निजामती कर्मचारी संगठनद्वारा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाई

मेचीकाली संवाददाता

१४ श्रावण २०७९, शनिबार
544 shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको परिसरमा सरसफाई गरिएको छ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशीक अस्पताल प्रारम्भिक कमिटिको आयोजना तथा नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीको सहजीकरणमा सरसफाई कार्यक्रम भएको हो ।

प्रादेशिक अस्पताल प्रारम्भिक कमिटी अध्यक्ष सीता खनालको अध्यक्षता, नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रमुख आतिथ्यता, नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनाल, केन्द्रीय सदस्य काशीराम आचार्य, प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकाल लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले संगठनलाई अगाडि बढाउन सहिदहरुको योगदान महत्वपुर्ण रहेको बताए । ‘सहिदहरुको सपना पुरा गर्न वर्षको एकदिन कार्यक्रम गरेर मात्र पुग्दैन, उहाँहरुको सपना पुरा गर्न हामीले काम गर्नुपर्छ’ उनले भने । हामीले आफ्नो अधिकार खोज्दा दायित्व बिर्सन नहुनेमा जोड दिए । प्रादेशिक अस्पताललाई प्रदेश सरकारले गौरवको आयोजनका रुपमा अगाडि सारेकोले यसलाई व्यवस्थीत र नयाँनयाँ सेवाहरु थप्दै प्रदेशका नागरीकहरुलाई उपचारका लागि बाहीरका अरु अस्पतालमा जानुपर्ने बाध्यता हटाउनुपर्ने उनले बताए ।

त्यस्तै, प्रादेशिक अस्पतालका मेसु डा. ढकालले अस्पतालमा सरसफाई अतिनै महत्वपुर्ण हुने बताए । ‘अस्पतालमा वर्षको एकदिन मात्र कार्यक्रम गरेर हुँदैन हरेक दिन अस्पताललाई सफा राख्न सकिएन भने अस्पतालबाटै बिभिन्न किसिमका रोगहरु फैलीन सक्छ’ उनले भने ।
पछिल्लो समय डेङ्गुको संक्रमण फैलिदै गएकोले सरसफाईमा बिशेष ध्यान दिनुपर्ने उनले बताए । ‘डेङ्गु नियन्त्रणका लागि हरेक नागरिक आफै सचेत हुनुपर्छ आफ्नो घर वरपर पानि जम्ने ठाउँ भए त्यसलाई पुर्ने, अनावश्यक झाडी र पानि जमेका टाएरहरु हटाएर सरसफाईमा बिशेष ध्यान दिन हो भने यसबाट बच्न सकिन्छ’ उनले भने । अस्पतालका सेवाहरुलाई थप व्यवस्थीत र बिशिष्टीकृत बनाउँदै हरेक नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्ने गरि काम गरिरहेको उनले बताए ।

सरसफाइका क्रममा नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष खनालले अस्पतालमा बिरामीहरुको दैनिक भिडभाड हुने भएकाले सरसफाईलाई बिशेष ध्यान दिनुपर्ने बताए । ‘अस्पतालका बेड, शौचालय लगायत अस्पताल परिसरमा हुने फोहोरबाट छिट्टै रोग फैलिन सक्छ । त्यसैले अस्पताल प्रशासन र कर्मचारीहरुले पनि यस्ता गम्भीर विषयमा ख्याल गर्नुपर्छ ।’ उनले भने ।

प्रादेशिक अस्पताल प्रारम्भिक कमिटी अध्यक्ष खनालले मानव जीवनमा सरसफाई महत्वपूर्ण हुने भएकाले त्यसको सुरुवात प्रादेशिक अस्पतालबाट गरेको बताइन् । त्यस्तै उनले आगामी दिनमा थप सामाजिक काम गर्ने प्रतिबद्धता जनाउँदै सरसफाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिइन् । उपाध्यक्ष विनोद पाण्डेको स्वागत र सचिव सुशील ढकालको सञ्चालनमा कार्यक्रम भएको हो । संगठनले स्मृती दिवसका अबसरमा आइतबार बुटवल–८ सुक्खानगरस्थित मानब सेवा आश्रममा खाद्यान्न वितरण गर्ने कार्यक्रम आयोजना गरेको जनाएको छ ।