कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनः सञ्चालन

मेचीकाली संवाददाता

२३ श्रावण २०७९, सोमबार
937 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पुनः सञ्चालन तथा उद्घाटन भएको छ । रकम अपचलनका कारण बिगत २ बर्ष ७ महिना देखि अदालतमा चलेको मुद्दाको कारण बन्द भएर अन्यौलमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आज एक कार्यक्रमको आयोजना गरी पुन संचालनमा ल्याईएको छ । उक्त सहकारी संस्था लिमिटेडको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।

सहकारी संचालनका लागि उद्घाटन गर्दै प्रमुख अतिथी मेयर पौडेलले ओरालो लाग्न थालेको सहकारी संस्थालाई हामी अगाडी बढाउँछौ र यहाँका बचत कर्ताहरुलाई न्याय दिन्छौ भनेर गठन भएको समितीलाई बधाई तथा शुभकामना दिनु भयो । यस बचत तथा ऋण सहकारी संस्थामा नगरपालिका भित्रका साना साना व्यवसायीहरु , अटो व्यवसायीहरु , पान पसलेहरु लगाएतका व्यक्तीहरुले आफ्नो घर अगाडीको बैंक संझेर पुन बचत गर्न आग्रह गर्नु भयो ।

आफ्ना छोराछोरीहरुका लागि पढाई लेखाई र बिवाह ब्रतबन्धकालागि वा बिरामी पर्दाकालागि सहज हुन्छ भनेर नै अधिकांश व्यक्तीले बचत गर्नेबानीलाई निरन्तरताको समयमा यहाँका केही व्यक्तीहरुले यस सहकारीको चारैतर्फ बदनामी गराए पनि अब यसलाई अगाडी बढाउन सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । साथै यसै नगरपालिका भित्रको सहकारी हो बचतकर्ताहरुको समस्याहरुलाई बुझेर समस्या समाधान गर्न के सहयोग गर्नुपर्छ नगरपालिकाबाट पुर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

अदालतको आदेशपछि विशेष साधारण सभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको थियो । दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताउनु भयो । उहाँले पहिलो चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने र बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने बताउनु भयो ।

आठ हजार २ सय बचतकर्ताको झण्डै १९ करोड बचत र १० करोड बढी ऋण प्रवाह भएको अध्यक्ष अर्यालले बताउनु भयो । प्रारम्भिक अनुसन्धानका आधारमा ११ सहकारीमा ११ करोड ९९ लाख रकम अपचलन भएको छ । सहकारीको विभिन्न १७ वटा बैंकमा ५१ लाख रकम रहेको छन् भने चार वटा खाता बाहेकका अन्य बैकमा रहेको खाताहरु बन्द गर्ने निर्णय गरिएको अर्यालले बताउनु भयो ।

यस्तै अदालतले सो मुद्दाको फैसलामा १५ बुँदे निणर्य निर्देशिका जारी गरी विशेष साधारणसभा गरी सहकारी पुनः सञ्चालन गर्न आदेश दिएको थियो । सहकारीको कागजात र विवरणमा ५ सय १४ जना ऋणीहरुसँग १० करोड हाराहारी सावा र ब्याज रकम असुली गर्न बाँकी रहेको देखिएको छ ।

ऋणको सावा र ब्याज असुली कार्यसँगै भदौ १ गतेबाट सबै बचतकर्ताको खाता प्रमाणीकरण कार्य सुरु गर्ने समितीको योजना छ । बचतकर्ताको बचतको सावा ब्याज रकम भुक्तानी गर्नका लागि अदालतको निणर्य निर्देशन अनुसार नीति निर्माणका लागि ३ सदस्यीय समिति गठन गरिएको छ ।

साउन २ गतेको बैठकको निणर्य अनुसार २१ दिनभित्र निती निर्माण गर्नका लागि लेखा समितीका संयोजक रबिन्द्र नाथ ठाकुरको संयोजकत्वमा कपिलवस्तु नगरपालिकाका सहकारी शाखाका कर्मचारी नारायण रेग्मी र सहकारीका सदस्य रामेन्द्र सिंह रावल सदस्य रहेको समिति गठन भएको सहकारीले जनाएको छ ।

सहकारी अध्यक्ष राजु प्रसाद अर्यालको अध्यक्षतामा वडा अध्यक्षहरु , बैंकका प्रमुखहरु र संचारकर्मीहरु लगाएतको सहभागितामा सम्पन्न कार्यक्रममा सहकारीका सचिव सन्तोस कुमार श्रीवास्तवको स्वागत तथा निमित्त व्यवस्थापक चन्द्र कुमार तिवारीको संचालन रहेको थियो ।