सुविना गिरीको पोस्टमार्टम रिपोर्टः झुण्डिएको नभई घाँटी याँकेर र थिचेर हत्या

मेचीकाली संवाददाता

४ श्रावण २०७९, बुधबार
444 shares

बुटवल, असार ९ । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा रहस्यमय मृत्यु भएकी तिलो त्तमा–६ पश्चिम पहुनीकी २५ वर्षीय सुविना गिरीको पोस्टमार्टम रिपोर्ट आएको छ । फरेन्सिक विज्ञले गरेको पोस्टमार्टम रिर्पोटमा घाँटी याँकेर र थिचेर मारिएको उल्लेख छ ।
सुविनाका पती ३८ वर्षीय सञ्जय गिरीले सुरुमा झुण्डिएर मृत्यु भएको झुटो दाबी गर्दै आएका थिए । पतिले घरदेखि केही परको होटलमा मध्यरातमा झुण्डिएको र आफुले पासो खोलेको दाबी गर्दै आएका थिए । जुन दाबी पोस्टमार्टम रिर्पोटले झुट ठहर गराएको छ ।

यद्यपि घटनास्थल भनिएको स्थान नजिकै रहेका कुनै छिमेकी, आफन्ती नै खबर नगरी, प्रहरीमा समेत जानकारी नगराई हस्पिटलमा लगेको बताएका थिए । मणिग्राम स्थित क्रिमसन हस्पिटलमा पु¥याएपछि त्यहाँ डाक्टरे पहिल्यै मृत्यु भइसकेको बताएका थिए । त्यसपछि मात्रै (राति ३ बजेपछि) सञ्जयले आफ्ना मामा मेघराज पुरीमार्फत माइतीमा खबर गराएका थिए ।
सुविनाका माइतीले भने आत्महत्या नभई हत्या भएको र हत्यामा संलग्नहरुलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । पोस्टमार्टम रिपोर्ट आएसंगै माइतीले पति सञ्जय र उनका सहयोगीका रुपमा सञ्जयका भान्जा करिब २१ वर्षीय कुशल गिरीलाई अनुसन्धान गर्न माग गर्दै किटानी जाहेरी दिएका छन् । जाहेरीसंगै घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ ।

सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६, डण्डा पिप्रेनी बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्टमा झुण्डिएको नभइ घाँटी याँकेर र थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएको र पक्राउ गरि अनुसन्धान गरिएको डीएसपी केसीले बताए । सुविनाका बाबुको जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ‘पोस्टमार्टम रिपोर्टमा झुण्डिएर नभइ ‘ओभरप्रेसर अफ नेक’ का कारण मृत्यु भएको र यो आत्महत्या नभएको भन्ने यकीन भएको रिपोर्टक आएकाले घटना थप शंकास्पद छ । अब आरोपीतबाट पनि धेरै कुरा खुल्छ र मसिनोगरी अनुसन्धान गर्छौं,’ डीएसपी केसीले पत्रकारहरुसमक्ष बताए ।

सुविनाका श्रीमान् सञ्जयले सुविनलाई तिलोत्तमा–६ पश्चिमपहुनीमा आफैले सञ्चालन गर्दै आएको मिलन फेमिली रेष्टुरेण्टको कोठामा जेठ ३० गते राति एक बजे झुण्डिएको अवस्थामा फेला पारेको दाबी गर्दै आएका थिए । तर, उनले त्यसबेला होटलसंगै जोडिएको घरका छिमेकीलाई खबर नगरी पारी रहेका साथीलाई ‘बुढी बेहोस् भएको र हस्पिटल लैजान आउनुस् भन्दै बोलाएका थिए ।
त्यसरी बोलाएका केही पर घर रहेका छम पौडेलले आफुले हस्पिटलमा आएर डाक्टरले पहिल्यै मरिसकेको भनेर बताएको र संगसंगै हस्पिटलका प्रहरीले सोधपुछ गरेपछि मात्रै झुण्डिएको भन्ने सुनेको बताएका थिए । उनले सञ्जयले झुट बोलेर गाडीसहित बोलाएको भन्दै भने– ‘सुरुमै झुण्डिएको भनेर सूचना पाएका भए मैले गाडीमा हालेर लैजाने थिइन बरु पहिला प्रहरीलाई नै खबर गर्थे ।’

सुविनालाई अस्पताल पु¥याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए । यता सुविनाको घाँटी थिचेर मृत्यु भएको पुष्टि भएकाले दोषीलाई कारबाही गर्न सुविनाका आफन्तले माग गरेका छन् । सुविनाका बाबु नरु गिरीले पोस्टमार्टम रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गरे । ‘पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर हत्या भएपछि झुण्ड्याइएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कारबाही हुनुपर्छ,’उनले भने ।
यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनि जाहेरी दिएका थिए भने बुधबार किटानीसहितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मध्यरातमा आफ्नै आगाडि झुण्डिएको र आफँैले हस्पिटलमा ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको बयान समेत नमिलेको देखिएकाले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ ।

