रोटरी क्लब अफ सेन्ट्रल बुटवलको अध्यक्षमा हिमाल गैरे

मेचीकाली संवाददाता

१ श्रावण २०७९, आईतवार
333 shares

बुटवल । विश्वकै एक मात्र सत प्रतिशत मेजर डोनरहरुले स्थापना गरेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलको सातौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२१/०२२ का अध्यक्ष होमराज बस्यालले वर्ष २०२२/०२३ का लागि हिमाल गैरेको अध्यक्षतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन् । शनिबार सम्पन्न भएको कार्यक्रममा २०२१/०२२ का अध्यक्ष होमराज बस्याल, संस्थापक अध्यक्ष एजाज आलम, २०२२–२३ का डिष्ट्रिक गभर्नर जितेन्द्रबहादुर राज भण्डारीलगायतले गैरेलाई कलर, ह्याम्वर तथा ग्यावल हस्तान्तरण गरेका थिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष गैरेले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको सहयोग आवश्यक हुने बताए । विगतका कामलाई निरन्तरता दिँदै आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने उनले बताए । आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म मानवीय सेवाका काममा सक्दो सहयोग पु¥याउने र क्लबको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले बुटवल, तिलोत्तमा र सैनामैना नगरपालिकालाई समेटर कुनै एक ठाउँमा आफ्नै कार्यकालमा विद्युतीय शवदाहगृह निर्माण गर्ने घोषणा गरे । साथै यसका लागि तीनवटै पालिकाका प्रमुखहरुसँग उनले सहयोगको अपिल गरे ।

कार्यक्रममा सन् २०२१/०२२ का अध्यक्ष बस्यालले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सबै पदाधिकारी, सदस्यहरुको सहयोगमा विभिन्न सामाजिक कामहरु गर्न सफल भएको बताए । अस्पतालहरुमा विभिन्न उपकरण हस्तान्तरण, वृक्षारोपण, विभिन्न विद्यालयमा पिउने पानी जडान, विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोगसँगै आफ्नो कार्यकालमा सोचेभन्दा बढी प्रोजेक्ट गर्न सफल भएको बताए । विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई उनले धन्यवादज्ञापन गरे । साथै उनले नव कार्यकालका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

वर्ष २०२२/०२३ का अध्यक्ष गरैको अध्यक्षता, २०२२–२३ का डिष्ट्रिक गभर्नर जितेन्द्रबहादुर राज भण्डारीको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपापालिकाका नगरप्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपापालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सैनामैना नगरपापालिकाका नगरप्रमुख फणिन्द्र शर्मा, डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजू, आइपिडिजी आरआइडी ३२९२ सन्तोष रिजाललागायतको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि भण्डारीले रोटरी क्लबको स्थापनाले समुदायको क्षमता विकाससँगै आयआर्जन र उत्पादनका कार्यमा समुदायको उत्साह बढाउने काम भएको बताए । यो क्षेत्रमा रहेका अन्य क्लबहरुसँग सहकार्य गरी संयुक्त रुपमा अगाडि बढ्ने हो भने ठुला प्रोजेक्टहरु सहज रुपमा सम्पन्न गर्न सकिने उनले बताए । नयाँ कार्यसमितिले आगामी दिनमा गर्ने नयाँ प्रोजेक्टहरुमा सधैं सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धत जनाउँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

विशिष्ठ आतिथिसमेत रहेका बुटवल, तिलोत्तमा र सैनामैनाका नगर प्रमुखहरुले विकास र समृद्धिका लागि विभिन्न सामाजिक संस्थाहरुको खाँचो रहेको औंल्याए । समाज रुपान्तरणको अभियानमा रोटरीले गरेको योगदानको प्रसंसा गर्दै सामाजिक संघसंस्थाहरुमध्ये रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आफूलाई अग्रणी संस्थाका रुपमा स्थापित गर्न सफल भएको बताए । सामूहिक रुपमा जुटेर काम गर्ने हो भने त्यसबाट बढी सफलता पाप्त हुने बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सचेत नागरिकका हिसाबले आफूहरु पनि सामाजिक कार्यमा रोटरीसँगै सहकार्य गरेर सामाजिक कामहरु गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले रोटरीको स्थापनाको मूल मर्म नै समाजको हित भएको बताउँदै सामाजिक कार्यका लागि नेपालका रोटरीहरुको सक्रियता अझै बढाउनुपर्ने आवश्यकता रहेको बताए । समाज र देशमा रोटरीहरुले महत्वपूर्ण काम गर्दै आइरहेको भएपनि सरकारबाट सहयोग नपाएको गुनासो गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष टंक पोखरेल, सञ्जय गिरी, प्रकाश बस्नेत, राजेन्द्र ध्वजूलगायतले आ–आफ्नोे धारणा राख्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । गणेशप्रसाद अधिकारीको स्वागत र वर्ष २०२२/०२३ का सचिव पुरन ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । क्लबमा हाल १ सय ८ जना सदस्य रहेका छन् ।