गुल्मीको शैक्षिक विकासमा टेवा पु¥याउँदै युडब्लुएस

मेचीकाली संवाददाता

२३ असार २०७९, बिहीबार
414 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीका ६ पालिकामा यु.डब्लु.एस नेपालले शैक्षिक विकासमा राम्रो टेवा पुराउँदै आएको छ । यु.डब्लु.एस नेपाल गैर–सरकारी संस्था हो । जसले कामको मुनाफा खोज्दैन । संस्थाले सरकारसँगै सरकारी विद्यालयको शैक्षिक विकास र गुणस्तरको क्षेत्रमा काम गर्ने गरेको छ । जिल्लामा २०७४ सालबाट यु.डब्लु.एस नेपालले काम गरिरहेको छ । जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका र इस्मा गाउँपालिकामा काम गरिरहेको छ । संस्थाले २०७४ मा धुर्कोट गाउँपालिका–७ वाग्लाबाट काम थालेको हो । रामपोखरी प्राविमा युसेफको ११ कोठे भवन निर्माणसंगै यु.डब्लु.एस नेपालले विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेको छ । पाँच वर्षपछि विद्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने भएकाले रामपोखरी प्राविमा अन्तिम शैक्षिक सत्रको काम भइरहेको छ ।

सातदेखि ११ कोठे १३ विद्यालय निर्माण
यु.डब्लु.एस नेपालले जिल्लाका ६ पालिकामा १३ वटा विद्यालय निर्माण गरेको छ । रेसुंगा नगरपालिका वडा नं ६ मा साउनेथुम आधारभूत विद्यालय, मुसिकोट–४ को वडा गाउँमा पशुपति निमावि, वडा नं ८ वामी मैदानको मालारानी प्राविको भवन निर्माण गरिएको छ । त्यस्तै इस्मा गाउँपालिका–६ मा बुल्म प्रावि र वडा नं २ मा पालुखा मावि, मालिका गाउँपालिका–५ मा सिद्ध प्रावि, वडा नं ४ मा ठुलीचौर आधारभूत विद्यालय, वडा नं ८ मा सिद्धेश्वरी प्रावि, वडा नं ७ का बरारुख आधारभूत विद्यालय निर्माण गरिएको यु.डब्लु.एस नेपालका इन्जिनियर मन्जिरराज पाण्डेयले जानकारी दिए ।

त्यस्तै मदाने गाउँपालिका वडा नं २ मा पञ्चमी पोखरी प्रावि, वडा नं ३ मा खन्युखर्क आधारभूत विद्यालय र धुर्कोट गाउँपालिका वडा नं ४ मा देविस्थान प्रावि निर्माण गरिएको छ । प्रत्येक ठाउँमा सातदेखि ११ कोठासम्मको विद्यालय भौगोलिक अवस्थाको आधारमा ३५ लाखको लागतका ३५ दिनमा निर्माण गर्ने गरिएको इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार आफ्नै कालिगडद्वारा विद्यालय संरचनासंगै शौचालय र खेलकुदका सामग्रीहरु निर्माण संस्थाले गर्छ । भौतिक संरचनाको लागि संस्थाको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत तथा जनशक्तिमा दुवैको ५०/५० प्रतिशत लागत साझेदारीमा काम भइरहेको छ । अहिले धुर्कोट गाउँपालिका–५ स्थित हिमालय माविमा पनि विद्यालय निर्माणको काम भइरहेको छ ।

उद्देश्य: गन्न, पढ्न, लेख्न र सपना देख्न सिकाउने
यु.डब्लु.एस नेपालको उद्देश्य विद्यार्थीहरुलाई गन्न, पढ्न, लेख्न र सपना देख्न सक्षम बनाउनका लागि पठाइसंगै उत्प्रेरित गर्ने प्रमुख उद्देश्य रहेको छ । भौगोलिक रुपले विकट गरिब तथा दलित एवं बिपन्न बस्तीहरुमा अनुगमनपछि संस्थाले सहयोग गर्ने गरेको छ । वातारणीय पक्ष, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति, कक्षाकोठाको व्यावस्थापन र क्रियाकलापसंगै पढाइको गुणस्तर हेरेर विद्यालयको वर्गीकरण गरिने यु.डब्लु.एस नेपालका शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार बालसुरक्षा आचारसंहिता, समावेशी नीति शिक्षा, शिक्षक अभाव भए नियुक्ति गरेर साप्ताहिक तालिम, कक्षा अनुगमन, बालमैत्री वातावरण, प्रत्येक महिना शिक्षक तथा बिद्यार्थीलाई शैक्षिक प्रदान गरेर पठनपाठन सञ्चालन गरिएको छ । जिल्लामा २४ जना शिक्षकले रोजगारी पाएका छन् ।

