बुटवलको होटलमा पुरुष र महिला मृत फेला

महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुन सक्ने अनुमान

मेचीकाली संवाददाता

३१ श्रावण २०७९, मंगलवार
329 shares
सांकेतिक तस्विर

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा दुईजना मृत फेला परेका छन्। बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको होटल कारीकोटको कोठामा एकजना पुरुष र एकजना महिला मृत अवस्थामा फेला परेका हुन्।

धादिङको कुमपुरका अन्दाजी ३५ वर्षीय सिताराम भुजेल र ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीय पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । उनिहरु दुबैजना विवाहित भएको खुलेको छ ।
‘युवतीको घर दाङ भनिएपनि पुष्टि हुन बाँकी छ । श्रीमान विदेशमा रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ ।’ प्रहरी निरीक्षक घिमिरेले भने ।

तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरी भुजेल आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक घिमिरेले बताए । युवती पलङमा उत्तानो परेको र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनिहरु आइतबार राति त्यस होटलमा बास बसेका थिए । शव पोष्टमार्टमका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।