भारतले खोल्यो गण्डक बाँधका सबै ढोका

मेचीकाली संवाददाता

१८ श्रावण २०७९, बुधबार
275 shares

हरि शर्मा
परासी । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो ।

गण्डक बाँधको ढोकाको चाँबी सधैं भारतले राख्ने गरेको छ । देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र) मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन् । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।

प्रति सेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो । पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताए । ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ । अहिले २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए ।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।