‘मार्कसिटको नम्बरलाई प्राथमिकता दिँदैनौँ’
यु.डब्लु.एस नेपालको शिक्षण क्रियाकलाप गज्जबको छ । शिक्षक र विद्यार्थीबिच समान व्यवहार हुन्छ । सबै तहका विद्यार्थी एकै ठाउँ हुन्छन् । तर, स्तरअनुसारको शिक्षण प्रक्रिया र व्यवहार फरक हुन्छ । शिक्षकले गल्ती गरे विद्यार्थीसंग माफी माग्छन् । शिक्षकको व्यवहारबारे विद्यार्थीले दैनिक रिपोर्ट गर्छन् । शब्द र चित्रसंग खेल्दै सिक्दै । मार्कसिटको अंकलाई मात्रभन्दा व्यावहारिक ज्ञान, सीप, खेती नैतिक शिक्षालाई प्राथमिकता दिइन्छ ।

‘संस्थाले कसैसंग प्रतिस्पर्धा गर्दैन । सरकारी विद्यालय सुधारको अभियानमा छौँ,’सिग्देलले भने,‘विद्यार्थीको मूल्यांकन अंकमा गर्दैनौँ ।’ संस्थाद्वारा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाव संघ, आमा समूह, विद्यार्थी स्वयले तालिम पाउँछन् । उनले अझै पनि कतिपयले आफूहरुलाई बोर्डिङ्ग र स्कुल बनाउने संस्थाको हेरेको प्रतिक्रिया दिए । ‘यु.डब्लु.एस नेपाल न बोर्डिङ्ग स्कुल हो नत स्कुल बनाउने संस्था । पाँच वर्ष भौतिक सहयोगसंगै नविनतम शैक्षिक क्रियाकलाप गराउँछाँै,’उनले भने,‘हामी सरकारी विद्यालयकै सहयोगी बनेर काम गरिरहेका छौँ ।’ संस्थामार्फत नौ जना साथी शिक्षकहरुले विद्यार्थीहरुको सिकाई चुनौतिहरु केलाएर विद्यालयमा सहजीकरण गर्ने गरेका छन् ।

मुसिकोट नगरपालिका–४ को पशुपति निमाविका शिक्षक कृष्ण भट्टराईले यु.डब्लु.एसले दिने सिकाई वातावरण, शैक्षिक सामग्री, प्रशिक्षण र शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको समन्वय नै शैक्षिक उपलब्धीको महत्वपूर्ण पाटो भएको बताए । उनले अरु सरकारी, तथा गैरसरकारी विद्यालयमा पनि आफूले पढाएको बताउँदै त्यहाँ पाठ्यपुस्तक केन्द्रित सोंच, कुटपीट र भय, विद्यार्थी र शिक्षकलाई आवश्यक शैक्षिक सामग्री र प्रशिक्षण नहुने बताए ।

इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर कुवंरले यु.डब्लु.एसको शैक्षिक क्रियाकलाबाट आफू पनि प्रभावित भएकाले अरु सरकारी विद्यालयमा पनि कक्षा कोठाको प्राविधिक अनुगमनलाई व्यवस्थापन गरे राम्रो उपलब्धि हाँसिल गरिने बताए । ‘भौतिक पूर्वाधारलाई प्राथमिकता दिने र बाहिरी अनुगमनलाई जोड दिएर पुग्दैन,’उनले भने,‘यु.डब्लु.एस नेपालको मोडलमा काम गर्न केही नीतिगत व्यवस्था गरेका छौँ ।’