आमा शिक्षक र पिताभन्दा श्रेष्ठ गुरु !

मेचीकाली संवाददाता

२९ असार २०७९, बुधबार
428 shares

घनश्याम कोइराला

आज व्यास जयन्ती हो । हरेक वर्ष असार महिनाको पूर्णिमाको दिनलाई व्यास जयन्ती र गुरुपूर्णिमाका रूपमा मनाइँदैआएको छ । गुरुपूर्णिमा पर्व गुरूहरूको सम्मानका लागि निर्धारित गरिएको विशेष दिन हो । य दिनलाई गुरुपर्वका रूपमा उत्सवमय ढङ्गले मनाउने गरिन्छ । यद्यपि ज्ञान, बुद्धि, विवेक, सीप, कला, कौशलको महत्व सदैव हुन्छ, तथापि अन्य दिनहरू उपयोगका दिन हुन् भने यो दिन ज्ञान, बुद्धि, विवेक, सीप, कला, कौशल प्रदान गर्ने गुरुको सम्मान गरिरहने प्रतिबद्धता दोहो¥याउने दिन हो ।

व्यास शब्दको अर्थबारे बढी चर्चा आवश्यक नहोला । सामान्यतः व्यास भनेको एउटा त्यस्तो परिकल्पित रेखा हो, जसले बाहिरी परिधिलाई केन्द्रविन्दुसँग जोड्दछ । यसलाई अंग्रेजीमा Diameter भनिन्छ । यस परिभाषा र प्रयोगसँग पनि व्यासलाई जोडेर हेर्न र बुझ्न सकिन्छ । कुनै पनि वस्तुको विस्तारलाई पनि व्यास भनिन्छ । व्यास परिधिलाई केन्द्रविन्दुसँग जोड््ने रेखा हो भनिएबाट व्यास समाजमा यत्रतत्र छरिएर रहेका विषयलाई आन्तरिकीकरण गर्ने प्रक्रियात्मक शक्ति हो भन्ने बुझ्न सकिन्छ । अर्को, व्यास भनेका ती महान् व्यक्ति हुन्, जसले चारै वेद र अट्ठारै पुराणलाई लिपिबद्ध, उचित विभाजन र व्यवस्थापन गरे । कथा–पुराण भन्ने मानिसलाई पनि व्यास भनिन्छ । व्यासलाई अष्टचिरञ्जीवीमध्ये एक मानिन्छ अर्थात् व्यास हत्तपत्त मर्दैनन् । यसो भन्नुका पछाडि व्यावहारिक तर्कहरू छन् ।

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः अर्थात् गुरु सिर्जनाकार हुन् । गुरु पालनकर्ता हुन् । गुरु नै कल्याणकारी हुन् । यी सबैका समन्वित रूप गुरु नै हुन् । त्यस कारण ती गुरुलाई नमस्कार छ । यस मन्त्रबाट के बुझ्न सकिन्छ भने बन्नु, जोगिनु या सुरक्षित रहनु, समयमा समयमा अनावश्यक पक्षहरू नाश गरी कल्याणदायी विषयबाट लाभान्वित गर्ने बुद्धि, शिक्षा, ज्ञान, विवेक जहाँ र जोबाट प्राप्त हुन्छ, ती सबै गुरुस्थान हुन्, गरिमामय हुन् । ती सबैप्रति कृतज्ञ हुनुपर्दछ भन्ने विषय गुरुपूर्णिमाको, व्यास जयन्तीको, गुरुपूजाको अन्तर्वस्तु हो ।

हामीले समाजका मानिसहरूबाट धेरै कुरा सिकेका छौँ । प्रकृति र प्रकृतिका पशु—पक्षीहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ र सिकिएको छ । गुरुपूर्णिमा पर्वले हाम्रो ज्ञान र प्रेरणाका सबै स्रोतहरूप्रति सम्मान गर्न अभिप्रेरित गर्दछ । यसबाट हामी सबैप्रति विनम्र हुने संस्कृति विकास गर्न सकिन्छ । अहिलेको सामाजिक अवस्था हेर्दा जताततै सम्मानको कमी भइरहेको देखिन्छ । सितिमिति कोही, कसैप्रति कृतज्ञ नहुने अवस्था बढ्दो छ । यसबाट हामीले शिक्षा लिने भनेको हामी अरुप्रति कृतज्ञ हुनुपर्छ । यसो हुँदा हामीप्रति पनि अरु कृतज्ञ हुनेछन् । यसरी कृतज्ञताको संस्कृतिको विकास हुनेछ । यसतर्फ गुरुपूर्णिमाले हामी सबैलाई अभिप्रेरित गर्न सकोस् ।

