्युत्को तारको मागभन्दा पनि धेरैलाई थेग्ने र निर्यातसमेत गर्न सकिने गरी गुणस्तरीय एबी केबल तारको उत्पादन गर्दै आएको उद्योगका अध्यक्ष रोहित गुप्ताको भनाइ छ । केबुलको स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र नेपालमा भएको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र निर्यातको समेत लक्ष्यका साथ गुणस्तरीय सामग्रीको उत्पादन गरिएको अध्यक्ष गुप्ताले बताए ।

शिव शर्मा, उत्पादन प्रमुख लुम्बिनी विद्युत उद्योग

देशमा हाइड्रोइलेक्ट्रीसिटिको उत्पादन बढिरहेको र उक्त उत्पादनलाई उपभोक्ताको तह सम्म पुर्याउन ट्रन्स्मिसन लाइनको लागि आवश्यक बिभिन्न किसिमका तारहरु उत्पादन गरिरहेको यस उद्योगले आयतलाई प्रतिस्थापन गर्ने र स्वदेशि गुणस्तरिय तारहरुबाट देशलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको छ । जसले गर्दा बिदेशी मुद्रा सञचितिको कमीलगायतका कारणले चरम आर्थिक संकट उत्पन्न हुने खतरा छ । यस्ता संकट समाधानको लागि पनि निर्यातको लक्ष्य लिएर उत्पादन सुरु गरेको यस उद्योगको लक्ष्य एउटा कोशेढुङा सावित हुनसक्नेछ ।

सन् १९७७ मा स्थापित बुटवल औद्योगिक क्षेत्रमा रहेको नेपालको पहिलो र ठूलो अल्मोनियम कन्डक्टर स्टिल रिइनफोर्स (एसीएसआर) कन्डक्टर निर्माण कम्पनीका रुपमा लुम्बिनी विद्युत् उद्योगलाई लिइन्छ । दुई विगाहा क्षेत्रफलमा करिब ४० करोड लगानीमा खुलेको उद्योगमा अहिले नयाँ–नयाँ प्लान्टको समेत निर्माण भइरहेको छ ।
यस उद्योगले भारत, यूएई र अस्ट्रियाबाट आवश्यक कच्चा पदार्थ ल्याइरहेको छ । युएईबाट तामा, भारतबाट अल्मुनियम र अस्ट्रियाबाट इन्सुलेशन कभरको आयात गर्दै आएको उद्योगका उत्पादन प्रमुख शिव शर्माले जानकारी दिए । विद्युत् प्राधिकरणसँगको सहकार्यमा अहिले ४८०० किमिको प्रशारण लाइनमा यहीँ नयाँ प्रविधिको तारको प्रयोग भइरहेको उल्लेख गर्दै उत्पादन प्रमुख शर्माले विद्युत् तारको सुरक्षा र गुणस्तरलाई अहिले पहिलो प्राथमिकतकामा राखेर काम भइरहेको बताए । विद्युत्को ठूलो मानिएको ४०० केभीएको प्रशारण लाइनमा पनि यहीँ प्रविधिको तारको प्रयोग भइरहेको बताइएको छ ।

जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरु जडान गरेर उत्पादन गर्न थालेपछि एबी केबुलको मागसमेत बढेको र बस्ती सुरक्षित पार्न यसलाई अपनाउन जरुरी रहेको उद्योगको दाबी छ । लुम्बिनी विद्युत् उद्योग प्रालिले भारतीय प्रतिष्ठित कम्पनी गुप्ता पावरसँगको सहकार्यमा १२५०० किमीको प्रशारण लाइनमा समेत यहीँ तारको प्रयोग गर्नेगरी नयाँ प्रक्रिया अगाडि बढाएको उत्पादन प्रमुख शर्माले बताए ।
विद्युत्सम्बन्धी सबैजसो कामका प्रयोग हुने गुणस्तरीय तारको उत्पादनकै कारण बुटवलमा रहेको उद्योगको पहिचान अन्तर्राष्ट्रियस्तरमा फैलिएको र धेरैतिरबाट चासो लिनेको संख्या बढेको उद्योगका मानव संसाधन विभाग प्रमुख (एचआर हेड) भुवन गिरीको भनाइ छ । यस उद्योगमा दक्ष कामदारसहित करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने नयाँ विस्तार भइरहेको ठाउँका लागि उत्तिकै संख्यामा नयाँ कामदारको खाँचो पर्ने एचआर विभाग प्रमुख गिरीले बताए ।

आन्तरिक प्रसारण प्रणाली सुधार र औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागिसमेत सहयोगी हुने तारको उत्पादन भइरहेको र संगसंगै माग पनि बढिरहेको गिरीको भनाइ छ । उद्योगले नाफा कमाउने मात्रै नभई मानवीय र सामाजिक सेवा भावले समेत काम गर्दै आएको बताउँदै पछिल्लो उत्पादन त्यसैको एउटा दृष्टान्त रहेको गिरीले दाबी गरे । उद्योगले कोरोना कहरमा विभिन्न ठाउँमा सञ्चालित कोरोना विशेष अस्पतालमा निशुल्क अक्सिजन सिलिण्डरसमेत हस्तान्तरण गरेको थियो ।