चौराहा–गोलपार्क सडक: एक वर्ष म्याद थप्न मिल्नेगरी ऐन संशोधन

छ महिनामा कार्यप्रगति नदेखिए कारबाही हुने

मेचीकाली संवाददाता

२३ असार २०७९, बिहीबार
560 shares


अमृत गिरी
बुटवल, असार २२ । मुलुकको प्रमुख व्यापारिक केन्द्र बुटवलको मुख्य भागको सडक खण्ड लामो समयदेखि अलपत्र छ । अन्तिमपटकका लागि भन्दै थपिएको म्याद सकिन अब करिब ९ दिन मात्रै बाँकी छ र काम सकिने भने झण्डै ८० प्रतिशत बाँकी नै छ ।

ठेक्का सुरु भएलगत्तै अदालतमा मुद्दा परेर दुई वर्ष जति काम रोकियो । त्यसको केही समयपछि कोरोना कहरले काममा केही ढिलाई भयो । तर, निर्माणको जिम्मा पाएको कञ्चनजंघा/विरुवा जेभीले त्यसयताका सहज परिस्थितिमा पनि काम गरेन । झारा टराई जसरी र कागजी प्रक्रिया पूरा गरेजसरी काम गर्दा दोस्रोपटक थपिएको म्यादमा पनि काम पूरा भएन ।

ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप्न मिल्नेगरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ । केही दिनअघि मात्रै आएको सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न मिल्ने छ ।

सर्तअनुसारका काम नगरे कारबाही
तर, त्यसका लागि ठेकेदारले भने जायज कारण खुलाएर निवेदन दिनुपर्ने छ र सोको अध्ययन पछि ३० दिनभित्रमा म्याद थप हुनेछ । निवेदनसँगै छ–छ महिनामा गरिसक्ने कामको सूचीसहितको प्रतिबद्धता पनि जनाउनुपर्ने छ । सोही प्रतिबद्धताअनुसार काम नभएमा बल्ल त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बढाइने आयोजनाका कार्यालय प्रमुख दिपक झाले बताए । दुई वर्षअघि नै सकिनुपर्ने काम ०७९ असार मसान्तसम्म म्याद थप भएको थियो ।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटरको ६ लेन सडक विस्तारको काम ठेकेदारको चरम लापरवाहीकै कारण पटकपटक म्याद थप्दा पनि पूरा भएको छैन । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।

द कञ्चनजङ्घा/ बिरुवा जेभीले ठेक्का पाएको सडक अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिँदैछ । तर सडकको भौतिक प्रगति हालसम्म करिब २६ प्रतिशत मात्रै छ । नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ । केही क्षण घाम लाग्दा धुलाम्य हुने गरेको छ । यो सास्ती झण्डै ६ वर्षदेखि भोग्नुपरेको स्थानीयहरुको गुनासो छ । सडक प्रयोगकर्ता र किनारका व्यापारिक बस्तीले हैरानी र सास्ती ब्यहोर्नुपरेको दुखेसो पोख्छन् ।

चौराहादेखि गोलपार्क सम्मको सडक खण्डमा नाली निर्माण भएपनि त्यसको ढक्कन बनाइएको छैन । नाली निर्मणको काम पूरा भने भएको छैन । सर्भिस लेनको त अत्तोपत्तो नै छैन । सर्भिस लेनमा परेका बिजुलीका तार र पोल हटाइएका छैनन् भने उहिल्यै हटाउन सुरु गरिएका खानेपानीका पाइप पनि हटाएर सकिएको छैन । सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाउन बाँकी रहेको र नाली निर्माणको काम ८० प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयको भनाइ छ ।

सुरुदेखि नै ढिलासुस्ती
सडक विस्तारको योजना सुरु भएर ठेक्का लाग्दा साथ अवरोध भयो । सडक किनारमा रहेका र सडकको क्षेत्राधिकारमा रहेका घरधनीले मुद्दा मामिला गरेर निर्माणको काम रोक्न लगाए । २०७६ असोजमा पूरा गर्ने गरी सम्झौता भएकोमा सडकको ८२ फुट क्षेत्रभित्र घर परेका घरधनीले अदालतमा मुद्दा हालेपछि २ वर्ष काम रोकिएको थियो ।

२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भनि म्याद थप्न निवेदन दियो । निवेदनअनुसारै दोस्रो पटक म्याद थप भयो । २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको थियो । व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख झाले कार्यालय र सरोकारवालाको तर्फबाट समन्वय र सहजिकरण भएपनि निर्माण कम्पनीले राम्रोसँग कामै नगरेको भन्दै दिक्दारी प्रकट गरे । उनले एउटै आयोजनामा एउटै ठेकेदारलाई बारम्बार ताकेता गर्ने, प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने, प्रशासनमा उपस्थित बनाउनेसम्मका काम गरिएको तर काम भने अनुसार नभएको बताए ।

प्रतिबद्धता गर्ने तर कार्यान्वयन शून्य
गत वर्ष बुटवलका त्यसबेलाका प्रमुख शिवराज सुवेदी र आयोजनाका कार्यालय प्रमुख रहेका इन्जिनियर जयलाल मरासिनीसहितको पहलमा ठेकेदार र कम्पनीका प्रतिनिधिहरुसँगै कैयौँपटक छलफल भयो । कार्यालयल सरोकारवालाहरु समेतको उपस्थितिमा पटकपटक ताकेता गरायो ।

सोही क्रममा ०७८ असार १८ गते प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र जिल्ला प्रहरी प्रमुखलगायतको रोहवरमा ठेकेदार सुवित श्रेष्ठले २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिबद्धता जनाएका थिए । त्यतिञ्जेलसम्म ठेकेदार प्राय सम्पर्कमै आउँदैनथे । विडम्बना प्रतिबद्धता जनाउने तर, कार्यान्वयन नगर्दा ठेकेदार थप आलोचित हुँदै आए ।

अहिलेलाई सडकको बीच भाग (क्यारिज वे) को काम मात्रै भएपनि फटाफट पूरा गर भन्दै आग्रह गरिएको छ । तर, त्यो काममा पनि ठेकेदारले तदारुकता देखाएको छैन । हस्पिटल लाइन र ट्राफिकचोकदेखि तलको केही भागलाई एकतर्फी बानएर काम गर्न थालिएपनि त्यो अझै पूरा भएको छैन । पुष्पलाल पार्कको गोलघुम्ती र चौराहाको गोलघुम्तीलाई र अस्पताल लाईनको सडकलाई पहिले पूरा गर्न आग्रह गरिएको र आवश्यक समन्वय गरिएपनि ठेकेदारले अटेरी गर्दै आएको आयोजना प्रमुख झाको गुनासो छ ।

ठेकेदारलाई १३ करोड ६४ लाख भुक्तानी
साढे तीन किलोमिटर सडक विस्तारको कामका लागि सुरुमा सम्झौता गर्दा ४७ करोड २७ लाख रुपैयाँमा थियो । पछि संशोधित हुँदा लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँमा सम्झौता भएको हो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।