मनुस्मृतिमा यस्तो लेखिएको छ, ‘उपाध्यायन् दशाचार्यं आचार्याणां शतं पिता । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते अर्थात् उपाध्यायभन्दा दसगुणा श्रेष्ठ आचार्य, आचार्यभन्दा सयगुणा श्रेष्ठ पिता र पिताभन्दा हजार गुणा श्रेष्ठ आमा गौरवले युक्त हुन्छिन् ।’ यस अर्थमा आमा सर्वोपरि गुरु हुन् । उपाध्याय र अध्यापक भनेका वेद पढाउने शिक्षकलाई भनिएको हो । साथै, यसबाट मनुस्मृति महिलाद्वेषी मात्र रहेनछ, महिलालाई आमा र गुरुका रूपमा सर्वोपरि स्थानमा स्थापित गर्ने ग्रन्थ पनि रहेछ भन्ने प्रमाणित हुन्छ ।

व्यास कथावाचक हुन् । व्यास कथाको माध्यमबाट सृष्टिको विषयमा, समाजको पूर्वावस्था, वर्तमान अवस्था र भविष्यको विषयमा जानकारी गराउने व्यक्तित्व हुन् । ज्ञान, भक्ति र योगको माध्यमबाट समाजलाई जागृत पार्ने कथाकार हुन् । सुन्दर कथावाचनको माध्यमबाट जीवनलाई उपयोगी बनाउन प्रेरणा दिने महान् व्यक्ति हुन् । यसरी हेर्दा व्यास चिरञ्जीवी मात्र नभई अजर अमर छन् ।

व्यास एउटा यस्तो परम्परा हो, ज्ञान, भक्ति र योगलाई अविच्छिन्न बनाइराख्न योग्य व्यक्तिको छनोट हुन्छ र उनले त्यो काम दत्तचित्त भएर सम्पादन गर्दछन् । यसरी हेर्दा यो प्राचीन प्रवन्धको ज्ञान प्रसारणको जिम्मेवारी विभाजनको उदाहरण हो । व्यास त्यस्तो पद वा पीठ हो, जसले ज्ञान, भक्ति र योगसम्बद्ध कार्य गर्दछ । पूर्वीय परम्परामा ज्ञान उत्पादन, ज्ञानको उपयोग र ज्ञान प्रसारको व्यवस्था व्यापक रहेको देखिन्छ । ज्ञान उत्पादमा तप—चिन्तन गर्ने र साधना गर्ने कार्य हुन्थ्यो । यसको उपयोग व्यावहारिक जीवनमा गरिन्थ्यो । र, ज्ञानको प्रसारण गर्ने व्यवस्थाका विभिन्न उपायहरू रहेको देखिन्छ । उदाहरणार्थः व्यासबाट गद्दीमा बसेर प्रवचन हुने गरेको देखिन्छ भने यही काम पीठासीन नभई परिभ्रमणबाट गर्ने व्यवस्था रहेको थियो । सप्तर्षि(सात जना ऋषिहरूको समूह) निश्चित क्षेत्रमा अहर्निश परिभ्रमण गरेर ज्ञान प्रदान गर्दथे । यस्तो व्यवस्थाका अनेकौँ अन्य प्रसङ्गहरू पनि रहेको पाइन्छ ।

