पाल्पा नुवाकोटको भैरवनाथ मन्दिरमा त्रिशुल बनाउने बश्यालको घोषणा

मेचीकाली संवाददाता

४ भाद्र २०७९, शनिबार
289 shares

बुटवल । सामाजिक अभियान्ता तथा सफल व्यवसायी होमराज बश्यालले पाल्पाको नुवाकोटमा रहेको भैरवनाथ मन्दिरमा नयाँ त्रिशुल बनाउने घोषणा गरेका छन् ।

तिनाउ गाउँपालिका–३ नुवाकोट स्थित भैरव मन्दिर परिसरमा शुक्रबार एक कार्यक्रमका बीच बश्यालले नयाँ त्रिशुल बनाउने घोषणा गरेका हुन् । नयाँ बन्ने त्रिशुल पाल्पाको रिब्दीकोट गाउपालिका–४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको जस्तै बन्नेछ । ‘पाल्पा भैरवस्थानको त्रिशुल नेपालको सवैभन्दा ठूलो भनिएको छ त्यसैले नुवाकोटमा बन्ने त्रिशुल पनि त्यही बराबरको बन्ने छ ।’ बश्यालले भने ।
पित्तलबाट बन्ने यो त्रिशुलको लागत प्राविधिकहरुले अनुसन्धान र डिजाइन गरेपछि मात्रै जानकारी हुने उनले बताए । बुटवलबाट पाल्पाको नुवाकोट जोड्नेगरी सिद्धार्थ केवलकार प्रालिले केबलकार निर्माणको काम पनि गरिरहेको छ ।

पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरव मन्दिरमा निर्माण हुने त्रिशुलले पर्यटकीय गतिविधी बढाउने विस्वास व्यक्त गरे । नयाँ त्रिशुल बनाउने घोषणा गरेकोमा बश्याललाई धन्यवाद दिँदै उनले सामाजिक काममा जुट्न सबैलाई आग्रह गरे । बुटवलबाट नुवाकोट जोड्नेगरी केबलकारको निर्माणको काम भइरहेकोले यसले पूर्वाधार विकासमा मात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

विकास निर्माणले फड्को मारिरहेको रुपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गर्दै उनले जिल्लाले विकासको रोल मोडलको भूमिका खेलेको बताए । केवलकार निर्माण र सञ्चालन पछि भौतिक पूर्वाधारको विकास सँगसँगै आर्थिक गतिविधि पनि बढ्ने उनले बताए ।