फेरि रूपन्देहीमा दुई युवतीको संकास्पद मृत्यु

मेचीकाली संवाददाता

२७ असार २०७९, सोमबार
424 shares

बुटवल । पछिल्लो समय रूपन्देहीमा अपराधका घटना बढ्दै गएका छन् । रूपन्देहीमा आइतबार दुईजना युवतीको संकास्पद मृत्युका घटना बाहिर आएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ की १७ वर्षकी सदिक्षा गुरूङ बुटवलको एक होटलमा झण्डिएको अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै तिलोत्तमा–३ शंकरनगरकी २३ वर्षकी अस्मिता पटवार आइतबार बिहान तिनाउ खोला किनारमा मृत अवस्थामा भेटिएकी हुन् । उनको शव तिलोत्तमा–६ पश्चिम पहुनीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए ।
भर्खरै एसईई दिएर बसेकी सदिक्षा एक युवकसँग होटलमा बसेकी थिइन् । बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित होटल गोलपार्कको कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार राति १० बजेतिर एक युवकको साथमा होटलमा पुगेकी सदिक्षा शनिबार मध्यान्न मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिए ।

उनीसँग होटलमा पुगेका युवक भने शनिबार बिहान ९ बजेतिर होटलको बिल भुक्तानी गरेर बाहिरिएको खुलेको छ । पछि होटल सञ्चालक कोठामा जाँदा युवती झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरूङसँगै बसेका युवकको पहिचान हुन सकेको छैन । युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । सदिक्षा आफैँ आएर कोठा बुक गरेको र कोठामा केही प्रमाण नभेटिएकाले फरार भएका युवकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।
त्यस्तै गत शुक्रबार घरमा ब्युटीपार्लर जान्छु भनेर हिँडेकी तिलोत्तमा–३ शंकरनगरकी अस्मिताको शव आइतबार बिहान फेला परेको हो । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक अस्मिताका श्रीमान् कामको सिलसिलामा भारतमा छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए ।
यसैबीच देशका विभिन्न स्थानमा अन्य ७ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु, ओखलढुंगा, झापा, सर्लाही, धनुषा, खोटाङ र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका ४ बस्ने ४५ वर्षीय प्रेमबहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको कमल गाउँपालिका–७ भट्टराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका ७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको कबिलासी नगरपालिका–९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका ३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका–७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित शंखु जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।