बुटवलको चौराहा–गोलपार्क सडकः काम अपलपत्र पारेपछि ठेक्का तोड्ने चेतावनी

मेचीकाली संवाददाता

१३ श्रावण २०७९, शुक्रबार
556 shares

बुटवल । बुटवल बजार क्षेत्रको निर्माणाधीन सडकको निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएको भन्दै बेलहिया–बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएको र बाह्य समस्याबिना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको छ ।
आयोजना प्रमुख दीपककुमार झाले ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दासमेत सन्तोषजन कार्य प्रगति नभएको बताए । उनले सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिक ठेक्का किन अन्त्य नगर्ने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिए ।

‘ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरण सहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनेका छौँ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन–नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने तयारी छ ।’ आयोजना प्रमुख झाले भने ।
आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ । बिरुवा कन्स्ट्रक्सन प्रालि मध्य बानेश्वर काठमाडौंले लिएको ठेक्का टिआरआईपी/३३७३१२४/बिबि/०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नम्बर टिआरआईपी/३३७३१२४/बिबि ०७१/०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नम्बर टिआरआईपी/३३७३१२४/बिबि ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी तीनवटा ठेक्का बेलहिया, पड्सरी र बुटवलका हुन् ।

बुटवलको मुख्य बजार क्षेत्रको सडक बेहाल हुँदा वषौँदेखि सर्वसाधारणले समस्या खेप्दै आएका छन् । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक विस्तारको काम तीनपटक म्याद थप्दा पनि पूरा भएको छैन । अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि गत असार ३० मा सकिएको छ । चौराहादेखि पाल्पारोडसम्मको सडक हिलाम्य र धुलाम्य छ । निर्माण कम्पनीले वषौँदेखि अलपत्र पारेको सडकमा पछिल्लो समय सक्रियता देखाउँदै मध्य असारमा सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रको काम सुरू गरेको भएपनि बिचमै काम रोकिएको छ । खाल्डाखुल्डी र खण्डहर सडकमा ट्राफिक जामदेखि सडकमै गाडी फस्ने गरेका छन् । वर्षायामको पानीले अहिले बजार क्षेत्रमा पानी पर्दा जलमग्न हुने गरेको छ । जसका कारण पैदलयात्री र सवारीसाधनहरुलाई समेत आवत/जावतमा समस्या भएको छ ।

दैनिक हजारौं सवारीसाधन र लाखौं यात्रु ओहोरदोहोर गर्ने चौराहा–गोलपार्क खण्डको करिब साढे तीन किलोमिटर सडक विस्तारका लागि ठेकेदार कम्पनी द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले ठेक्का पाएको थियो । चौराहा–गोलपार्क सडक खण्डमा नाली निर्माणको काम अहिले पनि चलिरहेको इन्जिनियर सविता ज्ञवालीले बताइन् ।
‘सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाएर भ्याइएको छैन । खानेपानीको काम पनि भइरहेको छ ।’ उनले भनिन्,‘विद्युत् प्राधिकरणले समयमै विद्युत्का पोल, ट्रान्सफर्मर नसार्दा नालीको काममा थप ढिलाई भएको छ ।’ स्पष्टीकरण चित्त बुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन–नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर २०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको हो । भ्याट र पिएससमेत गरी ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँ ३८ पैसामा सडक निर्माणको ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड भन्दा बढी रकम भुक्तानी लगिसकेको छ ।