व्यास परम्परा प्राचीन प्रवन्धको अत्यन्त महत्वपूर्ण व्यवस्था थियो । जसरी राजा भन्दा एउटा मात्र भन्ने अनुमान गर्नु सही हुँदैन, मन्त्री भन्दा कुनै एकजना मात्र हुँदैनन्, शिक्षक, गुरु, पण्डित, कलाकार आदि पनि एकजना मात्र भन्ने बुझाई सही हुँदैन । त्यसैगरी अनेकौँ कृतिहरू, गुणका हिसाबले व्यास पनि एकजना मात्र थिएनन् । परापूर्व कालदेखि चलिआएका यस्ता विषयहरूबारे जानकारीका स्रोत पुराणहरू हुन् । पुराणहरूमा व्यास एकजना मात्र थिए भन्ने उल्लेख पाइँदैन । बरु विष्णुपुराणका अनुसार व्यासपीठ(पद)मा रहेकाहरू अर्थात् ‘व्यास’हरू २८ जना व्यासहरू भइसके र अब हुने २९ औँ व्यास अश्वत्थामा हुन् भनिएको छ । व्यासजस्तै अश्वत्थामा पनि अष्टचिरञ्जीवी मध्येका एक हुन् । यसरी व्यास परम्पराको यो चक्र घुमिरहन्छ । सदाकालका लागि एकै जना मात्र व्यास हुने व्यवस्था व्यास परम्परामा रहेको देखिँदैन । व्यास परम्परा एक प्रकारको सत्ता नै हो, तर व्यास परम्पराको सत्ता होस् या अन्य सत्ता, व्यक्ति परिवर्तन भइरहन्थे । त्यसैले, एउटै व्यास, उही व्यास भनेर बुझ्नु सही बुझाइ होइन ।

व्यासको मुख्य काम ज्ञान, भक्ति र योगलाई विस्तार गर्नु बुझाउनु हो । यसबारे माथि केही चर्चा गरिएको छ । चर्चा गरिएको ज्ञान, भक्ति र योगका विषयमा पनि मानिसहरूमा केही अलमल देखिन्छ । यसलाई सापेक्ष रूपमा बुझ्न नसक्दा यस्तो हुनु स्वाभाविक हो । ज्ञान भनेको जीवन र जगतको विषयमा व्यवहारसम्मत जानकारी हो । गर्न हुने—नहुने, खान हुने—नहुने, के किन हुने—किन नहुने आदिबारे जानकारी हो । ज्ञान बहुआयामिक विषय हो ।

भक्ति भनेको आस्था, निष्ठा हो । ईश्वर वा देवभक्ति त हो, तर भक्ति भन्नाले देवभक्ति र ईश्वरभक्ति भन्ने मात्र बुझ्नु सही होइन । भक्ति भनेको त्याग, निष्ठा, समर्पण पनि हो ।के अहिलेको समाजमा राजनीतिक आस्था देखिँदैन र ? दलहरूप्रति निष्ठा रहेको देखिँदैन र ? देखिएकै छ । यसरी बुझ्दा भक्ति भनेको राष्ट्रभक्ति, मातृभक्ति, पितृभक्ति, बन्धुभक्ति, मित्रभक्ति आदि पनि हो । भक्तिको अर्थ र व्यवहार सही र सापेक्ष हुनुपर्दछ । भक्तिका सन्दर्भमा उल्लेख भएका र गर्नुपर्ने विषय धेरै छन् । विभिन्न प्रसङ्गमा उल्लेख भएअनुसार भक्तिका नौ प्रकार छन्, जसलाई नवधाभक्ति भनिएको छ । यसलाई तीन भागमा बाँडेर हेर्दा व्यासभक्ति अर्थात् ज्ञानआर्जन— अध्ययन, अध्यापन, चिन्तन, मनन्, ज्ञान वितरण आदि विषय यस अन्तर्गत पर्दछ । अर्को नारदभक्ति (महर्षि नारदले गर्ने जस्तो भक्ति) अर्थात् गुण र ज्ञानको प्रसारण गर्ने, आलोचनात्मक भाव नराखी जस्ताको तस्तै सूचना सञ्चार गर्ने समर्पित भावको भक्ति । अर्को हो, हनुमद्भक्ति (हनुमानले गर्नेजस्तो भक्ति) अर्थात् आज्ञा पालन गर्ने । यसरी भक्तिका पनि अनेकौँ आयाम छन् । सबैको भक्ति उस्तै हुँदैन र सबै भक्त पनि उस्तै हुँदैनन् ।

