बाशुकी नाग मन्दिरमा भक्तजनको भीड

मेचीकाली संवाददाता

१७ श्रावण २०७९, मंगलवार
359 shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित बाशुकी नाग मन्दिरमा हिन्दू परम्परा अनुसार नागपुजा गरिएको छ । स्थापनाको छोटो समयमै मन्दिरमा मंगलबार भक्तजनको घुइचो लागेको थियो । बाशुकी नाम भूमि संरक्षण गर्ने नागका रुपमा मानिदै आएको छ ।

मन्दिरमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाइएको मन्दिरका लिलाधर लुइटेलले जानकारी दिए । नागपुजाको लागि बुटवलका विभिन्न ठाउँबाट भक्तजनहरु आएका उनले जानकारी दिए । मन्दिर दुई वर्ष अगाडि मात्र सबैको पहलमा स्थापना गरिएको हो ।

घरको मूल ढोकामा नागको चित्र टाँसी नाग पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने विश्वास छ । साथै प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषि मुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको बताइन्छ । त्यसैले नेपालीहरुले घरमा नागको चित्र टाँसेर नागपूजा गरेका छन् ।