एक हजारको लोभमा श्रीमतीको विभत्स हत्या

मेचीकाली संवाददाता

१२ श्रावण २०७९, बिहीबार
391 shares

बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई विभत्स हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार कञ्चन–१ की सावित्रा थापा क्षेत्रीलाई श्रीमान यमबहादुर थापाले बुधबार राति घरमै हत्या गरेका हुन् ।

सावित्राले एक हजार रुपैयाँ नसोधी झिकेको भन्दै मदिरा सेवन गरेको झोकमा सुतिरहेकी सावित्राको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बुधबार साँझ यमबहादुरले घर नजिकै रहेको पसलमा मादक पदार्थ सेवन गरी आएर सुतेकोमा उनकी श्रीमती सावित्राले पनि दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ निकालेर मादक पदार्थ सेवन गरी घरको आएर सुतेको प्रहरी निरीक्षक मरासिनीले बताए । यमबहादुर ३३ र सावित्रा ३१ वर्षिया हुन् ।

रातको करिब २ बजेको समयमा यमबहादुर उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भनेर कुटपिट गरेको खुलेको छ । यम बहादुरले मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकाइदिएर श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी निरीक्षक मरासिनीले बताए ।

‘मृतकलाई टाउकोमा गहिरो चोट लागेको छ । कपालमा काठको टुक्राहरू र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामहरु समेत देखिएको मृत शरीर फेला परेको थियो ।’, प्रहरी निरीक्षक मरासिनीले भने । यमबहादुरलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

घाँस काट्न गएकी युवतीमाथि बलात्कारको प्रयास
सैनामैनामा घाँस काट्न जंगल गएकी युवतीलाई जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई पक्राउ गरिएको छ । घाँस काट्न जंगल गएकी युवतीलाई सैनामैना नगरपालिका ५ का ४८ वर्षीय निलमणी दमाईले सहयोगको नाममा करणी प्रयास गरेका थिए ।

सैनामैना नगरपालिका तुलबुलिया खोलाको पूर्वपट्टी रहेको नेवारडाँडा जंगलमा घाँस काटिरहँदा ती युवतीलाई बारुलाले चिलेको थियो । त्यसपछि सँगै दाउरा काट्न गएका निलमणिले सहयोग गर्ने बाहानामा युवतीको संवेदनशील अंगहरूमा छुँदै जबर्जस्ती करणी गर्ने प्रयास गरेका थिए ।
दमाईलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए ।