विकासका काममा राजनीति नगरौँः उपाध्यक्ष पौडेल

मेचीकाली संवाददाता

२१ असार २०७९, मंगलवार
477 shares

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् । कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अबरोध हुन नहुने उनले बताएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदी स्थित कर्साघाटमा निर्माण सम्पन्न भएको पुलको सोमबार उद्घाटन गर्दै नेता पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति गरेर निर्माण सम्पन्न हुन लागेका योजनालाई बिथोल्न नहुने बताए । निर्माण सम्पन्न भएका योजनामा जस लिने नाममा स्थानीयमा अनावश्यक भ्रम सिर्जना गरेर अलमलमा पारेको भन्दै पौडेलले विकासे योजनामा अनावश्यक राजनीति नगर्न आग्रह गरे ।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले बुटवलको तिनाउ–दानव करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजा बनाएको दाबी गरे ।
पौडेलले विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । तिनाउ–दानव नदी करिडोरको विषयमा जनतालाई भ्रम सिर्जना गर्ने काम भएको बताउँदै उनले उक्त करिडोर निर्माणमा अबरोध भएकोप्रति चिन्ता व्यक्त गरे । ‘करिडोरमा नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने हो, किनारमा बसेकाहरुलाई जबर्जस्त हटाउने हैन, अझ राम्रो ठाउँमा पूर्बाधार विकास गरेर स्थानान्तरण गर्ने हो ।’ सञ्चारकर्मीहरुलाई समेत सही सूचना सम्प्रेसण गर्न आग्रह गर्दै पौडेलले भने ।

‘दुवै किनारमा करिडोर बनाउँदा यो ठाउँ कहाँ पुग्ला ? तँपाईंहरू कल्पना गर्नुस्,’उनले प्रश्न गरे । विकासको कुरा गर्दा रूपन्देही जिल्ला मात्र नभई सिङ्गो लुम्बिनी प्रदेशनै अब्बल भएको दाबी गर्दै विकासको मोडल हेर्न आउनेहरूका लागि रूपन्देही मानक बनेको समेत दाबी गरे ।
पौडेलले यस क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भएको, तिनाउमा सिग्नेचर ब्रिज निर्माण हुने, बुटवल–गोरूसिङ्गेसम्मको सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रको विकासले थप फड्को मार्ने बताए । ‘विकासका प्रश्नमा जनताले साथ दिनुस् हामी पूरा गर्छौँ ।’ पौडेलले भने ।

उनले ५० वर्षपछिको बुटवलको परिकल्पना गरी विकास आयोजना सञ्चालन भइरहेको उल्लेख गर्दै आयोजनालाई समयमा सम्पन्न गराउने काममा नागरिकको साथ र खबरदारीको खाँचो रहेको बताए ।
उक्त पुल निर्माणपछि अब बुटवल–१५ र सैनामैना–१ जोडिएका छन् । पुल बनेपछि किसानहरुले कृषि उपज बटवल बजारसम्म ल्याउन; विद्यार्थीहरू स्कूल, कलेज आउनसमेत सहज भएको छ । पुल नहुँदा सैनामैनाका किसानले उत्पादन गरेको तरकारी बजारमा ल्याउन समेत समस्या थियो ।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गतेदेखि पुल निर्माण थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।
कुल १२७ मिटर लम्बाई र ११ मिटर चौडाईको दानव नदी पुल १३ करोड ९० लाख ३६ हजारको लागतमा निर्माण सम्पन्न भएको पुल ३ वटा स्यालबमा पाइल फाउण्डेशन प्रविधिमा निर्माण गरिएको छ । पुल निर्माणको लागि अर्घाखाँची बाबुल जेभि रुपन्देहीले २०७४ असार २९ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । कोरोना महामारीका कारण २०७८ पुस ३० गते पुनः म्याद थप गरिएको थियो ।