योग भनेको जोड या जोड्नु हो । विभिन्न शास्त्रहरूमा योग भनेको आत्मालाई परमात्मासँग जोड्ने माध्यमको रूपमा व्याख्या गरिएको पाइन्छ । जीवलाई आत्मासँग जोड्ने, मानिसलाई परमात्मा वा ईश्वरसँग जोड्ने विषयको उल्लेख पनि धेरै ठाउँमा पाइन्छ । चलनचल्तीमा भनिने गीताको वास्तविक नाम श्रीमद्भगवद्गीता हो । यसमा रहेका १८ अध्यायमा प्रत्येक अध्यायमा एउटा योगको विषयमा चर्चा र नामकरण गरिएको छ । त्यहाँ उल्लेख भएअनुसार योग भनेको कर्ममा कुशलता हो— योगः कर्मसु कौशलम् । श्रीमद्भगवद्गीतामा उल्लेख भएका योगहरू— अर्जुन विषाद योग, साङ्ख्य योग, ज्ञान—कर्म योग, ज्ञान—कर्मसन्यास योग, कर्मसन्यास योग, आत्मसंयम योग, ज्ञान—विज्ञान योग, अक्षर ब्रह्म योग, राजविद्या—राजगुह्य योग, विश्वरूप दर्शन योग, भक्ति योग, क्षेत्र—क्षेत्रज्ञ विभाग योग, गुणत्रय विभाग योग, पुरुषोत्तम योग, दैवासुरसम्पद् विभाग योग, मोक्ष—सन्यास योग रहेका छन् ।

यसरी हेर्दा योगको विकास मानिसको आवश्यकताबाट भएको हो, अवस्था जस्तो छ, योग पनि उस्तै हुने देखिन्छ । आवश्यकताअनुसार योग बन्ने, प्रयोगमा आउने हुन्छ भन्ने बुझिन्छ । मन वा चित्तलाई कर्मसँग जोड्नु हो । विचारलाई व्यवहारसँग जोड्नु योग हो । विचार र व्यवहारको योग नमिल्दा भइरहेको र हुने क्षतिबारे कसलाई थाहा छैन र ? सामाजिक दृष्टिकोणले हेर्दा समाजका विखण्डन र विभाजनका तन्तुहरू फेलापारी तिनीहरूलाई जोड्ने ‘सामाजिक योग’ पनि बन्न सक्ने देखिन्छ । समाज विखण्डनमा जोड चलिरहेको अवस्थामा विखण्डन योगका ठाउँमा समाज सम्मिलन योग उपयोगी हुन सक्दछ । यसको अन्तर्वस्तु सामाजिक विभेद, बेमेल अन्त्य गरी सकारात्मक एकताबद्ध समाज निर्माणको विषय हुन सक्दछ । यसरी हाम्रा प्राचीन परम्परागत विषयहरूलाई आजको वस्तुस्थिति सापेक्ष बनाउन नसकिने होइन । प्रकृति निर्मित बुझ्न सकिन्छ, मानव निर्मित फेर्न सकिन्छ । यी योग आदि विषय मानव निर्मित हुन् । यिनीहरूको उपयोग मानव हितका लागि गर्न सकिन्छ, सक्नु पर्दछ ।

हाम्रो परम्परामा कुनै पनि स्तुति या मन्त्रका अगाडि ‘ओम्’ उच्चारण गरिन्छ । ‘ओम्’लाई ‘प्रणव’ भनिन्छ । ‘प्रणव’ भनेको नित्य नयाँ रहने अर्थात् पुरानो नहुने भनिएको हो । यसबाट के कुरा स्पष्ट हुन्छ भने हामीले नवीनतालाई पछ्याउनु पर्दछ, समयसापेक्ष बुझाइ र व्यवहार विकास गर्नु पर्दछ भन्ने बुझिन्छ ।

यी विषय बर्षैपिच्छे व्यास जयन्ती—गुरुपूर्णिमा मनाउँदा हेक्का गरिरहनु पर्दछ । व्यासले गरेका काम र व्यासले दिएको शिक्षा सम्झिरहनु पर्दछ । तर, के यी सबै काम व्यास नामका कुनै एक जना मानिसले गरे त ? यो प्रश्न महत्वपूर्ण हुन आउँछ । धेरै मानिसहरूको अलमल पनि यसै विषयमा छ । समर्थन गर्नेमध्ये धेरैले होइन भन्न नसकेको र विरोध गर्नेहरूले पनि तथ्य केलाउन नसकेको विषय छ । यसलाई सही ढङ्गले बुझ्न आवश्यक छ । नबुझी गरिने समर्थन होस् वा विरोध दुवैले भ्रम र अन्धविश्वास नै बढाउने हो । यी विषय प्रागैतिहासिक विषय भएकोले ठ्याक्कै तथ्य फेला पार्न सकिँदैन । कथ्य परम्पराबाट आएको हुनाले यसमा मान्यता र आस्थाले पनि काम गरेको हुन्छ । अतः यसलाई पनि शब्द, मान्यता, परम्परामा आधारित रहेर यस बारेमा गरिने छलफलबाट सही वा हितकर निष्कर्षमा पुग्न सकिन्छ ।

