ट्रक किनेको पैसा तिर्न नसकेपछि जङ्गलमा लगेर साथीको हत्या !

मेचीकाली संवाददाता

१६ श्रावण २०७९, सोमबार
407 shares

बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिका २ घर भई बुटवलको बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीकै पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षीय कुलचन्द्र गौतम रहेका छन्। लेनदेनको कारण हत्या भएको खुलेको छ।

प्रहरीका अनुसार गौतमले पाण्डेसँग किनेको ट्रकको पैसा तिर्न नसकेपछि कालिज मार्न जाने बहाना बनाएर जङ्गलमा लगी हत्या गरेको खुलेको छ। उनीहरूले पहिले देखिकै चिनजानका साथी हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डिएसपी ठग बहादुर केसीका अनुसार गौतमले पाण्डेको लु १ ख ७७८१ नम्बरको ट्रक १६ लाख रुपैयाँ मूल्य कायम गरी पछि पैसा तिर्ने सर्तमा किनेका थिए। उक्त पैसा दिने भन्दै गौतमले पाण्डेलाई साउन ९ मा बुटवलबाट अर्घाखाँचीको पाणिनी पु¥याएका थिए। गौतमले ट्रकको पैसा तिर्न नसकेपछि हत्या गर्ने उद्देश्यले पाण्डेलाई अर्घाखाँची पु¥याएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

साउन १० मा गौतमले पाण्डेलाई कालिज मार्न जाऔँ भनी पाणिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जङ्गलमा पु¥याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पाण्डेलाई जङ्गलमा पु¥याएपछि फलामको रडले पछाडिबाट टाउकोमा प्रहार गरी हत्या गरेर भीरबाट खसालेको डिएसपी केसीले बताए।

गौतमले घर बनाउँदा र मोटरपार्टस पसल सञ्चालन गर्दाको ऋणका कारण ट्रक किनेको पैसा तिर्न नसकेपछि हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पाण्डे सम्पर्कविहीन भएपछि छोरी सिला पाण्डेले साउन ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले खोजतलास गर्दा साउन १४ गते दिउँसो पाणिनी २ डाँडाकटेरीस्थित सामुदायिक वनमा पाण्डे मृत अवस्थामा फेला परेका थिए।

पाण्डेको हत्या गरेपछि लुकेर भारत जान लागेका गौतमलाई रुपन्देही प्रहरीले आइतबार बेलहिया नाकाबाट नियन्त्रणमा लिएको हो। हत्यामा प्रयोग भएको फलामको रड गौतमले सञ्चालन गरेको बुटवल मैनाबगरस्थित जय मोटरपार्टसमा लुकाइ राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए।