डिभिजन बन कार्यालय कपिलवस्तुद्धारा बिरुवा बितरण

मेचीकाली संवाददाता

२१ असार २०७९, मंगलवार
408 shares

पार्वती आचार्य
कपिलवस्तु । डिभिजन बन कार्यालय कपिलवस्तुले एक वर्षिय र बहुवर्षिय बिभिन्न प्रजातीको बिरुवाहरु उत्पादन गरी बितरण गरिरहेको छ । बिभिन्न प्रजातिका २ लाख बिरुवाहरु डिभिजन बन कार्यालयको प्रांगण भित्र उत्पादन गरी उपभोक्ता, संघ संस्था र ब्यक्तीलाई बितरण गरिरहेको छ । ‘एक घर २ बृक्षरोपण शहर हाम्रो बनाउन स्वच्छ अभियान’ भन्ने नारा अन्तरर्गत कार्यक्रम संचालन गरिएको डिभिजन बन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

कृषि बन प्रवद्र्धन गर्नकालागि र साँझेदारी र सामुदायिक बनमा अतिक्रमण हटाएका ठाउँमा बृक्ष रोपण गर्ने उद्देश्यले डिभिजन बन कार्यालयको कम्पाउण्ड भित्र नर्शरी निर्माण गरी उत्पादन गरिएका बिभिन्न प्रजातीका बिरुवाहरु बितरण गरी हरियाली बनाउने उद्देश्यले नै बिरुवाहरु उत्पादन गरिएको डिभिजन बन कार्यालय कपिलवस्तुका सुचना अधिकारी मदन मोहन शाण्डिल्यले बताए ।
उत्पादन गरिएका २ लाख बिरुवाहरु मध्ये १ लाख ५० हजार डिभिजन बन कार्यालयको प्रांङ्गण भित्रको नर्शरीमा उत्पादन गरिएको हो । भने ५० हजार बिरुवा बुद्धभूमि नगरपालिका १० स्थित बडहरा सव डिभिजनको नर्शरीमा उत्पादन गरिएको हो । जसमा खयर, सिशौं, टिक, मसला, बकाईनो, कल्कीकुल लगाएतका प्रजातिका १ वर्षे बिरुवाहरु उत्पादन गरिएको छ ।

यस्तै बहुवर्षिय ६० हजार बिरुवाहरु उत्पादन गरिएको छ । टिक (बिउबाट), राजबृक्ष, श्रीखण्ड, गुलमोहर, अमला लगाएतका बिरुवाहरु उत्पादन गरिएको सुचना अधिकारी शाण्डिल्यले बताए । यसैगरी ०७७÷०७८ को बहुवर्षिय ७० हजार बिभिन्न प्रजातिका बिरुवाहरु उत्पादन भएको जानकारी दिंदै जामुन अर्जुन, बिरेन्द्रफुल, निम, असना, बडहर र टिक लगाएतका उत्पादित बिरुवाहरु बितरण भैरहेको बताए ।
यसैगरी कार्यालयले ९ हजार बिभिन्न प्रजातिका फलफुलका बिरुवाहरु खरिद गरेर बितरण गरिरहेको छ । आँप, लिची, कागती, कटहर र अम्बा लगायतका बिरुवाहरु ब्यक्ती, बिभिन्न संघ संस्था र कार्यालयहलाई बितरण गरिएको छ ।

बन क्षेत्रमा भएको करिव १ सय हेक्टर क्षेत्रफल अतिक्रमण हटाईएको र सोको ४० हेक्टर बराबरको क्षेत्रफलमा बृक्ष रोपण गर्ने लक्ष्य रहेको छ । भने ७० हेक्टरको खाली ठाउँ र नदी उकास क्षेत्रमा बृक्ष रोपण गरी हराभरा बनाउने लक्ष्य रहेको डिभिजनल बन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए । बाणगंगा नगरपालिका १० पटना क्षेत्रको अतिक्रमण हटाउन बिगतका बर्ष देखि नै अभियान संचालन गरिएको र यसवर्ष पनि अतिक्रमण हटाउने अभियान जारी रहेको डिभिजनल बन अधिकृत सुवेदीले जानकारी दिए । साथै अतिक्रमण हटाई खाली भएको स्थानमा बृक्ष रोपण गर्दे जाने र बनको संरक्षण गर्ने मुख्य लक्ष्य भएको उनको भनाई छ । डिभिजन बन कार्यालय कपिलवस्तुको प्रांगणमा बहुवर्षिय बिरुवाहरु २ वर्षदेखि उत्पादन गर्दै आएको र १ वर्षिय बिरुवा उत्पादन भने निरन्तर भइरहेको छ ।

यस्तै मायादेवी साँझेदारी बन ब्यवस्थापन समिती पटनाले १ लाख ५० हजार बिभिन्न प्रजातिका बिरुवाहरुको नर्शरी उत्पादन गरेको छ । बिरुवाहरु उपभोक्ताहरुलाई र अतिक्रमण हटाईएको स्थानहरुमा हरियाली बनाउने उद्देश्यले बृक्ष रोपणका लागि बिरुवा उत्पादन गरिएको मायादेवी साँझेदारी बन उपभोक्ता समूहका अध्यक्ष अब्दुल अजिज खाँले बताए ।
निःशुल्क बिरुवाहरु बितरण भएको थाहा पाएपछि महाराजगंज नगरपालिका ९ तेनुवा देखि बिरुवा लिन आएका श्याम सुन्दर कुर्मीले पछिल्लो समयमा डिभिजन बन कार्यालयले आँप, लिचि, कागती र कटहरको बिरुवा बितरण गर्दै आएको बताए । कार्यालयले धनि र गरिवलाई समानन्तर रुपमा हेर्दै नागरिकताको फोटोकपीको आधारमा निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएकोमा धन्यवाद दिए ।

यसैगरी कपिलवस्तु नगरपालिका ३ का खिमलाल रेग्मी र बुद्धभूमि नगरपालिका १० चेतरादेहीका शिव गुलाम कुर्मीले बिभिन्न प्रकारका फलफुलका बिरुवाहरु उपलब्ध गराई निःशुल्क सेवा दिदैं आएकोमा डिभिजन बन कार्यालय कपिलवस्तु तौलिहवालाई धन्यवाद दिए । सिजन अनुसार फल्ने फलफुलहरु आआफ्नो घरघरमा फलाउन सके ताजा फलफुल खान पाईने सेवाग्राहीहरुको भनाई छ ।