माथि गरिएका विमर्शबाट व्यास एकजना व्यक्ति मात्र होइनन् भन्ने कुरा स्पष्ट हुन्छ । व्यक्तिका रूपमा भन्ने हो भने व्यास भनेको धेरैतिरका बारेमा जान्ने मानिस हुन् । यीमध्ये कतिपय व्यास हाम्रै नेपालमा जन्मेका थिए भन्ने देखिन्छ । तर, हामीले ‘प्रगतिशील अन्धविश्वास’का कारण यसतर्फ ध्यान दिएनौँ ।

व्यास गुरु हुन् । गुरुलाई आचार्य, उपाध्याय पनि भनिन्छ । गुरु भनेको गह्रौँ वा गहकिलो हो । जसमा गुरुत्व हुन्छ, उसैलाई गुरु भनिन्छ । पृथ्वीको आकर्षण सारशक्ति गुरुत्व हो । शास्त्रमा लेखिएको छ ः ‘उपाध्यायः पिता माता ज्येष्ठो भ्राता महीपतिः । मातुलः श्वशुरश्चैव मातामहपितामहौ । वर्णज्येष्ठः पितृव्यश्च सर्वे ते गुरवः स्मृताः अर्थात् उपाध्याय पिता, दाजु, राजा, मामा, आमा, ससुरा, मावलका हजुरबा—हजुरआमा, वर्णमा श्रेष्ठ, काका आदि पनि गुरु हुन् ।’ पढाउने, सिकाउने, बुझाउने आदि सबै गुरु नै हुन् । अहिले राजाका स्थानमा राज्यको नेतृत्व गर्ने नेताहरू हुनुहुन्छ । हामी वहाँहरूप्रति सम्मानशील हुनुपर्दछ । यसको अर्को पाटो स्पष्ट छ कि हामीले सम्मान गर्नेहरू सम्मानयोग्य होऊन् । हामी पनि कसै न कसैका माथि भनिएका सम्बन्धमा पर्दछौँ । यो विषय हामी सबैले सदैव ध्यान राख्नुपर्दछ । आफू सम्मान खोज्नेले अरुप्रति सम्मान गर्न सक्नुपर्दछ । यो गुरुपर्वको महत्वपूर्ण सन्देश हो ।

यसरी व्यास परम्परामा व्यासको ठूलो महत्व रहेको छ । शिक्षा क्षेत्रमा आचार्यभन्दा उपाध्यायको महत्व रहेको छ । यसमा आमाको भूमिका सर्वोपरि रहेको विषय यहाँ लेखिएको श्लोकले स्पष्ट पारेको छ । हामीले व्यास, सरस्वती, पिता, गुरुको सम्झना र सम्मान गर्दा आमाको सर्वोपरिता बिर्सनु हुँदैन । शास्त्रका यी स्पष्ट प्रावधानका बावजुद, राजनीतिक, आर्थिक, सामाजिक दृष्टिले नारीशक्तिलाई कमजोर बनाउने गरी कायम रहेको अवस्थाबाट माथि उठ्नपर्छ । हजारगुणा श्रेष्ठ र गौरवशाली भनिएको मातृशक्ति प्रतिको सम्मान र कृतज्ञता समेतको महत्व रहेको गुरुपर्व व्यास जयन्ती र गुरुपूर्णिमाको अन्तर्वस्तु बुझौँ र अवलम्बन गरौँ ।

व्यास जयन्ती, गुरुपूर्णिमाको अवसरमा ज्ञान, ज्ञानका स्रोत, ज्ञानका माध्यम, ज्ञानका उपयोगका क्षेत्र, ज्ञानउपयोगको परिणाम आदि अनेकौँ विषयमा ध्यान दिन र सम्बन्धित सबैप्रति आभारी हुन आवश्यक हुन्छ । गुरुपूजा गरिरहँदा उपाध्यायभन्दा दसगुणा श्रेष्ठ आचार्य, आचार्यभन्दा सयगुणा श्रेष्ठ पिता र पिताभन्दा हजार गुणा श्रेष्ठ आमालाई बिर्सन हुने छैन । ज्ञान, भक्ति र योगको शिक्षा दिने व्यासको पूजा गरिरहँदा बिर्सनै नहुने तथ्य आमा प्रथम र सर्वोपरि गुरु हुन् । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)