पत्रकार महासंघको विज्ञप्तिप्रति तिलोत्तमा उपप्रमुख चौधरीको ध्यानाकर्षण

मेचीकाली संवाददाता

४ श्रावण २०७९, बुधबार
547 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
बुधबार विज्ञप्तिमार्फत उहँँले पत्रकारले नगरपालिकाको नगरसभाको माइन्युट झोलामा लिएर हिँडेको देखेपछि माग्दा नदिएका कारण झोला खोलेर माइन्युट लिएको विषयलाई दुव्र्यवहार भयो भनेर अतिरञ्जित गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

“साउन १ गते आइतबार तिलोत्तमा नगरपालिकाको नगरसभा आयोजना गरिएको थियो । केही दिनदेखि विवादका कारण स्थगीत हुंदै आएको नगरसभा त्यसदिन पनि विवादका कारण अगाडि बढ्न सकेन । जुन माइन्यूटका कारणले विवाद उत्पन्न भई नगरसभा स्थगित हुंदै आएको थियो, सोही माइन्यूट लुकाउने नियत देखेपछि हामीले त्यसको निगरानी गरिरहेका थियौं । निगरानीकै क्रममा नगरसभाभित्र रहनुभएका राज्य टेलिभिजनमा कार्यरत पत्रकार यमलाल भुसालले उक्त माइन्युट झोलामा राख्नुभएको हामीले देखेका थियौं”, विज्ञप्तिमा उल्लेख छ ।
नगरसभा स्थगित भएपछि मूल ढोकामा बसेर पत्रकार भुसालसंग झोलाभित्र राखिएको उक्त माइन्यूट दिन आग्रह गर्दा झोलाभित्र केही पनि छैन भन्दै झोला खोल्न आनाकानी गरेपनि अन्ततः उक्त झोलामै माइन्यूट भेटिएको उपप्रमुख चौधरीले दाबी गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ , “तथापि पत्रकार यमलाल भुसालले उक्त झोला आफ्नो नभएर पत्रकार रेखा भुसालको भएको बताउनुभएको थियो । हामीले झोला जसको भएपनि यसमा हाम्रो माइन्यूट छ भन्ने दावी गर्यौं र माइन्यूट भेटाएर लियौं ।”
उपप्रमुख चौधरीले पत्रकार महासंघ रुपन्देहीलाई के नगरसभाको माइन्यूट अनाधिकृत व्यक्तिले आफ्नो झोलामा राखेर निस्कन मिल्छ ? स्वतन्त्र पत्रकारको नाममा के एकजना पत्रकारले सरकारी कागजात लिएर हिड्न मिल्छ ? उहाँले कुन नियतले नगरसभाको माइन्यूट आफ्नो झोलामा लिएर बाहिर निस्कनु भयो ? भन्ने प्रश्न गर्दै जुनसुकै नियतले भएपनि सरकारी कागजात पत्रकारले झोलामा लिएर हिंड्नु स्वतन्त्र पत्रकारिताको धज्जी उडाउनु भएको उल्लेख गर्नुभएको छ ।

पदीय हिसावले सरकारी कागजातको संरक्षण गर्नु आफ्नो दायित्व भएको बताउँदै उपप्रमुख चौधरीले कुनै पनि पत्रकारमाथि लान्छना लगाउनु र दुव्र्यवहार गर्ने नियत नभएको प्रष्ट पार्नुभयो ।
“मैले पत्रकारको झोलाबाट माइन्यूट मात्र माग गरेकी हुँ । माइन्युट दिन नमानेपछि हामीले झोला खोलेर हेर्दा माइन्युट पाइएको साचो हो । यसै विषयलाई अतिरञ्जित गरी दुव्र्यवहार भन्दै विज्ञप्ति निकाल्नु पत्रकार महासंघजस्तो सस्थालाई सुहाउने विषय हैन । झोला खोल्दा के भेटियो ? त्यसबाट के परिणाम निस्कियो ? त्यसले के कस्ता विषयहरु पर्दाफास भए ? त्यसमा को कसको मिलेमतो देखियो भन्ने कुरा स्पष्ट छंदाछंदै पत्रकार महासंघले जारी गरेको विज्ञप्तिबाट म आश्चर्यचकित छु”, विज्ञप्तिमा भनिएको छ ।

यदि पत्रकारलाई दुव्र्यवहार र अभद्र व्यवहार गरेको भए कारवाही भोग्न तयार रहेको जनाउँँदै उहाँले पत्रकार आचारसंहिताको उल्लंघन गर्नेहरुमाथि आबश्यक कारवाहीका लागि पत्रकार महासंघसँँग माग गर्नुभएको छ ।