बुद्धभुमीमा निःशुल्क चश्मा वितरण

मेचीकाली संवाददाता

७ श्रावण २०७९, शनिबार
268 shares

सुनिल आचार्य
कपिलवस्तु। हेल्पिङ ह्याण्डस हेल्थ एण्ड एजुकेशन ईन्टरनेशनलको आर्थिक सहयोगमा प्राप्त भएको नजिकको दुरीको लागि उपयोगी हुने चश्मा बुद्धभुमी नगरपालिकामा निःशुल्क वितरण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्गर्तत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोग र बुद्धभुमी नगरपालिकाको स्थानीय व्यवस्थापनमा आयोजना गरिएको निःशुल्क चश्मा वितरण कार्यक्रममा बुद्धभुमी नगरपालिकाका वडा नं.१ देखि १० सम्मका ४० वर्ष माथिका जनप्रतिनिधीहरु र नगरपालिकामा कार्यरत कर्मचारीहरु समेत गरी ५८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको हो ।

उक्त चश्माको सहायताले नजिकको लेखपढ र अन्य मसिनो कार्यहरु गर्न सजिलो हुने अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालले जानकारी दिइन् । साथै चश्मा कार्यालयको कामकाज गर्नको लागि अति नै उपयोगी हुने समेत उनले बताइन् ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता र बुद्धभुमी नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजले आँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको र अस्पताल सिंगो कपिलवस्तु जिल्लाकै गहना भएकाले यसको स्तरोन्नतीको लागि सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।

उनले आर्थिक वर्ष २०७९÷०८० को नगरपालिकाको बजेट मार्फत अस्पतालको भौतिक पुर्वाधार र निःशुल्क आँखा शिवीरको लागि बिनियोजन गरिएको बताए । साथै अब छिट्टै नै अस्पताल र नगरपालिकाबीच सम्झौता गरेर यस अघि संचालन हुदै आइरहेको साप्ताहिक आँखा उपचार क्लिनिकलाई पनि निरन्तरता दिइने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालले अन्धोपन न्युनीकरणको लागि आँखा अस्पताल र बुद्धभुमी नगरपालिकाबीचको समन्वय र सहकार्य बिगतका बर्षहरुदेखि नै हुँदै आएको र साप्ताहिक आँखा उपचार क्लिनिकको माध्यमबाट नगरबासीहरुले आप्mनो घरदैलोमा नै आँखा स्वास्थ्य सेवा पाइरहेको र नगरपालिकाले अस्पताललाई गरेको सहयोगको लालि नगर प्रमुख र नगरपालिका परिवारलाई धन्यबाद दिए ।

साथै आगामी दिनहरुमा पनि नगरपालिकाबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उनले बताए । निःशुल्क चश्मा वितरण कार्यक्रममा छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र अधिकृत ओपेन्द्र चन्द, नेत्र सहायक सरताज हुसेन, ल्याब टेक्निसियन देबराज शर्मा, मधु खड्का लगायतको प्राविधिक टोलीले सेवा दिएको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।