निजामती कर्मचारी संगठनद्धारा मानवसेवा आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

१५ श्रावण २०७९, आईतवार
633 shares

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको संगठनले आइतबार बुटवल–८ सुक्खानगरस्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता तथा नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बौल्दै एमाले रूपन्देहीका अध्यक्ष केसीले आश्रमलाई सहयोग गरी संगठनले मानविय धर्म निर्वाह गरेको बताए । उनले सबैमा मानविय सेवा हुनुपर्ने बताउँदै सडकमा रहेकाहरुलाई आश्रमले उद्धार गरि राखेकोले सबैले सहयोग गर्नुपर्ने बताए ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आश्रममा आश्रितलाई खाद्य सामग्री वितरण गरिएको संगठनका अध्यक्ष खनालले जानकारी दिए । मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सहयोग तथा सद्भाव रहने विश्वास व्यक्त गरे ।

मानव सेवा आश्रम लम्बिनी प्रदेश संयोजक सरु अधिकारीले आश्रमलाई सम्झेर खाद्यान्न सामग्री सहयोग गरेकोमा संगठनलाई धन्यबाद व्यक्त गरिन् । हाल उक्त आश्रममा महिला, पुरुष र बालबालिका गरि १५० जना रहेका छन् । कार्यक्रमको सञ्चालन संगठनका सचिव जीवन पौडेलले गरेका थिए । संगठनले स्मृति दिवसका अवसरमा आइतबार लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा बृहत सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

को हुन् मनोज, झपेन्द्र र सुरेन्द्र ?
विसं २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले खोटाङ सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थी जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ । लामो समय नेकपा एमाले निकट कर्मचारी संगठनमा आवद्ध रहेर विशेषत जन्मभुमि खत्याड भेगलाई कर्मभुमि बनाएका सुरेन्द्र वि.क मुगु जिल्लामा नेकपा एमाले पार्टीको स्थापना गर्ने मध्यका एक हुन् ।

जुम्लामा रहेको कर्णाली प्राविधीक शिक्षालयबाट अहेवको पढाई पुरा गरि सरकारी सेवामा कार्यरत स्व. वि.कले उच्च शिक्षामा गरिव, दलितहरुको पहुँचलाई ध्यानमा राखेर चर्तुदेव मष्टा क्याम्पसको स्थापनाको लागि क्याम्पस व्यवस्थापन समितिमै रहेर क्याम्पसको श्रोत व्यवस्थापनका लागि जुटेका थिए । विसं २०६४ माघ ८ गते बेलुका ७ बजेतिर क्याम्पसकै लागि श्रोत जुटाउने काममा बस्ती स्तरमा चन्दा संकलन गरेर घर फर्किदै गर्दा हालको खत्याड गाउपालिका वडा नं १० स्थित खड्गडामा कुटपिट गरि निर्ममता पुर्वक हत्या गरिएको थियो ।

कास्कीका झपेन्द्र कार्कीको २०४७ सालको आन्दोलनमा अञ्चलाधिश कार्यालयमा आगजनी गरेपछि त्यहाँका कागजात बचाउन खोज्दा पुलिसको गोलि लागेर मृत्यु भएको थियो ।