युवतीको निजी तस्विर दुरुपयोग गरेर ब्ल्याकमेलः यौन सम्पर्क गर्न नमानेपछि जबर्जस्ती करणीको प्रयास

मेचीकाली संवाददाता

९ श्रावण २०७९, सोमबार
346 shares

रमेश पराजुली
बुटवल । युवतीको निजी तस्बिर दुरुपयोग गरी ब्ल्याकमेलिङ गर्दै जबर्जस्ती करणी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ९ का दुई युवक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ । रुपन्देहीको सैनामैनाकी १९ वर्षीया युवतीले एकवर्ष अघि आफ्नो मोबाइलमा खिचेका निजी तस्बिर फेला पारी उनिहरुले ब्लाकमेलिङ सुरु गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा गएको टोलीले गैडहवा–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोरलाई शनिबार राति १ बजे सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारबाट पक्राउ गरेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए । यौन सम्पर्क गर्न अस्वीकार गरेपछि जबर्जस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको थियो ।

आफ्ना निजी तस्बिर सामाजिक सञ्जाल र आफन्तलाई पठाएर भाइरल बनाइदिने डर धम्की दिँदै आफूसँग यौन सम्बन्ध राख्न प्रस्ताव गरेको पीडित युवतीको भनाइ छ । रातको समयमा एकान्त ठाउँमा रुँदै गरेको अवस्थामा भेटिएकी युवतीले आफू ब्ल्याकमेलिङमा परेको प्रहरीलाई बताएकी थिइन् ।

यसरी सुरु भयो ब्ल्याकमेल
करिब डेढ बर्ष पहिले युवतीले आफ्नो मोबाइलमा खिचेका निजी तस्विरहरु अपरिचित व्यक्तिले फेला पारेपछि ब्ल्याकमेलिङ सुरु भएको युवतीले प्रहरीलाई दिएको बयानमा बताएकी छिन् ।
ती फोटाहरु युवतीकी बहिनी नाता पर्ने एकजनालाई केही दिन अघिदेखि पठाएर ‘तेरो दिदीको बेइज्जत गरिदिन्छु, फोटो भाइरल गराइदिन्छु, यदि इज्जत बचाउने हो भने दिदीलाई मैले भनेजस्तो गर्न भन्’ भन्दै म्यासेज पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि ती युवतीले आफ्नो इज्जत जाने डरले ती अपरिचित व्यक्तिलाई आफ्नो फोन नम्बर दिएको पाइएको छ । नम्बर पाएपछि पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाइरल गराइदिन्छु भनी डर धम्की दिएपछि ती युवती शनिबार साँझ भेट्न तयार भएको प्रहरीले जनाएको छ ।
यहीबीचमा प्रहरीको नियन्त्रणमा रहेका दुई युवकले सैनामैना कलौनीमा रहेको मेडिकलबाट करिब साढे ६ बजेतिर ३ प्याकेट (१२ पिस) कण्डम किनेर युवतीको प्रतिक्षामा सोही ठाउँमा बसेको प्रहरीले जनाएको छ ।

साँझ करिब आठ बजेको आसपासमा ती युवकसँग युवतीको भेट भएको थियो । फोटो डिलिट गरिदिन युवतीले अनुरोध गरेपनि उनीहरुले यहाँभन्दा केही तल आमी भन्ने ठाउँमा जाऔँ, अनि त्यही बसेर फोटाहरु डिलिट गरौँला भनी ९ बजे अटोमा चढाई दुई किलोमिटर टाढा कञ्चन गाउँपालिकाको हात्तिबजारमा लगेको युवतीले बताएकी छिन् ।

त्यहाँ पुगेपछि ती युवकहरुले यौन सम्पर्क गर्न नदिएसम्म फोटोहरु डिलिट नगर्ने भन्दै आफ्नो इज्जत बचाउने भए यौन सम्पर्क गर्नुपर्छ भन्दै जबर्जस्ती करणीको प्रयाससमेत गरेको युवतीले प्रहरीसँग बताएकी छिन् ।
त्यसपछि युवती त्यहाँबाट भागेर कलौनि–लुम्बिनी मूलबाटोमा निस्किएको खुलेको छ । युवती भागेपछि पुनः ती युवकले फोन गरेर भोलि बिहान फेसबुकमा तस्बिर भाइरल गराइदिने धम्की दिएपछि एकान्त ठाउँमा रुँदै बसेको अबस्थामा राति पौने ११ बजे प्रहरीको गस्ती टोलीसँग भेट भएको थियो ।

पीडित युवतीले प्रहरी निरीक्षक मरासिनीलाई आफू ब्ल्याकमेलिङमा परेकोले आफूलाई बचाउन अनुरोध गरेपछि प्रहरी युवतीलाई बलात्कारको प्रयास गर्ने युवाहरुको खोजीमा लागेको थियो ।
प्रहरीले खोजी गर्ने क्रममा ती युवकलाई राती १ बजे सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारबाट पक्राउ गरेकोे हो । उनीहरुको साथबाट ब्ल्याकमेलिङमा प्रयोग भएको एउटा स्मार्टफोन र १२ थान कण्डम बरामद भएको प्रहरी निरीक्षक मरासिनीले बताए ।
पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।