कल सेन्टर खोलेर ठगी धन्दा

मेचीकाली संवाददाता

९ श्रावण २०७९, सोमबार
298 shares

बुटवल । रूपन्देहीमा कल सेन्टरको आवरणमा ठगी धन्दा हुने गरेको प्रहरीले फेला पारेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरमा ब्लू स्काई कल सेन्टर स्थापना गरी त्यहाँबाट ठगी गर्ने गिरोहको ‘नेटवर्क’ सम्म प्रहरी पुग्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय, रूपन्देही प्रमुख एसपी रवीन्द्र रेग्मीले नेपालमा कल सेन्टर स्थापना गरी भारतमा ठगी धन्दा गर्ने नेटवर्क रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।

तर, नियन्त्रणमा नेटवर्कबाट कहाँकहाँ ठगी धन्दा र ‘ब्ल्याकमेलिङ’ भइरहेको छ भन्नेमा अनुसन्धान भइरहेको एसपी रेग्मीको भनाइ छ । उनीहरूले मुख्य गरेर इन्टरनेटबाट व्यक्तिको विस्तृत विवरण पहिचान गरेर उनीहरुको कम्प्युटरमा सन्देश पठाउने गरेको देखिन्छ ।
कल सेन्टरका १ जना भारतीय नागरिकसहित ९ जना सञ्चालक र त्यहाँ काम गर्ने १५० भन्दा बढी किशोर÷किशोरीलाई आइतबार नियन्त्रणमा लिएको जानकारी दिए । रेग्मीले हालसम्म प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा प्रमुख निशानामा भारतीय नागरिक देखिएको बताए ।

४ तल्लाको घरमा ३ वटा ‘फ्ल्याट’ भाडामा लिएर ३०० वटा कम्प्युटर राखेर त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाइने गरेको छ । बेरोजगार युवाहरूलाई जब लिंकको माध्यमबाट काममा लगाइएको खुलेको छ । उनीहरूले मासिक १० हजारदेखि ४० हजारसम्म तलब पाउने गरेको पक्राउ परेकाहरूले बताएका छन् ।

उनीहरूले ह्वाटसपमार्फत फोन गर्ने, फोनबाट त्यसबाट फोन गर्ने व्यक्तिको डिटेल लिने र व्यक्तिको उसको फोटा ‘नेगलेट’ अश्लिल बनाउने र हवाटसपमार्फत तानेका नम्बरमा आफन्तलाई पठाइदिएर पैसाको मोलमोलाई गर्ने बुझिएको छ । उक्त कल सेन्टर लामो समयदेखि सञ्चालनमा रहेको बुझिएको छ । उनीहरुबाट अहिलेसम्म नेपाली पीडित भएको जानकारी प्रहरीसम्म आइपुगेको छैन । प्रहरी अन्य विस्तृत अनुसन्धानको लागि सबै क्षेत्रमा परिचालित भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।