गत जेठ ३० गते राति घरदेखि केही परको होटलमा झगडा भएपछि सोही होटलको कोठामा सुविना एक्कासि झुण्डिएको सञ्जयको बयान थियो । झुण्डिएको हो वा होइन भन्नेमै आशंका रहेका बेलामा आएको पोस्टमार्टम रिपोर्टले भने झुण्डिएर मृत्यु नभएको यकिन गरिदिएको छ ।
‘घाँटीमा हातले थिचेको छ, टाउकोमा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन,’ फरेन्सिक विज्ञ डा.आहना श्रेष्ठ भन्छिन् । झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शंकास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए ।
झुण्डिएको भनिएको दिन बिहानैदेखि दिउँसोसम्म घरमा झगडा भएको, नन्द, अमाजूलगायतले पनि गाली गलौज गरेको, अघिल्लो रात पतिले मदिरा सेवन गरी कुटपिट गरेको, आफ्नै सामुन्ने कुटपिट गर्दा पनि सासूले रोक्ने पहल नगरेको र मानसिक तथा शारीरिक यातना दिनदिनै दिने गरेको खुलेको माइती पक्षको दाबी छ ।

सुविनाकी फुपू बुटवल देविनगरकी छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति (सञ्जय) र परिवार तथा नातेदारको भूमिका शंकास्पद लागेको र पतिले योजना बनाएरै हत्या गरेको दाबी गरिन । झुण्डिएर मरेको भन्ने कुरा पोष्टमार्टममा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको दाबी गर्दै उनले प्रहरीले राजनीतिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरिन ।
सुविनाका काका कावासोती निबासी निमु गिरीले सञ्जय गिरी आफ्नै ससुरासंग झण्डै तीन वर्षदेखि बोलचाल समेत गर्दैनथे । उनले सुविनालाई राम्रो व्यवहार नगर्ने, नामले नबोलाउने, घरमा प्राय रक्सी पिएर कुटपिट गर्ने, कुटपिट गर्दा पनि सासु (सञ्जयकी आमा सुमी गिरी)ले रमिता हेर्ने र उल्टै बुहारीलाई नै गाली गर्ने गरेको, सुविनाकी नन्द बसन्तीले पनि भाउजुलाई गरिब माइती, भिखारीकी सन्तान भन्दै अपमानजनक गाली गलौज गर्ने गरेको थाहा पाइएको बताए । यी परिवेश र विवरणले पनि सञ्जयले एक्लै हत्या गरे वा त्यो मध्यरातमा अरु कसैको सहारा लिए त्यो प्रहरीले राम्रोसंग अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

त्यसरात सञ्जयले आफैले फोन गरेर सुविनालाई बोलाएको र लगत्तै भान्जालाई फोन गरेर बोलाएको र केही बेरपछि भान्जाले हजुरआमालाई माइजु बिरामी परेर हस्पिटल लैजान लागेको भन्दै फोन गरेको बताइएको छ ।
सुविनाका ६ वर्षकी छोरी र दुई वर्षका छोरा छन् । तिनलाई खुवाएर सुताएर, केही बेर माइतीमा बहिनी र अर्की साथीसंग फोनमा कुरा गरेर सुत्ने तरखर हुँदा सञ्जयले फोन गरेर होटलमा आइज भनेर बोलाएपछि उनले सासुलाई आफुलाई होटलमा बोलाएको र नानीबाबु सुतेका छन् हेर्नुहोला मेरो फोन पनि यहीँ छ आमा (सासु) भन्दै जानकारी गराएको र संगै रहेका भान्जा (कुसल)लाई काम परे मामाको मोबाइलमा फोन गर्नुहोला भन्दै हिंडेको केही बेरमा बेहोस् भएको खबर आएको भनेर सासु (सुमी) ले बताएकी छन् ।

शरीरमा लागेको चोटपटक, भुत्लाइएको कपाल, चिउडो, छातीलगायतका ठाउँमा नङका डाम, विभिन्न ठाउँमा निल डाम प्रष्टै दिखिएको, घरका मान्छेको व्यवहार पनि सुरु देखि नै शंकास्पद देखिएकाले पनि सुरुमै आत्महत्या नभई हत्या हो भन्ने निष्कर्षमा पुगेको सुविनाकी फुपु छमाको भनाइ छ । सुविनाको मृत्युपछि दुई नाबालक सन्तानको संरक्षण, हेरचाह र भविष्य सुनिश्चितता गर्नुपर्ने छिमेकीहरुको माग छ । यसबारेमा सुविनाका परिवारले कुनै निर्णय भने लिएका छैनन् । सञ्जयका माइलोबाका छोरा लक्ष्मण गिरीले १३ दिनको क्रियाकर्म सकेर सन्तानको लालनपालनका विषयमा माइती पक्षसँग छलफल गरी निर्णय लिने बताए ।