मानवसेवा आश्रम रुपन्देही शाखाद्धारा आफ्नै भवनबाट सेवा सुरु

मेचीकाली संवाददाता

१ भाद्र २०७९, बुधबार
223 shares

बुटवल । मानवसेवा आश्रम रुपन्देही शाखाले तिलोत्तमा नगरपालिका ६ स्थित आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखी तिलोत्तमा ६ स्थित मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरु गरेको हो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक उद्घाटन गरेका छन् । बुटवल ८ मा नै भाडामा रहेको पुरानो लाइसन्स भवनबाट प्रवाह गरिरहेको केन्द्रलाई भने आश्रमले निरन्तरता दिने जनाएको छ । उक्त भवनबाट पुरुष र बालकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तिलोत्तमा स्थित नवनिर्मित भवनबाट महिला र बालिकाहरुलाई सेवा प्रदान गर्ने आश्रमले जनाएको छ । कार्यक्रम मानवसेवा आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता तथा प्रदेश प्रमुख शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यस्तै कार्यक्रममा आश्रमका संरक्षक गोविन्द टण्डन, लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्ति, आन्तरिक मामिला, कानुन तथा संचार मन्त्री तिलकराम शर्मा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरी देवि चौधरी, लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सचि नेत्र सुवेदी, तिलोत्तमा ६ का अध्यक्ष गणेश पाठक, बुटवल ८ का अध्यक्ष नरिसर पौडेल, मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमनी प्रसाद पाठक, उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु लगायत विभिन्न परोपकारी एवं मानवताप्रेमीहरुको उपस्थिति रहेको थियो ।

वि.स २०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको स्वीकृति लिई मानवसेवा आश्रमको रुपन्देही शाखा दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो । त्यस यता शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको सेवा गर्दै आइरहेको छ ।

रुपन्देही शाखाको संरक्षणमा ७८ जना पुरुष र ६६ जना महिला गरि १४४ जना विभिन्न उमेर समूहका व्यक्तिहरु आश्रित रहेको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिइन् । यहाँबाट अहिलेसम्म ५८७ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको उनले बताइन् । मानवसेवा आश्रमको पहलमा बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देशकै पहिलो उपमहानगरपालिका घोषणा गरिसकेको छ ।