भूपु विद्यार्थी समाज पर्रोहा बहुमुखी क्याम्पसको अध्यक्षमा विष्णु खत्री

मेचीकाली संवाददाता

१४ श्रावण २०७९, शनिबार
456 shares

सैनामैना । सैनामैनास्थित पर्रोहा बहुमुखी क्याम्पस मुर्गियामा अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । भू.पु विद्यार्थी समाज पर्रोहा बहुमुखी क्याम्पसको भेला एवम् प्रथम अधिवेशनबाट क्याम्पसको शैक्षिक उन्नयन र रचनात्मक क्रियाकलापका लागि विष्णु खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

नव गठित समितिको उपाध्यक्षद्धयमा अञ्जना खरेल, विजय पाण्डे, सचिवमा शिला खनाल, कोषाध्यक्षमा शिला पचभैया र सह—सचिवमा अस्मित सुबेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी कंडेल, श्रद्धा ज्ञवाली, बन्दना न्यौपाने, गिता अधिकारी र विपशा गौतम चयन भएका हुन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत संयोजक जगन्नाथ गौतमले सपथ ग्रहण गराए ।
बधाइ तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले रचनात्मक काम गर्न आग्रह गर्दै यसका लागि क्याम्पस सहयोग गर्न तयार रहेको बताए । यस क्याम्पसबाट अध्ययन पुरा गरि विद्यार्थीहरुले आफ्नो अध्ययनलाई उच्च शिक्षासम्म निरन्तरता दिदैँ रोजगारीमा समेत संलग्न हुन सक्षम भएकोमा चौधरीले खुसी व्यक्त गरे ।

विशिष्ठ अतिथि क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमले भूपु विद्यार्थीहरु क्याम्पसको एक महत्वपूर्ण अंंग भएको बताए । उनले समितिले सक्रियताका साथ सिर्जनात्मक कामहरुका लागि क्याम्पस प्रशासनले कार्यालय, आर्थिक, एवम् वार्षिक कार्ययोजना लगायतका काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विशिष्ठ अतिथि पूर्व क्याम्पस प्रमुख एवम् समाजका सल्लाहकार चित्र के.सीले यस क्याम्पसमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुको प्रोफाइल तयार गर्नुपर्नेमा जोड दिए । विभिन्न क्षेत्रमा रहेका विद्यार्थीको प्रोफाइल तयार गर्न सकेको खण्डमा विद्यार्थीलाई रोजगारी प्रदान गर्नेदेखि हरेक क्रियाकलामा सहज हुने केसीको भनाइ छ ।

कार्यक्रममा प्राध्यापकहरु जगन्नाथ गौतम,मिना भणडारी, हेमचन्द्र शर्मा, लोकनाथ अधिकारी, दिनेश घिमीरे लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ आवश्यक सहकार्यका लागि सदैव तत्पर रहेको बताए ।
नियमित वैठकलाई निरन्तरता दिई पूर्व विद्यार्थीको प्रोफाइल तयार गर्ने, अतिरिक्त क्रियाकलापहरु गर्ने र क्याम्पस प्रशासनसँग सहकार्य गर्दै अघि बढी कामहरु गर्ने आगामी योजना रहेको समाजले जनाएको छ ।
शनिबार बिहान क्याम्पस सभाहलमा भएको कार्यक्रम विष्णु खत्रीको अध्यक्षता, दिपेन्द्र चापागाइको स्वागत तथा शिला पचभैयाको सञ्चालनमा सम्पन्न भएको हो ।