कपिलवस्तुमा एक वर्षमा ६ हजार बढीले लिए राहदानी

मेचीकाली संवाददाता

२३ श्रावण २०७९, सोमबार
458 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ६ हजार ६७७ जनाको राहदानी वितरण गरेको छ । यस्तै दु्रत राहदानीका लागि २ हजार ८७० जनालाई सिफारिस दिइएको छ । राष्ट्रिय परिचयपत्रका कारण जिल्लामा नागरिकता बनाउनेको एकदमै भीड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ३२ हजार ८०४ जनाले नागकिरता बनाएका छन । जसमध्ये २९ हजार ३९० जनाले बंशजको नागरिकताको प्रमाण पत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
यस्तै वैवाहिक अंगीकृत ३ हजार ४ सय जनाले र अंगीकृत १४ जनाले नागरिकता बनाएका छन् । यसैगरी प्रतिलिपि नागरिकताको प्रमाण पत्र १० हजार ६ सय १२ जनाले बनाएका छन् भने नाबालिक परिचयपत्र १६५ बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नागरिकता दैनिक १ सयभन्दा बढी सम्म बन्ने गरेको छ ।

सेवाग्राहीको चापका कारण नागरिकतामा लाइन र राहदानीका लागि अनलाइन टोकन लिई पालो कुर्नुपर्ने व्यवस्था गरिएको छ । नागरिकता जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बाणगंगा र चन्द्रौटाबाट बितरण भैरहेको छ । राहदानी भने जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिँदै हाएको छ ।
सेवाग्राहीलाई छिटोछरिटो र प्रभावकारी सेवा दिने सोच भए पनि कर्मचारीको अभाव र सेवाग्राहीको चापले गर्दा गाह्रो परेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । उनले सकेसम्म छिटोछरिटो सेवा दिन सबै फाँटका प्रमुखलाई निर्देशन दिएको बताए ।
सेवा लिन आएका सेवाग्राहीहरुमध्ये ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिरामीलगायतका सेवाग्राहीहरुलाई लाईनमा बस्न नपर्ने प्रजिअ मिश्रले बताए । नागरिकतासम्बन्धी विधेयक पास भए पछि अब प्रशासन कार्यालयमा नागरिकताका लागि झनै भिड हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै संस्था दर्ता नवीकरण, हात हतियार नवीकरण, मधेशी, दलित÷जनजाती, मुश्लिम प्रमाणित सिफारिस तथा जिल्ला स्तरमा समन्वय र सहजीकरणसम्बन्धी कार्यको माध्यमद्वारा कपिलवस्तु जिल्ला प्रशासन कार्य सम्पादन मूल्यांकनमा ९० अंकभन्दा बढी अंक प्राप्त गरी कार्यालयको सेवा प्रवाह समन्वयमा उत्कृष्ट जिल्लाको रुपमा रहन सफल भएको प्रशासन शाखामा कार्यरत नायव सुब्बा सिता बञ्जाडेले बताइन् ।

यसैगरी राष्ट्रिय परिचय पत्र जिल्लाको ३ वटा स्थानियतहहरु बाणगंगा, बुद्धभूमि नगरपालिका र बिजयनगर गाउँपालिकामा सम्पन्न भैइसकेको र शिवराज नगरपालिकामा सञ्चालन भैरहेको राष्ट्रिय परिचय पत्रका सुपरभाइजइर मुकेशकुमार साहले बताए । बाणगंगा नगरपालिकामा ०७४ को मतदाता संख्या ५३ हजार ४ सय ६२ को आधारमा ५१ हजार ५ सय ८२ जनाले राष्ट्रिय परिचय पत्र बनाए जसको ९६. ४८ प्रतिशत रहेको छ । यस्तै बिजयनगर गाउँपालिकामा १८ हजार ५ सय ५३ मत संख्या रहेकोमा जसमध्ये २० हजार १ सय ९ जनाले राष्ट्रिय परिचपत्र बनाए जसमा १ सय ८ दशमलव ३ प्रतिशतले बनाएको सुपरभाईजर साहले बताए ।

यसैगरी बुद्धभूमि नगरपालिकामा ०७९ को तथ्यांकअनुसार ४५ हजार ३ सय ४१ मतदाता संख्यामा जसमध्ये ३१ हजार ७ सय ६८ जनाले परिचय पत्र बनाएका छन्, प्रतिशतमा ७० दशमलव ०६ प्रतिशतले बनाएको परिचयपत्र बनाए ।
यस्तै शिवराज नगरपालिकामा ०७४ को तथ्यांकअनुसार ३६ हजार ७ सय ९७ मध्ये २१ हजार ६ सय ९४ जनाको प्रतिशतमा हेर्दा ५७ दशमलव ४ प्रतिशत नागरिकले राष्ट्रिय परिचयपत्र बनाएका छन् । दैनिक २ सय भन्दा बढीको राष्ट्रिय परिचयपत्र बनिरहेको छ सोभन्दा बढी भएमा दोस्रो दिनका लागि टोकन दिएर पठाउने गरिएको छ । यसपश्चात शुद्धोधन गाउँपालिकामा सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।