एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चको दोस्रो अधिवेशन

मेचीकाली संवाददाता

८ श्रावण २०७९, आईतवार
329 shares

बुटवल। नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चको दास्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बिच सम्पन्न भएको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जिल्लाभन्दा बाहिर बसेपनि जिल्लाको समग्र विकासका लागि हातेमालो गर्नुपर्ने बताए । विभिन्न पेशा व्यवसायमा आबद्ध भएपनि आफ्नो जन्मभूमिका लागि थोरै भएपनि समय छुट्याएर सामाजिक काममा सामेल हुनुपर्नेमा उनले जोड दिए ।

पूर्वमन्त्रीसमेत रहेका नेता ज्ञवालीले आउँदो निर्वाचनलाई लक्षित गरेर पार्टीको काममा लाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । एमाले एक्लै चुनाव लड्न तयार रहेको उनले बताए ।
एमाले सचिव गोकर्ण विष्ट, पोलिटब्यूरो सदस्य तथा प्रदेश सांसद लिला गिरी, नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी, नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष बालसिंह काउछा, लुम्बिनी समन्वय कमिटि सचिव श्रीप्रसाद पाण्डेलगायतले बोल्दै मञ्चबाट नियमित रुपमा कुनै न कुनै रचनात्मक क्रियाकलापहरु सञ्चालन भइरहनुपर्ने, आफ्नो पदीय जिम्मेवारीलाई स्वीकार्दै इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने, व्यक्तिको योगदानलाई सम्मान गर्ने गरी मूल्यांकनको नयाँ प्रणाली विकास गर्नुपर्नेलगायत विषयवस्तुहरुमा जोड दिएका थिए ।

यो गुल्मीबाट रुपन्देहीमा आई अध्ययन सँगै विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरुको संगठन हो । कार्यक्रममा ७ सय भन्दा बढीको सहभागीता रहेको थियो । देवराज खनालको अध्यक्षता, रेशम महतको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य केदारचन्द्र भुसालले गरेका थिए ।