बुटवल–नारायणगढ सडकः निर्माण सम्झौता सकिन लाग्दा १९ प्रतिशत काम

मेचीकाली संवाददाता

२९ असार २०७९, बुधबार
474 shares

बुटवल । बुटवल–नारायणगढ सडक निर्माण सम्झौताको समयावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहँदा भौतिक प्रगति भने जम्मा १९ प्रतिशत छ । वित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ । ४१ महिनाअघि ‘चाइना स्टेट इन्जिनियर कर्पोरेसन’ कम्पनीले ४२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । सडक ११४ किलोमिटरको हो । यही गतिमा काम हुने हो भने काम सम्पन्न गर्न १० वर्ष लाग्ने देखिन्छ । सडकखण्ड रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लामा पर्छ ।

निर्माणमा ढिलासुस्ती हुँदा सडकसँग जोडिएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलका दर्जनौं पालिका, बस्ती र हजारौं नागरिक प्रभावित भएका छन् । दैनिक हजारौं यातायातका साधन र यात्रुहरू ठूलो जोखिम व्यहोर्दै घण्टौंसम्म सडकमा बस्न बाध्य छन् ।
यो सडकखण्ड पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्छ । सवारीसाधनको चाप हेर्ने हो भने यो सडक १ मिनेट पनि रोक्न नमिल्ने खालको हो । सडकमा दैनिक सानाठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् तर वर्षायाममा धेरै ठाउँमा झरेका पहिरो समयमै नहटाउँदा गाडीहरू जाममा पर्ने गरेका छन् ।

निर्माण कम्पनीले सडकको सामान्य मर्मतको काम समेत गर्ने गरेको छैन । सडकको दूरावस्थाप्रति सरकार बेखबर जस्तै रहेको नवलपुरका एमाले सांसद तिलकबहादुर महत बताउँछन् । ‘गठबन्धन सरकारका मन्त्रीज्यूहरू यो सडकबाट हिँड्नुपरेको छ कि छैन ? यो सडकबाट एकपटक हिँडेर त हेर्नुहोस् ?,’ सडकको अवस्था जानकारी गराउँदै उनले संसद्मा सरकारको ध्यानाकर्षण गराए ।
वर्षायाम लागेसँगै सडक निर्माणको काम ठप्प जस्तै छ । साढे २ घण्टामा यात्रा गर्न सकिने सडक पार गर्न यात्रुलाई अहिले ६–७ घण्टा लाग्ने गर्छ । पूर्वपश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्वपूर्ण सडक विस्तार आयोजनाको काम कोरोना महामारी, ‘साइट क्लियर’ र रूख कटानमा ढिलाई हुँदा समयमै हुन नसकेको आयोजनाको दाबी छ । ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति थालिएको सडक २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए ।
सडक विस्तारको योजनाकार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल हुन् । २०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालेको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद १ वर्ष थप गरेको छ । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँमा चाइना कर्पोरेसनले ठेक्का पाएको छ । बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी २ खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।

आयोजनाका परामर्शदाता सुशन श्रेष्ठका अनुसार बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम भएको छ । दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण भएका छन् भने ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ ।
‘कोरोना महामारीले समयमा काम गर्न नसक्दा भौतिक प्रगति सोचजस्तो भएन । १ वर्ष म्याद थप भएको छ,’ श्रेष्ठले भने, ‘त्यसका साथ विद्युत् पोल स्थानान्तरदेखि रुख कटानका लागि ढिलो अनुमति दिँदा सुरुका डेढ वर्ष काम नै हुन पाएन । अब वर्षापछि बल्ल कामले गति लेला ।’ उनी बिग्रिएको ठाउँमा कन्सलटेन्टलाई मर्मतको काम गर्न आफूहरूले खबरदारी गर्दै आएको बताए । दाउन्ने पश्चिमतर्फ ९ वटा ठूला मोटरेबल पुल बनाउनुपर्नेमा ३ वटा निर्माण पूरा भएका छन् भने ३ वटा पुल सम्पन्न हुने चरणमा पुगेका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ ।

दाउन्ने–गैंडाकोट खण्डका इन्जिनियर धिरज ढकालले पूर्वी खण्डको ५ किलोमिटरमा दुईतिरको साइट पूरा भएको छ । १० वटा साना पुलको काम सकिएको छ । अझै २ वटा पुल बनाउन बाँकी छ । कल्भर्ट २१५ मध्ये १३१ वटा निर्माण भएका छन् । अरूण खोला, विनयी खोलालगायतका ठूला पुल निर्माणको काम आधाजसो भएको छ । सडक खण्डमा पर्ने रूख कटानको काम करीब सकिएको ढकालको भनाइ छ । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्ने गरी साढे ३ वर्षअघि सडक विस्तार आयोजना सुरु भएको हो ।
वर्षायामका कारण अहिले जम्मा १२० जना कामदारले मात्र काम गरिरहेका छन् । भारतबाट आउने मालबाहक ट्रकदेखि काठमाडौंबाट पश्चिमका विभिन्न जिल्लामा जाने गाडीका लागि यो एक मात्र सडक हो । सडकको डिभाइडरलाई हरियाली बनाइने ठेक्का सम्झौतामा उल्लेख छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ । पूर्व खण्ड दाउन्ने–गैंडाकोट खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र पश्चिम खण्डको दाउन्ने–बुटवलको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

कूल लागतमध्ये एसियाली विकास बैंक (एडिबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । पूर्वपश्चिम राजमार्ग विक्रम् संवत् २०२२ सालमा तत्कालीन राजा महेन्द्रको योजनाअनुसार शिलान्यास भई विक्रम् संवत् २०२८ सालमा निर्माण सम्पन्न भएको थियो । सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टामै पुग्न सकिने छ । यातायात व्यवसायीले सडक खराब हुँदा सवारीसाधन छिटो–छिटो बिग्रिने समस्या आएको भन्दै निर्माणको कामलाई चाँडोभन्दा चाँडो सक्न आग्रह गर्दै आएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकका कारण यात्रुबाहक गाडी धेरै बिग्रिने गरेको बताए ।