गठबन्धनको सत्तास्वार्थले संकट निम्त्याउँदैछ: सूर्य थापा

आवधिक निर्वाचन टार्ने, संविधानका मूल्य मान्यता भत्काउन खोज्ने काम भइरहेको छ

मेचीकाली संवाददाता

१८ श्रावण २०७९, बुधबार
436 shares

भैरहवा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता सूर्य थापाले सत्ता स्वार्थको गठबन्धनका कारण मुलुकको राजनीति जटिल मोडमा पुग्न लागेको बताएका छन् । उनले वर्तमान सत्ता गठबन्धनले संविधानका मूल्य मान्यता र मर्मलाई उल्लंघन गर्दै एकपछि अर्को गल्ती गर्दै अगाडि बढेको उल्लेख गरे ।

लुम्बिनी प्रेस क्लबले भैरहवामा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले गठबन्धनले संविधान, कानुन, अभ्यास र नजिरका आधारमा नभई अन्त कतैको तजबिजमा र आदेशमा अगाडि बढेको दाबी गरे । गठबन्धनको चक्कर र सत्ता स्वार्थले मुलुकको राजनीति जटिल बन्दै गएको छ र स्थायित्वको चाहना राख्ने जनतामा निराशा छाएको नेता थापाको भनाइ थियो ।
नेता थापाले स्वार्थको रोटी सेक्नको लागि मात्र गठबन्धन भएको र सबै पार्टी मिलेर एमालेलाई घेराबन्दी गर्ने काम भएको बताए । एमाले गठबन्धन गर्नुहुँदैन भन्ने मान्यता राख्ने पार्टी भएको नेता थापाको भनाइ थियो । उनले भने, ‘देशलाई गठबन्धनको चक्रबाट मुक्त गर्नुपर्छ ।’

नेपालको संघीयता सम्झौताको हो, जनताले विकल्प खोज्न सक्छन
मुलुकको संविधान नै राजनीतिक सम्झौताको भएको नेता थापाको टिप्पणी छ । उनले कतिले जातीय नामका, कतिले दुई दर्जन संख्याका प्रदेश बनाउने तयारीमा लागेका बेलामा मुलुकमा सम्झौताको संविधान र सम्झौताकै संघीयता लागु गरिएको उल्लेख गरे । संविधानको मर्म र मान्यता विपरित हतारिएर निर्वाचन अघि नै प्रदेश खारेजी गर्ने एजेण्डा एमालेले नबोक्ने उनले स्पष्ट पारे ।
‘खर्चिलो संघीयतालाई मितव्ययी बनाउन सकिन्छ, सुधार्न सकिन्छ, अरु देशको जस्तो जस्ताको तस्तै संघीयता लागु हाम्रोमा हुन सक्तैन’ नेता थापाले भने–‘नेपालको आफ्नै मौलिकताको संघीयताको मोडल बन्न सक्छ, यसलाई सुधारेर अगाडि बढाउन सकिन्छ ।’ संघीयतालाई सफलतापूर्वक अगाडि बढाउन नसके जनताले नै त्यसको विकल्प खोज्छन्, अनावश्यक ठानेमा त्यसलाई फाल्न पनि सक्ने उनको भनाइ थियो ।

जनताले अस्थिरतालाई रुचाउँदैनन्
दशकौंदेखिको पहल र प्रयासबाट मुलुकमा राजनीतिक स्थायीत्व कायम हुन थालेका बेलामा परमादेश, गठबन्धन र अनेक स्वार्थका कारण फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको नेता थापाको भनाइ थियो । जनताले अस्थिरता नरुचाउने भएकाले एमालेलाई जनताले बहुमत दिन्छन् भन्ने विश्वास रहेको उनको भनाइ थियो ।

गठबन्धनले आवधिक निर्वाचन टार्न खोज्दैछ
निर्वाचनको मिति तोक्न निकै बहानाबाजी र चलखेल गरेर गठबन्धनले आवधिक निर्वाचन नै टार्न खोजिरहेको संकेत दिइरहेको नेता थापाको आरोप छ । अनेक खालका बहानाबाजी गर्नु र अनावश्यक चलखेल गर्नु त्यसैको संकेत रहेको उनको भनाइ थियो । संविधान, कानुन, अभ्यास र नजिरका आधारमा जनतालाई सहज हुने हिसाबले तत्काल निर्वाचनको मिति तोक्नुपर्ने नेता थापाको भनाइ थियो । निर्वाचनजस्तो चिज सत्ताधारी, गठबन्धन र प्रमुख प्रतिपक्षी दलको मात्र नभइ यो जनता र मतदाताको विषय भएको उनको भनाइ थियो । बिनाविवाद मुलुकलाई निर्वाचनको तयारीमा लैजानुपर्नेमा उनले जोड दिए ।

नेता थापाले भने, ‘अहिले सकेसम्म सत्ता लम्ब्याउने, मंसिरमा निर्वाचन हुँदा के हो, के हो भन्ने हालत भएपछि फागुनसम्म गरिहाल्न सकिन्छ कि भन्ने ढंगले भित्री चलखेल भइरहेका छन्, ती प्रकट भइसकेका छैनन् ।’ मंसिरबाट सार्ने भनेपछि नेपालको भौगोलिक अवस्थाले हिमाली भेगमा फागुन १५ भन्दा अगाडि निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । त्यो भनेको निर्वाचन सार्ने, अलि पर धकेल्ने र अन्ततः वैशाखमा पु¥याउने चलखल हुनसक्ने नेता थापाले बताए । मंसिरमा निर्वाचन गनुपर्ने पाँच वर्षको आवधिक निर्वाचनको बाध्यात्मक अवस्था भएकाले यसलाई कार्यान्वयन गर्ने क्रममा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मुखमा नागरिकता विधेयक
संविधानको व्यवस्थालाई कानुनी स्वरुप दिन केही वर्ष अघि ल्याइएको विधेयकलाई अडुकाएर र फिर्ता गरेर अहिले गठबन्धनले चुनाबको मुखमा फरक प्रावधानसमेत राखेर विधेयक ल्याएको नेता थापाको दाबी छ । नागरिकका लागि नागरिकता जस्तो आधारभूत अधिकारको विषयलाई गठबन्धनले अनावश्यक राजनीतिकरण गर्न खोजेको र चुनाबी दाउपेचको विषय बनाएको उनको भनाइ थियो ।
‘नागरिकता विधेयक ठीक हो बेठीक, यो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेपछि म त्यसको बहसमा जान्न र यो यसको प्रक्रियाका सन्दर्भमा समितिले लामो छलफल गरेर टुंग्याएको विषयलाई वेवास्ता तथा उपेक्षा गरेर केही भएको छैन जस्तो गरी त्यसलाई फिर्ता गरेर नयाँ विधेयक दर्ता गरी पारित गरिएको छ र यो प्रचण्डको दिल्ली भ्रमण लगत्तै भएको छ ।’

हिजो आफैले हलो अड्काएको विषयलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्ली भ्रमणबाट आइपछि सौदाबाजी गरेको र अन्त कतैको आदेश तामेली गरेको उनले आरोप लगाए । ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वशंज नागरिकता दिनुपर्छ भन्नेमा हाम्रो कुनै विवाद छैन्, उनले भने, ‘नेपालका नागरिकले नागरिकता पाउनुपर्छ, गैरनागरिकले नागरिकता पाउनुहुँदैन ।’ उनले नागरिकतालाई राजनीतिको विषय बनाउन नहुने बताए । उक्त कार्यक्रम लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा शंकर पाण्डेको सहजिकरणमा भएको थियो ।