प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

मेचीकाली संवाददाता

१६ श्रावण २०७८, शनिबार
747 shares

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् ।

शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी नभएको भन्दै सामाजिक सञ्जाल र कतिपय मिडियामा आलोचना भएको थियो । यसअघि पनि प्रदेश प्रमुखको स्वागतमा मुख्यमन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको भोलिपल्टै प्रदेश प्रमुख र मुख्यमन्त्रीका बीचमा भेटवार्ता भएको हो ।

शनिबार दिउँसो विपक्षी गठबन्धनले स्वागतसहित तथा सशरीर उपस्थित भएर मौखिक रुपमा आफ्नो बहुमत दाबी गर्ने कार्यक्रम तय भएपछि त्यसअघि प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पुगेका हुन् । भेटमा सरकारले गरेका काम, प्रगति र अहिलेको अवस्थाबारे जानकारी गराएका गराए । त्यसक्रममा प्रदेश प्रमुख शेरचनले संविधान र कानुनलाई टेकेर प्रदेशलाई अगाडि बढाउन र नमुना बनाउन लाग्नुपर्ने बताएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

विपक्षी गठबन्धनलाई नयाँ सरकारको हतारो
यता लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले भने वर्तमान सरकार अल्पमतमा परेको दाबी गर्दै आएको छ । सरकारमा सहभागी जसपाका तीन मन्त्रीलाई पार्टीले कारबाही गरेपछि सरकार स्वतः अल्पमतमा परेको भन्दै विपक्षी चार दलका सांसदहरु शनिबार प्रदेश प्रमुखकोमा पुगेका थिए ।

उनीहरुले सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरु शनिबार प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । उनीहरुले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उनीहरुले आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्रै समर्थन रहेको दाबी गरेका छन् ।