ध्यान केन्द्रमा बुद्धका आँखा

मेचीकाली संवाददाता

२८ असार २०७९, मंगलवार
352 shares

भैरहवा। लुम्बिनीमा निर्माण भएको ध्यानकेन्द्रमा बुद्धको आँखाको झल्को आउनेगरी आँखाको चित्र निर्माण गरिएको छ । ध्यानकेन्द्रको छानामा बुद्धको आँखाको चित्र कोरिएको लुम्बिनी विकास कोषले जनाएको हो ।
हेलिकप्टर र प्लाराग्लाइटिङमार्फत लुम्बिनी अवलोकन गर्न चाहने पर्यटकले उक्त आँखा अवलोकन गर्नसक्ने छन् । झन्डै रु.७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रमा दुई हजार ५०० स्क्वार फुटको ठूलो बुद्धको शान्तिको प्रतिक आँखा निर्माण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

दक्षिण एसियाकै नमुना ध्यानकेन्द्रको रुपमा रहेको यो ध्यानकेन्द्रमा निर्माण गरिएको आँखा संसारकै ठूलो भएको बौद्ध धर्मालम्बीले जिकीर गरेका छन् । पाँच हजार जनाको क्षमता रहेको सो ध्यानकेन्द्रको छानामा बुद्धका आँखा निर्माणसँगै पर्यटकको आर्कषण बढने पर्यटन व्यवसायीको अपेक्षा रहेको छ । आधुनिक र प्रविधिमैत्री यो ध्यानकेन्द्र लुम्बिनी प्रदेशको आकर्षणको केन्द्र भएको लुम्बिनी विकास कोषका योजनाप्रमुख सरोजराज भट्टराईले बताए । बुद्धकालीन कला, संस्कृति र बुद्ध झल्किने आकृतिको वास्तुकलामा निर्माण गरिएको बुद्धका आँखाले शान्तिको प्रतिकको सङ्केत गर्ने उनको भनाइ थियो । ध्यानकेन्द्रको आर्कषणको रुपमा रहेको बुद्धका आँखाले बुद्ध दर्शनको विकासमा समेत सहयोग पुग्ने वास्तुकलाविद्हरुले बताए ।

ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो कक्ष निर्माण भएपछि उपयोगी हुने कोषले जनाएको छ । साना र ठूला गरी ५५ वटा ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिएको छ । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरिको सौन्दर्य, अतिथि भवन, पार्किङ, शौचालय, पानीको फोहरा, मूलद्वार निर्माण गरिएका छन् ।
सडकदेखि प्रवेशद्वार र वृक्षरोपणका कामलाई निरन्तरता दिएको कोषले अवको केही वर्षमा बास्तुकलाविद् केञ्जो टाङगेले तयार गरेको गुरुयोजना पूरा गर्ने चरणमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, राजदरबार तिलौराकोट, मावली, देवदह र अस्तुधातु भएको रामग्रामको विकासमा पनि उक्त कोषले थप सोच्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् ।
लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को तयारी गरिएको हो । यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रुपमा लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान बताउँछन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेपछि लुम्बिनी घुम्न आउने पर्यटक लाभाम्वित हुने भएका हुन् । यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल संघको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ । पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

संसारभर लुम्बिनीकोे माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले सीप सिकाइएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्ने ज्ञवालीले जानकारी दिए । त्यसैका लागि काठमाडौँलगायत स्थानबाट दक्ष कालीगढ ल्याएर उपहार निर्माण गर्न सिकाइएको हो । यो सीपसँगै लुम्बिनीका स्थानीयवासीले पनि स्वारोजगार हुने अवसर प्राप्त गरेका छन् ।