‘टेस्ट राइड’ गर्न निस्किएका युवक मोटरसाइकल लिएर फरार भएपछि…

मेचीकाली संवाददाता

१६ असार २०७९, बिहीबार
285 shares

रमेश पराजुली
बुटवल । कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षण गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै हुन्छ । रुपन्देहीमा यसैगरी ‘टेष्ट राइड’ गर्ने भन्दै भिआर मोटरसाइकल लिएर फरार भएका एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सनामैना नगरपालिका–८ रामापुरबाट मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना–८ का १८ वर्षीय युवकलाई फरार भएको २ दिनपछि प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो । ती युवालाई रुपन्देहीकै कञ्चन गाँउपालिका–१ को रातडाँडाबाट पक्राउ गरिएको सालझण्डी प्रहरीले जनाएको छ ।

यसरी भयो घटना
रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक गत सोमबार बिहान आफ्नै मोटरसाइकलमार्फत काठमाडौं जान भनेर दाङबाट बुटवलतर्फ आउँदै थिए ।
रुपन्देहीको सनामैना नगरपालिका–८ रामापुरमा आएपछि मोटरसाइकल धनी विकले बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल सडक छेउमा रोकी नजिकैको पसलमा चिया पिउने भन्दै पसे । उनी त्यहा आउँदा बिहानको साढे १० बजेको थियो । उनी पसलमा बसेको एकैछिनमा एक अपरिचित स्थानीयजस्तो देखिने युवक उनको छेउमा आई कस्तो राम्रो मोटरसाइकल तपाँईंको, मलाई त खुब मन प¥यो भनी मोटरसाइकल मुसार्न थाले ।

मोटरसाइकल धनी विकले पनि मोटरसाइकल बिक्री गर्ने सोँच बनाएका थिए । उनले केहीदिन पहिला मात्र आफ्नो फेसबुकमा मोटरसाइकल बिक्रीमा रहेको भनी मोटरसाइकलको फोटोसहित १ लाख मूल्यसमेत तोकेर पोष्ट गरेका थिए । विदेश जाने योजना बनाएका उनी पासपोर्टसम्बन्धी कामका लागि काठमाडौँ जान हिँडेका थिए । ती युवाले आफूलाई मोटरसाइकल एकदम मन परेको र किन्ने बताएपछि विक र ती युवाबिच ९० हजार मूल्य तयगरी मोटरसाइकल किनबेच गर्ने सहमति भयो ।

विकको मोटरसाइकल किन्न तयार भएका ती युवकले खै कस्तो रहेछ भन्दै ‘टेस्ट राइड’ गर्न भनी चाबि मागे र स्टार्ट गरी त्यहाँबाट निस्किए । तर, केही समय कुर्दापनि उनी फर्किएर आएनन् । नफर्किएपछि काठमाडौं हिँडेका विकले आफ्नो मोटरसाइकल चोरी भएको शंका गरे । अलमलमा परेका उनलाई चिया पसलेले मोटरसाइकल चोरी भएको सूचना प्रहरीलाई दिन सुझाव दिए ।
त्यसपछि उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण उल्लेख गरी निवेदन दिए । पीडित विकको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले दुई दिनपछि बुधबार ती युवकलाई मोटरसाइकलसहित पक्राउ गर्न सफल भयो ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल कञ्चन गाँउपालिका–१ रातडाँडास्थित भित्री सडकमा चलाइरहेकै अवस्थामा ती युवालाई पक्राउ गरेको हो । पक्राउ परेका युवकलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।