बुड्ढी तालमा डुङ्गा सञ्चालन

मेचीकाली संवाददाता

१७ श्रावण २०७९, मंगलवार
280 shares

कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा बुद्धुभूमि नगर पालिकाको गौरवको आयोजनाको रुपमा डुङ्गा सञ्चालन गरिएको हो ।

पर्यटन ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रीना नेपाल र नगर प्रमुख केशव कुमार श्रेष्ठले संयुक्त रिबन काटेर डुङ्गा सयर गरी उद्घाटन गरेका हुन् । मन्त्रालयले बुड्ढी तालको पर्यटकीय विकासका लागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका इन्जिनियर रोशनप्रसाद ताम्राकारले बताए । जस मध्ये ८ लाख लागतको दुई वटा मोटरले चल्ने र दुई वटा पैदलले चल्ने गरी कुल चार वटा डुङ्गा सञ्चालन गरिएको हो ।

तालसहित बुद्धभूमि नगरपालिकाको पर्यटकीय विकासका लागि यो महत्वपूर्ण काम भएको राज्यमन्त्री नेपालले बताईन् । उनले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि समेत बुड्ढी तालको विकासका लागि ६० लाख बजेट विनियोजन गरेको बताईन् । तालको पर्यटकीय विकासका लागि सबैले हातेमालो गर्नुपर्ने राज्यमन्त्री नेपालले बताईन् ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले बुड्ढी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताए । तालको डिपिआर तयार गरी एक अर्ब भन्दा बढी लगानी गर्ने योजना रहेको उनले बताए । बुढ्ढी ताललाई सुन्दर र रमणीय बनाएर पर्यटकलाई आकर्षण गर्ने गरी काम अघि बढाउने नगर प्रमुख श्रेष्ठको भनाई छ ।

कार्यक्रममा पर्यटन डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिप्रसाद पाण्डेयले ८० बिघामा फैलिएको चार वटा पोखरी भएको बुड्ढी तालमा डुङ्गा सञ्चालन भएपछि यसको आकर्षण अझै बढ्ने बताए । तालको समग्र विकास र आयआर्जनका लागि नगरपालिकाले बुड्ढी गाउँबासीको जिम्मामा तालको व्यवस्थापन गर्न दिएको छ । तालमा स्थानीयबासीले माछापालन, कुखुरा , हास पालन र खसी बोकाहरुसमेत पालेर आयआर्जन गरिरहेका छन् ।