भत्किएको पुल मर्मत नहुँदा सास्ती

मेचीकाली संवाददाता

२७ असार २०७९, सोमबार
488 shares

सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ३ भक्तौलिस्थित वडा नं. ३ र १० लाई जोड्ने पक्की पुल ०७८ भदौ १० गते आएको बाढीले भत्काएको थियो । भत्किएको पुलमा सबैको नजर पुग्यो तर मर्मत सम्भारमा कसैको ध्यान नपुगेको स्थानिहरुले गुनासो गरेका छन् ।
दुई जिल्लालाई जोड्ने कृषि सडकको पक्की पुल भत्किदा आवतजावतमा नागरिकहरुले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । कृषि सडकअन्तर्गत पर्ने पक्की पुल भत्कीएपछि भक्तौलि टोल बिकास संस्थाको संयोजकत्वमा वडा कार्यालय, नगरपालिकामा मेयर, उपमेयर समक्ष पुगेर पुल भत्कीए पछि निर्माणका लागि धेरै पटक अनुरोध गर्दा पनि दश महिना पुगि सक्दासमेत सुनुवाई नभएको राजापानी टोल बिकास संस्थाका अध्यक्ष लाल कुमारमहत क्षेत्रीले बताए ।

रुपन्देही र कपिलवस्तु दुई जिल्लालाई जोड्ने पुल भत्कीएपछि विद्यार्थी , कर्मचारी, सर्वसाधारण र यातायात ब्यबसायीहरुले जोखिम मोलेर यात्रागर्न बाध्य छन् । वडा कार्यालय र नगरपालिका मात्र होईन सामाजिक बिकास तथा भौतिक पुर्वाधार बिकास मन्त्रालय सम्म पुगेर ०७८ भदौ २० गते उक्त पुल निर्माणका लागि माग सहितको निवेदन दर्ता गरेको राजापानी टोलबिकास संस्थाका अध्यक्ष महत क्षेत्रीले बताए ।
उनले आर्थिक बर्ष सकियो स्थानिय सरकारमा पदधारणा गरेका ब्यक्ति तथा प्रदेश सरकारमा पदधारणा गरिरहेका ब्यक्तीहरुले भत्कीएको पुलको जोखिम बाटो हेर्दै हिंडे तर मर्मत सम्भार गर्नका लागि केही पहल नगरेको गुनासो गरे ।

यस्तै पानी पर्दा बाढी आउँछ, आवतजावत नै ठप्प हुन्छ सर्बसाधारण तथा आम नागरिकहरुलाई समस्या छदैं छ आजका बालबालिका भोलिका कर्णधार मानिने बालबालिकाहरु शिक्षाबाट समेत बञ्चित भएको स्थानिय चौतारे मगरले बताए । भक्तौलिस्थित गौरी भवानी मावि लगायतका विद्यालयमा पढ्ने विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएको स्थाानीयहरुको भनाइ छ ।

बाणगंगा नगरपालिका–१० भावपुरकी रुपा बिक वडा नं. ३ गौरी भवानी माबि भक्तौलिकी शिक्षिका हुन् । जब पानी पर्छ उनी र पारीबाट पढ्न आउने विद्यार्थीहरु बिद्यालय आउन सम्भव छैन । भत्किएको पुलपारीबाट हेरेर फर्कनु पर्छ । ठुलो पानी पर्दा एक हप्तासम्म आवतजावत बन्द हुँदा आफुले बिद्यार्थीहरुलाई शिक्षा दिन नपाउनु र विद्यार्थीहरु समेत शिक्षा लिनबाट बञ्चित भएको शिक्षिका रुपा बिक बताउँछिन् ।

स्थानीयहरुको सहयोगमा करिव १५ बर्ष अगाडि निर्माण भएको पुल बिगत १० महिना अगाडी भत्किीएदेखि स्थानिय नागरिकहरु, रुपन्देही र कपिलवस्तुका नागरिकहरु, विद्यार्थीहरु कर्मचारीहरु लगाएतका यात्रुहरुले सास्ती खेप्नुपरेको इन्से द्वारा गठित मानव अधिकार समूहका सदस्य दिनानाथ पाण्डेले बताए । पुल भत्कीएपछि पटक पटक वडा कार्यालय, राजापानी सामुदायिक वन, नगरपालिकालगायतका सम्बन्धित निकायमा ताकेता गरियो तर सुनुवाई नभएको उनले बताए । भावपुर, बनकट्टी, वेलहीया, भैंसहीया, हरैया, गरगरे, बालापुर लगाएतका गाउँबाट भक्तौली स्थित गौरी भवानी माविमा अध्ययन गर्न आउने विद्यार्थीहरु शिक्षाबाट बञ्चित छन् भने बिरामीहरुले समयमा उपचार पाउन नसकेको स्थानियहरुको गुनासो छ । इन्सेक मानव अधिकार समूह बाणगंगाका अध्यक्ष इन्दिरा पन्तको नेतृत्वमा असार २६ गते उक्त भत्किएको पुलको स्थलगत अनुगमन गरिएको छ ।