पाल्पा बस दुर्घटनाः सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

मेचीकाली संवाददाता

९ श्रावण २०७९, सोमबार
239 shares

बुटवल । पाल्लामा आइतबार बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसीकोट नगरपालिका ७ का ४० वर्षीय लाल बहादुर राना, रुपन्देही देवदह नगरपालिका ७ की ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ का ४५ वर्षीय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ वर्षीया पूर्णीमा कामी र बागलुङ बडिगाड गाउँपालिका १० की ५५ वर्षीया यमकलि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

बागलुङको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो । त्यस्तै दुर्घटनामा बस चालक रुपन्देहीको कन्चन गाउँपालिका ५ का ३३ वर्षीय किषन श्रीस, बागलुङको बडीघाट गाउँपालिका १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ का ५७ वर्षीय गोविन्द थापा, गुल्मीका चन्द्रकोट गाउँपालिका ८ की २१ वर्षीया रचना सुवेदी, सोही ठाउँका ६ वर्षीय रिया सुवेदी, १८ वर्षीया प्रियंका काफ्ले, ३१ वर्षीय चन्द्र बहादुर कामी, कपिलवस्तुको वाणगंगा नगरपालिका २ का ४२ वर्षीय पिताम्बर रेग्मी घाइते भएका थिए ।

त्यसैगरी गुल्मीको सत्यवती गाउँपालिका ६ का ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँका १५ वर्षीय पुजन ढकाल, नवलपरासीको वर्दघाट नगरपालिका ५६ वर्षीय अम्मरे कामी, बागलुङको पाटनका ३० वर्षीय टेकलाल रसाइली, रौतहटको विरेन्द्रवन ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर, म्याग्दीको रुमा गाउँपालिका २ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँका ४ वर्षीय बिस्वाश रोका, रुपन्देहीको देवदह नगरपालिका ७ का खड्क बहादुर बिक घाइते भएका थिए ।

घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिजन थापा, गोविन्द थापा, रचना सुवेदी, प्रियंका काफ्ले, रिया सुवेदी, छबिलाल ढकाल, पुजन ढकाल र अम्मरे कामी रहेका छन् । अस्पतालमा उपचाररत घाइतेहरु मध्ये दुई जनाको अबस्था गम्भीर रहेको छ । घाइतेहरुको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको थियो ।

बसका चालक किसन श्रीसका अनुसार हार्थोक तर्फबाट ओरालोमा झर्दै गरेको मोटरसाईकल गलत दिशामा आएको र त्यसलाई साईड दिने क्रममा चिप्लिएर बस दुर्घटना भएको हो । उनकोे खुट्टामा चोट लागेको छ । आइतबार बिहानदेखी दिउँसोसम्म बस दुर्घटना क्षेत्रमा पानी परेका कारण सडक चिप्लो समेत रहेको स्थानीयको भनाई छ । सडकको डिल भासीएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
उक्त ठाउँ नजिकै यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोेकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए । ओरालो, घुम्ती र साँघुरो सडकका कारण यस क्षेत्रमा वर्षेनी दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ ।