किशोरी अधिकार मञ्चको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

५ भाद्र २०७९, आईतवार
271 shares

पार्वती आचार्य
कपिलवस्तु । न्यायपुर्ण र बिभेद रहित समाज’ भन्ने मूलनाराका साथ किशोरी अधिकार मञ्चको तेस्रो साधारण सभा सम्पन भएको छ । किशोरी अधिकार मञ्चका जिल्ला अध्यक्ष अर्चिता शुक्लाको अध्यक्षतामा कपिलवस्तु नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी बिकास राज्य मन्त्री रिना नेपालले किशोरी अधिकार मञ्चको तेस्रो साधारण सभालाई संबोधन गर्दै किशोरीहरुका लागि आफ्नो व्यक्तीगत तर्फबाट र मन्त्रालयको तर्फबाट पूर्ण साथ सहयोग हुने प्रतिबद्धता जनाउनु भयो ।

अन्धो समाजलाई चिर्न शिक्षाको महत्व भएको बताउँदै समाज परिवर्तन गर्न किशोरीहरुले अनेकौ खुड्किलाहरु पार गर्नुपर्ने बताउनु भयो । छोरा बराबर छोरीको पनि उत्तिकै हक अधिकार भएको हुँदा किशोरीहरुले आफ्नो हक अधिकारका लागि आत्मनिर्भरता बढाउनु पर्नेमा जोडदिनु भयो ।

यस्तै स्थानिय सरकारले बालबालिका , किशोरी , महिलाहरु र जेष्ठ नागरिकहरुकालागि सामाजिक समावेसी निती बनाएर कार्यहरु गर्नुपर्ने बताउँदै समाजमा हुने बालबिवाह , दाईजो प्रथा , बहुबिवाह , आत्महत्या लगाएत बिभिन्न हिंसाहरु बढ्दै गएको हुँदा यस बिषयमा राज्य , नागरिक समाज , बिभिन्न संघसंस्था , मानव अधिकारकर्मी , पत्रकार लगाएतले पहल कदमी गर्न आवश्यक रहेकोे बताउनु भयो । किशोरीहरुलाई सुरक्षित तथा आत्मनिर्भर बनाउनकालागि जिवन उपयोगिसिपलाई अगाडी बढाई क्षमतावान बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

जिल्ला समन्वय समितीका उप प्रमुख रमेश कुर्मीले पछिल्लो समयमा बिभिन्न हिंसात्मक घटनाहरु बढ्दै आएको हुँदा किशोरीहरु सक्षम हुनुपर्ने बताउनु भयो । किशोरीहरुको क्षमतालाई बृद्धि गर्न शिक्षाको आवश्यकता पर्ने भएको हुँदा शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै समन्वय समितीबाट हुने सहयोगमा आफू प्रतिवद्ध रहेको जनाउनु भयो ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले अधिकार कसैले उपहारको रुपमा नदिने भएको हुँदा किशोरीहरुले शिक्षालाई अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले बिद्यालय छाड्ने किशोरीहरुका लागि र बालविवाह न्यूनिकरण गर्नका लागि शुद्धोधन गाउँपालिकाले कक्षा ९ देखि कक्षा १२ सम्मका किशोरीहरुलाई साईकल बितरण गर्ने कार्यक्रम राखिएको बताउनु भयो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बिभिन्न प्रकारका हिंसात्मक घटनाहरु बढ्दै गएको हुँदा यस बिषयमा स्थानिय सरकारले किशोरीहरुकालागि सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । यसलाई न्यूनिकरण गर्न वडाले समेत प्याकेज कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

माहुरीहोमका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरले किशोरीहरुको साधारण सभालाई संवोधन गर्दे शिक्षा लाई पहिलो प्राथमिकता दिन आग्रह गर्नु भयो । किशोरीहरुका लागि माहुरीहोम सदैब साथमा रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

यस्तै महिला अधिकारकर्मी प्रेमलता भट्टले किशोरीहरुले आफ्नो अधिकार लिन पछि नहट्न आग्रह गर्नुभयो । साथै पछिल्लो समयमा मुवाईलले धेरै बालबालिका , किशोर किशोरीमा नकारात्मक असर पारेको भन्दै सचेत हुन अनुरोध गर्नुभयो । सदैव किशोरीहरुको साथमा आफू रहेको र कुनै समस्या आएमा किशोरीहरुको साथमा रहेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा मानव अधिकार निगरानी समूहका जिल्ला संयोजक तथा महिला मानव अधिकार रक्षक संजालका पुर्व अध्यक्ष पुष्पा रेग्मीले किशोरीहरुले शिक्षालाई अगाडी बढाउनुका साथै अनुशासित हुनुपर्ने बताउनु भयो । समाजमा हुने बिभिन्न हिंसात्मक घटनाहरुलाई न्यूनिकरण गर्न किशोर किशोरीहरुको अहम भूमिका रहने बताउँदै बिभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरी कार्ययोजना सहित अगाडी बढ्न आग्रह गर्नुभयो ।

यसैगरी संचारिका समूहका जिल्ला अध्यक्ष पार्वती आचार्यले किशोरीहरु शिक्षित र सक्षम भए समाजमा हुने बिभिन्न हिंसाहरुमा कमी आउने बताउनु भयो । किशोरीहरुकालागि जिवनउपयोगी शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै संचारीका समूह सदैव किशोरीहरुको साथसपोर्टमा रहने प्रतिवद्धता जनाउनु भयो । ओरेक नेपालका सहायक कार्यक्रम अधिकृत संगिता चौरासियाले किशोरीहरुमा धेरै परवर्तन आएको बताउँदै किशोरीहरुलाई अगाडी बढाउन ओरेक नेपालको पूर्ण सहयोग रहेको जानकारी दिनुभयो ।

यस्तै सिद्धार्थ सामाजिक बिकास केन्द्रका करण बरुणले भौतिक संरचना मात्र होईन समाज परिवर्तन गर्न जरुरी देखिएको बताउनु भयो । किशोरी अधिकार मञ्चका गुञ्जा थारुले किशोरीहरुको हकहितको सवालमा सरोकारवालाहरुको ध्यानाकर्षण हुन आवश्यक भएको बताउनु भयो ।

साधारण सभामा मञ्चका सचिव बिनु चौधरीले प्रगती बिवरण र कोषाध्यक्ष निलम हरिजनले आयव्यय प्रस्तुत गर्नु भएको थियो । किशोरीहरुले कविता वाचन र नृत्य प्रस्तुत गरी मनोरञ्जन गरेका थिए ।

किशोरी अधिकार मञ्चका अध्यक्ष अर्चिता शुक्लाको अध्यक्षतामा मञ्चका उपाध्यक्ष सुमित्रा मौर्यको स्वागत तथा सचिव बिनु चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा महाराजगंज नगरपालिकाका उप प्रमुख संगिता कुर्मी , वडा अध्यक्षहरु , कपिलवस्तु नगरपालिका सामाजिक बिकास शाखाका पदमराज श्रेष्ठ , नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य , बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु , अधिकारकर्मीहरु र किशोरी अधिकार मञ्चका पदाधीकारीहरु लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।