वाक स्वतन्त्रताको सम्मान गरि प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुको आग्रह

मेचीकाली संवाददाता

३ श्रावण २०७९, मंगलवार
306 shares

बुटवल । वाक स्वतन्त्रताको सम्मान गरि प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभामा वडा अध्यक्षमााथि इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले दुर्व्यवहार गरेको घटना प्रति मानव अधिकारकर्मीहरूले साउन २ गते प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गर्नुका साथै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमा तिलोत्तमा नगरपालिकाका नगर सभामा भएको उक्त घटनाले आम नागरिकलाई सुरक्षा दिन बसेका निकायको कार्यान्वयन गर्ने र निर्देशनात्मक आदेश दिन सक्ने अधिकारीबाटनै यस्तो खालको घटना हुनु गैर कानुनी हुनुका साथै नेपालको संविधान र अन्तराष्ट्रिय सन्धि सम्झौता बिपरित भएको हाम्रो ठम्याई छ भनिएको छ ।
यसैगरी, आफ्नो राष्ट्र, वडा वा स्थानीय तहका नागरिकको हक अधिकार वा आवश्यकता प्रस्तुत गर्ने र त्यसका बारेमा वकालत गर्ने जिम्मेवारी आम नेपाली नागरिकको भएको र जन निर्वाचित वडा अध्यक्षले आफ्नो नगर र वडाको समस्या राख्न पाउनु पर्ने अवस्थामा प्रहरीको उच्च पदस्त कर्मचारीबाटनै यस्तो खालको दुर्व्यवहार हुनु लज्जाष्पद् र खेदपूर्ण रहेको विज्ञप्तीमा उल्लेख छ ।

मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तराष्ट्रिय सन्धि महासन्धिले वाक स्वतन्त्रताको हकलाई स्थापित गर्नुको साथै वाक स्वतन्त्रतासँगै राजनीति गर्न पाउने, आफ्नो व्यक्तिगत तथा आफू सम्बद्ध राजनीतिक दलको अभिमत व्यक्त गर्न पाउने अधिकार भएको भनिएको छ ।उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका सचिव पदम पाण्डे, एफडब्लुएलडी, नेपालगञ्जका संयोजक अधिवक्ता सुनिल श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालगञ्जका संयोजक बसन्त गौतम, मानवअधिकारकर्मी अधिवक्ता शिव गौडेलद्वारा संयुक्तरुपमा प्रकाशित विज्ञप्तीमा यस्ता खालका घटना हुनु वाक स्वतन्त्रता बिपरित हुनुका साथै सुरक्षाकर्मीको व्यवसायिकता र पदीय मर्यादा बिपरित भएको, प्रहरीको जिम्मेवार पदमा रहेका पदाधिकारीबाटै यस्ता खालका क्रियाकलाप हुनु मानव अधिकारका मुल्य मान्यता सिद्धान्तको प्रतिकुल कार्य भएकोले यस घटनामा संलग्न आरोपितलाई कानुनी कारबाही गर्नुको साथै यस किसिमका घटना हुन नदिन सम्बद्ध पक्षसँग हामी जोडदार माग गर्दछौ भनिएको छ ।