आउने चुनावमा शासक होइन सेवक चुन्ने हो

मेचीकाली संवाददाता

१ भाद्र २०७९, बुधबार
473 shares

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विचार, नीति, सिद्दान्त र कार्यक्रम लिएर जनतामा जाने हो । जनताले तिनै कार्यक्रम हेरेर, विगतमा अवसर पाउँदा भएगरेका कामको सूचि हेरेर र भोगेर अभिमत प्रकट गर्न सक्छन् । घोषणापत्र मार्फत राष्ट्रिय हित तथा जनताका सुख सुविधाका प्रतिबद्धता खोज्छन् । अहिले स्वतन्त्रका नाममा एउटा समूहले अरुलाई गाली गर्ने, अविश्वसनिय प्रतिवद्धता गर्ने र सस्तो लोकप्रियता देखाउने काम पनि भइरहेको छ । अधिकारका कुरा मात्रै गर्ने तर, नागरिकका कर्तव्यका बारेमा बोल्दैन यस्तो समूह । संवैधानिक सीमा, परिधि र प्रावधानमा रहेर राजनीतिक दलमा आबद्ध हुने, संगठित हुने र संगठन विस्तार गर्न पाइन्छ । तर, अरुका विरुद्ध विषवमन गर्ने छुट कसैलाई छैन । समाजमा द्वेष पैदा गर्न पाइँदैन ।

हो, कतिपय राजनीतिक दलमा विगतमा केही शैलीगत कमीकमजोरी भएका छन् । कतिले हिंसात्मक द्वन्द्व निम्त्याए, कतिले त्यहीँ द्वन्द्व समाधान र व्यवस्थापन गर्ने नाममा ढंग पुराएनन् । कतिले एक आपसमा खुट्टा तान्दा अस्थिरता निम्त्याए, कतिले आफ्नै पार्टीको सरकार ढाल्न अपराधपूर्ण बेइमानी गरे । यिनै कारणहरूले दलहरूप्रति वितृष्णा बढेको हो । यसो भन्नु सबै दल र सबै नेता खराब छन् भन्ने होइन । दलीय व्यवस्थालाई नै लल्कार्ने गरी सबैलाई गाली गर्न पाइँदैन । अरुलाई गाली गरेर आफु राम्रो बनिँदैन ।

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा दलको भूमिका महत्वपूर्ण हुन्छ भन्ने यथार्थलाई आत्मसात गर्नुपर्छ । दलका दृष्टिकोण र विचारको भिन्नताकै कारण दलहरू फरक फरक हुन्छन् । तिनै दलले हिजो परिवर्तनका खातिर निभाएको ऐतिहासिक भूमिकाको अवमूल्यन गर्न मिल्दैन । बरु जनताका पक्षमा, मुलुकका पक्षमा राम्रो गर्नका लागि दबाब दिऔं । हिजोका प्रतिबद्धताको कार्यान्वयन बारे खोजौं÷सोधौं । जवाफदेहिता लिएका राजनीतिक दलले आफ्ना जनप्रतिनिधिहरूका लागि अनुशासन र आचारसंहिता बनाएर लागू गरेका छन् भन्ने कुरालाई हेक्का राखौं ।
नागरिकले दल र नेता रोज्दा पनि उसले लिएको नीति, विचार र विगतमा अवसर पाउँदा उसले निर्वाह गरेको भूमिका हेर्नुपर्दछ । अब आउने चुनावमा कुनै पनि झुटा प्रचारबाजी, गालीगलौज र अन्य झिना–मसिना विषयमा अल्झेर असल पार्टी र असल जनप्रतिनिधिलाई रोज्ने अवसर गुमाउनु हुँदैन । राजनीतिक स्थायीत्व, समृद्धि, खुसहाली र देश विकासको खाका लिएर असल दल र असल नेतालाई चुन्ने ऐतिहासिक अवसरलाई कुनै चकलेटीका हौवा कुराका पछि लागेर गुमाउने होइन । चुनावमा सेवक चुन्ने हो शासक होइन भनेर आजैदेखि चिन्तन मनन गरौं ।